ad ad

समाज


भक्तपुर अस्पतालमा पहिलोपटक दूरबिन प्रविधिबाट सफल शल्यक्रिया

भक्तपुर अस्पतालमा पहिलोपटक दूरबिन प्रविधिबाट सफल शल्यक्रिया

नेपालखबर
असोज २९, २०७७ बिहिबार ४:१२,

देशकै दोस्रो जेठो अस्पतालका रूपमा रहेको भक्तपुर अस्पतालमा दूरबिन अर्थात् ल्याप्रोस्कोपी प्रविधिबाट शल्यक्रिया सेवा शुरु भएको छ।

वीर अस्पतालपछि स्थापना भएको भक्तपुर अस्पतालमा पहिलोपटक बुधबार स्थानीय एक पुरुषको दूरबिन प्रविधिबाट पित्तथैलीको शल्यक्रिया सफलतापूर्वक गरिएको अस्पतालका सुपरिटेण्डेन्ट डा.सुमित्रा गौतमले जानकारी दिइन्।

राणा प्रधानमन्त्री चन्द्रशम्शेरले विसं १९६१ असार १७ गते १५ शैय्याको ‘चन्द्रलोक डिस्पेन्सरी’ को नाममा भक्तपुर अस्पतालको स्थापना गरेका हुन्।

वाग्मती प्रदेश अन्तर्गतको सामाजिक विकास मन्त्रालयले अस्पताल गुणस्तर सुधार कार्यक्रमअन्तर्गत एक करोड ३५ लाख रुपैयाँ बजेट उपलव्ध गराएपछि दूरबिन प्रविधिबाट शल्यक्रिया शुरु गरिएको गौतमले बताइन्।

भक्तपुर अस्पतालले कोभिड–१९ को महामारीमा पनि नियमित सबै सेवा सञ्चालन गरिरहेको छ।

सर्जन डा रञ्जिस पहाडीको नेतृत्वमा डा. मनिष मल्लिक, डा.विनय चौधरी, एनेस्थेसियन डा. निर्मल श्रेष्ठ, डा. दीपक भण्डारी, नर्सिङ टिमका सुमित्रा त्यात, हरि कोजू, मित्रमाया तामाङसहित टोली शल्यक्रियामा सहभागी थिए।

निजी अस्पतालले ६० हजारदेखि एक लाखसम्म शुल्क लिदै आएको पित्तथैलीको शल्यक्रिया २० हजारमै गरिने भक्तपुर अस्पतालले जनाएको छ। पहिलो शल्यक्रिया स्वास्थ्य बीमामा आवद्ध बिरामीकोगरिएको हो। बिमितकै शल्यक्रिया भएकाले नौ हजार शुल्क मात्रै लागेको गौतमले बताइन्।

वीर अस्पताल र शिक्षण अस्पताल महाराजगञ्जमा लामो प्रतिक्षा (क्यूमा) मा रहेका बिरामी भक्तपुर अस्पतालमा आए सहज र सुलभरूपमै शल्यक्रिया गर्न सकिने भक्तपुर अस्पताल प्रशासनले जनाएको छ।

बिनाचिरफार उच्च गुणस्तरको लेन्सका माध्यमबाट सानो प्वालको भरमा गरिने शल्यक्रिया अब भक्तपुर अस्पतालमा पित्तथैलीदेखि स्त्री तथा प्रसूति रोगसम्ममा प्रभावकारी ढङ्गले गरिने गौतमले बताइन्।

चिरेर शल्यक्रिया गरेको बिरामी हप्तौँसम्म अस्पतालमै बस्नुपर्ने बाध्यता हुन्छ तर दुरबिन प्रविधिबाट गरिएको शल्यक्रियाको ४८ घण्टामै बिरामी घर जान सक्ने, कम पीडा र तुलनात्मकरूपमा सङ्क्रमणको जोखिम कम हुने हुँदा स्त्रीरोगदेखि पत्थरीसम्मको शल्यक्रिया यही प्रबिधिबाट बढी हुने गरेको छ।

ग्यास, प्रकाश र दूरबिन पठाउन पेटमा स–साना घाउ बनाई फाइबर अप्टिक इन्डोस्कोप (दूरबिन) को मद्दतले तल्लो पेटका भित्री अङ्गहरूको समस्या हेर्ने विधिलाई ल्याप्रोस्कोपी भनिन्छ । ग्यास, प्रकाश र दूरबिन पठाउन नाइटोनिर सानो प्वाल बनाइन्छ।

सरकारले कोरोना हब अस्पतालको रुपमा भक्तपुर अस्पतालाई तोकेपछि पाँच भेन्टिलेटरसहित छ शैय्याको आइसीयू र कोरोना सङ्क्रमित राख्ने १६ शैय्याको आइसोलेसन एवं १० शैय्याको कोरोनाका सामान्य बिरामी राख्ने आइसोलेसन तयार गरी सेवा सञ्चालन भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .