समाज


जसले पहिलो विज्ञान कलेज खोले, युरोपको हिमालमा विमान ठोक्किएर गए

जसले पहिलो विज्ञान कलेज खोले, युरोपको हिमालमा विमान ठोक्किएर गए

मणि दाहाल
असोज १, २०७७ बिहिबार १३:३२,

२०२२ माघ ११ गते। भारतको बम्बईबाट उडेको इन्डियन एयरको एउटा विमान लन्डन जाँदै थियो। कञ्चनजंघा नामको त्यो विमान लन्डन पुग्नुअघि दिल्ली, बेरुत (लेबनान) र जेनेभा (स्वीट्जरल्यान्ड)मा रोकिने तय थियो। तर, जेनेभा पुग्नुअघि नै सो बोइङ ७०७ विमान दुर्घटनामा पर्‍यो।

युरोपको दोस्रो अग्लो हिमाल मो ब्लँमा ठोक्किएपछि विमानमा सवार सबै १ सय १७ जनाको मृत्यु भयो। सो विमानमा भारतका प्रसिद्ध परमाणु वैज्ञानिक होमी जहाँगिर भाभा पनि सवार थिए। भाभा भारतको परमाणु कार्यक्रमका प्रमुख थिए। दुर्घटनाको ठिक १३ दिनअघि तत्कालीन भारतीय प्रधानमन्त्री लालबहादुर शास्त्रीको सोभियत संघ भ्रमणका क्रममा तासकन्दमा मृत्यु भएको थियो। कतिपयले प्रधानमन्त्री शास्त्री र वैज्ञानिक भाभाको मृत्युलाई सँगै जोडेर त्यो भारतको आणविक कार्यक्रम असफल पार्ने षड्यन्त्र थियो भन्ने दाबी पनि गरे। झण्डै ६ दशकअघिको यो दुर्घटना अझै पनि बेलाबखत चर्चामा आउने गरेको छ।

दुर्घटनाग्रस्त त्यो विमानमा सवार १ सय ६ जना यात्रुमध्ये एक नेपाली थिए। उनको नाम थियो– अमृतप्रसाद प्रधान।
***
प्रधान त्यस समय विज्ञान विषय मात्रै पढाउने भनेर खोलिएको पब्लिक साइन्स कलेजका प्रमुख थिए। उनको मृत्युपछि काठमाडौंको लैनचौरमा रहेको सो कलेजको नाम परिवर्तन गरेर अमृत साइन्स कलेज (अस्कल) राखियो।

प्रधान अमेरिका जाँदै गर्दा दुर्घटनामा परेको उनका भान्जा विमललाल श्रेष्ठ बताउँछन्।

‘मामा नेपाल र अमेरिकी संस्थाहरुबीच सहकार्य स्थापनासम्बन्धी कार्यक्रममा भाग लिन ६ महिना लामो भ्रमणमा अमेरिका जाने क्रममा हुनुहुन्थ्यो। दुर्घटना परेर बित्नु भयो,’ विमललाल श्रेष्ठले भने।

त्यसबेला विमल आफ्ना जेठा मामा प्रधानसँगै बस्थे। प्रधान अमेरिका जान इच्छुक नभएको विमल बताउँछन्। उनले परिवार र साथीहरुसँग पटकपटक आफूलाई जान मन नलागेको बताएका थिए।

‘उहाँलाई त्यो कार्यक्रममा जान मन थिएन। उहाँ जत्तिको सिनियर जानुपर्ने कार्यक्रम पनि थिएन,’ विमलले नेपालखबरसँग भने, ‘तर, प्रधानमन्त्री सूर्यबहादुर थापाले राजा महेन्द्र उपस्थित रहेको कार्यक्रममै सरकारले मामालाई अमेरिका पठाउन लागेको घोषणा गरिदिनु भयो। त्यसकारण नगई नहुने अवस्था सिर्जना भयो।’

भर्खरै आफ्नै भवनमा सरेको कलेजले उपत्यका बाहिरबाट आउने विद्यार्थीहरु राख्न भनेर होस्टेल बनाएको थियो, जसको उद्घाटन राजा महेन्द्रले गरेका थिए। त्यही कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री थापाले प्रधानलाई अमेरिका पठाउन लागेको जानकारी गराएका थिए।

‘त्यसअघिसम्म काठमाडौं तीनधारामा संस्कृत पढ्ने विद्यार्थीहरुका लागि मात्रै होस्टेलको व्यवस्था थियो। उपत्यका बाहिरबाट आएका विद्यार्थीलाई समस्या नहोस् भनेर त्यो खोलिएको थियो,’ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दिनेश भुजुले भने, ‘विज्ञान शिक्षाको एउटा उत्कृष्ट शैक्षिक केन्द्र बनाउने उदेश्यले सबै काम भएको थियो। त्यसमा एउटा समूह नै सक्रिय थियो। जसमा अमृत सर पनि हुनुहुन्थ्यो र त्यस समयमा कलेजको नेतृत्व गरिरहनु भएको थियो।’

at_the_gauharan_airport.jpg२०२२ माघ अमेरिका जाने क्रममा अमृतप्रसाद प्रधान विमानस्थलमा

२०१३ सालमा पब्लिक साइन्स कलेजको स्थापना भयो। सुरुमा त्रिचन्द्र कलेजकै भवनमा बिहानी सत्रमा त्यो कलेज सञ्चालन हुन्थ्यो। दिउँसो त्रिचन्द्र। अमृतका पिता अजरप्रसादले प्रधानहरुको भगवानवहाल गुठीमा रहेको करिब ८ रोपनी जग्गा किनेर कलेज बनाउन दिएका थिए।

‘हजुरबाले दिनु भएकै जग्गामा अहिले कलेजको भवन छ। त्यो स्थानमा पोखरी थियो र त्यहाँ पहिले नजिकै कसाइ टोलमा भैँसीहरु आहाल बस्न आउँथे,’ विमलले भने, ‘होस्टेल बसेको स्थानमा भने वन विभागको जग्गा थियो।’

भुजुका अनुसार वनको जग्गा कलेजमा ल्याउन पनि दरबारसँग अमृतको सम्बन्धले गर्दा नै सम्भव भएको थियो।

‘दरबारको यति नजिकै त्यत्रो जग्गा कलेजलाई दिनु ठूलो योगदान हो,’ भुजुले भने।
***
विमलका अनुसार प्रधानलाई राजदरवार प्रवेशमा कुनै रोकटोक थिएन।

‘वन विभागले भवन बनाउन लागेको थियो। मामा साइकल चढेर दरबार जानु भयो। राजाकै खोपीसम्मै पुग्नु भयो,’ विमलले भने, ‘फर्केर आउँदा लालपुर्जा मात्रै नभएर त्यहाँ रहेको काठ पनि प्रयोग गर्न पाउने गरी राजाबाट हुमुकप्रमांगी ल्याउनु भएको थियो।’

सरकारले दिएको १५ रोपनी जग्गामा होस्टल बन्यो। तर लामो समयसम्म वन विभागको सानो कार्यालय पनि त्यहीँ एउटा कुनामा रह्यो। अमृतले महिला विद्यार्थीका लागि छात्राबास पनि खोल्न चाहेका थिए। तर त्यो योजना पूरा भएन।

राजा महेन्द्रलाई कलेजको बारेमा चासो थियो।

‘नागार्जुन जाने क्रममा बन्दै गरेको कलेज भवन हेर्न आउनु भएको थियो,’ विमलले भने, ‘राजालाई आफ्नो नाममा कलेजको नाम राख्न मन थियो। यो कुरा मामालाई पनि भन्नु भएको थियो। तर, मामाले जनताको धेरै पैसा परेको छ। यसको नाम परिवर्तन नगरौँ भन्नु भयो। राजाले पनि केही भन्नुभएन।’

सो कलेज स्थापनामा त्यस समयमा शैक्षिक क्षेत्रका दिग्गजहरु जोडिएका थिए। यदुनाथ खनाल, भीमबहादुर पाण्डे, कुलरत्न तुलाधर, परासरनारायण सुवाल, अनङमान शेरचनसहितको सञ्चालक समिति थियो। त्यसको सदस्य सचिव प्रधान थिए।

वि.सं. १९७५ मा ठमेलमा जन्मिएका अमृतले १९९८ मा कलकत्ता विश्वविद्यालयबाट रसायनशास्त्रमा एमएस्सी गरेका थिए। वीरगञ्जको त्रिजुद्ध स्कुलको हेडमास्टर भएर २ वर्ष काम गरेपछि उनी काठमाडौंको त्रिचन्द्र कलेजमा पढाउन आएका थिए। चिकित्साशास्त्र र इन्जिनियरिङ पढ्न विज्ञान पढ्नु पर्ने थियो। तर, त्रिचन्द्र कलेजमा ७५ जनाले मात्रै विज्ञान पढ्न पाउँथे। त्यसले चाप थेग्न नसक्ने देखेपछि प्रधानसहितको टोलीले सार्वजनिक कलेज खोलेको थियो। जसले विज्ञान विषयमा आम विद्यार्थीको पहुँचलाई सहज बनायो।

२०१३ असोज १ मा सो कलेज स्थापना भएको थियो। त्यसैले सरकारले आठ वर्षअघि असोज १ लाई राष्ट्रिय विज्ञान दिवसका रुपमा मनाउने निर्णय गर्‍यो। त्यसैअनुसार ८ वर्षदेखि यो दिवस मनाइँदै आएको छ। जसले मृत्यु भएको ५५ वर्षपछि पनि अमृतप्रसाद प्रधानको स्मृतिलाई जीवित राखिरहेको छ।
***
सो विमान दुर्घटनाको विषयमा विश्वभर ठूलो चर्चा भयो। पहिले विदेश भ्रमणमा रहेका शास्त्री अनि लगत्तै आणविक कार्यक्रमका प्रमुखको मृत्यु भएपछि अनेकौँ अड्कलबाजी भए।

‘हामीलाई पनि मानिसहरुले त्यस समयमा अमेरिकाले दुर्घटना गराएको हो। अमेरिकाले फाइटर विमान लगेर प्लेनमा ठोकाएको भनेका थिए,’ विमलले त्यसबेलाको अवस्था सम्झिए। 

सन् १९६५ मा भारत–पाकिस्तान युद्धपछि दुवै देशबीच उज्वेकिस्तानको राजधानी तासकन्दमा सम्झौता भएको थियो। सम्झौतामा हस्ताक्षर भएकै भोलिपल्ट प्रधानमन्त्री शास्त्रीको हृदयघातका कारण मृत्यु भयो। शास्त्रीका श्रीमतीसहित धेरै मानिसले यो मृत्युको परिस्थितमा शंका व्यक्त गरेका छन्।

statue_inaguration_by_King_Mahendra.jpegप्रधानको सालिक अनावरण गर्दै राजा महेन्द्र

अर्कोतिर, भाभाको नेतृत्वमा भारत परमाणु बम बनाउने अवस्थामा पुगेको भारतीय दाबी छ। त्यसै वर्षको डिसेम्बरमा भाभाले अल इन्डिया रेडियोलाई दिएको अन्तर्वार्तामा सरकारले चाहेमा १८ महिनामै बम बनाउने सकिने जवाफ दिएका थिए।

त्यसैले अमेरिकी गुप्तचर निकाय सीआईएले भाभाको हत्या गर्न सो विमान दुर्घटना गराएको दाबी गर्नेहरु पनि छन्।

‘हामी अस्कलमा पढ्दै गर्दा उहाँको मृत्यु भएको थियो। पछि इन्जिनियरिङ पढ्न म रुस गएँ। नेपालमा मात्रै होइन रुसमा पनि एसियालाई विज्ञानको क्षेत्रमा अघि आउन नदिन सो विमान दुर्घटना गराएर भाभालाई मारेको भनेर चर्चा हुने गर्थ्यो,’ पूर्व विज्ञान तथा प्रविधिमन्त्री तथा नेकपाका स्थायी कमिटीका सदस्य गणेश साहले भने।

साठीको दशकमा अमेरिका र सोभियत संघबीच शीतयुद्ध चरममा थियो। एक अर्कोलाई प्रत्यक्ष रुपमा आक्रमण नगर्ने भएपनि उनीहरुको छद्म युद्धले विश्वभर सत्तापलट, हत्या र युद्ध हुने गरेका थिए। यसले पनि षड्यन्त्रका सिद्धान्तकारहरुलाई बल पुगेको देखिन्छ।

तर, फ्रान्सको उड्डयन नियोगले एक वर्ष लगाएर गरेको अनुसन्धानले विमानको दिशा निर्धारण गर्ने भीओआर यन्त्र बिग्रेपछि हिमालमा ठोकिन पुगेको जनाएको छ। पाइलटले मो ब्लँ कटिसकेको ठानेर विमान तल झार्दा ठक्कर खाएको अनुसन्धानको निष्कर्ष छ।
***
अमेरिका जाने क्रममा प्रधान चार दिनअघि नै सपत्नी दिल्ली गएका थिए।

‘त्यस समयमा भारतमा नेपालका राजदूत खनाल बाजे (यदुनाथ खनाल) हुनुहुन्थ्यो। दुवैबीच घनिष्ठ सम्बन्ध थियो। त्यसैले अमेरिका जानु चार दिनअघि नै माइजुसँगै जानु भएको थियो,’ विमलले नेपालखबरसँग भने, ‘विमान दुर्घटना भएको र त्यसमा मामाको निधन भएको पनि खनाल बाजेबाटै थाहा पायौं।’

राजदूत खनालले शव ल्याउने सम्भावना नभएको बताएपछि नेवारी परम्पराअनुसार प्रधानको चिनालाई शोभाभगवतीमा लगेर अन्त्येष्टि गरिएको थियो।

दुर्घटनाको समाचारपछि ठमेलस्थित प्रधानको घरमा मानिसको ओइरो लागेको थियो।

‘घरमा खुट्टा राख्ने ठाउँ थिएन, पाटी जस्तो बनेको थियो। को आयो, गयो केही थाहा भएन,’ विमलले त्यो दिन सम्झिँदै भने।

त्यस समयमा दरबारको समवेदना सन्देश लिएर अधिकारीहरु आएका थिए। राजा महेन्द्रले प्रधानलाई सम्मान गर्दथे। उनले २०२१ को जर्मनीको राजकीय भ्रमणको टोलीमा पनि प्रधानलाई समावेश गरेका थिए।

‘राजा महेन्द्रले नै कलेजको नाम उहाँको नाममा राख्न निर्देशन दिएका थिए,’ विमलले भने, ‘त्यस समयमा उहाँले पढाउनु भएको विद्यार्थी नै राजाका एडीसी थिए। ती एडीसीले मामाको मृत्युको खबर सुनेर राजा निकै स्तब्ध बनेको बताएका थिए।’

प्रधानको मृत्युको विषयमा दुर्घटनाको ३०–४० वर्षसम्म कसैले पनि बोल्न नचाहेको विमल बताउँछन्।

‘घरमा यस विषयमा कुरै हुँदैनथ्यो। बल्ल अलि खुलेर कुरा गर्न थालेका हौँ,’ उनले भने। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .