ad ad

समाज


चितवनका संक्रमितमध्ये आधालाई अस्पतालबाट कोरोना सर्‍याे : अध्ययन

चितवनका संक्रमितमध्ये आधालाई अस्पतालबाट कोरोना सर्‍याे : अध्ययन

नेपालखबर
भदौ ३०, २०७७ मंगलबार ३:५५,

चितवनमा कोरोना सङ्क्रमण अस्पतालबाट फैलिएको अध्ययनले देखाएको छ।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनले सङ्क्रमितमध्ये आधालाई अस्पतालबाटै कोरोना सरेको देखाएको हो।

केन्द्रका सदस्य एवं स्वास्थ्य कार्यालय (चितवन) का प्रमुख दीपक तिवारीका अनुसार कुल सङ्क्रमितमध्ये २५४ चिकित्सक तथा स्वास्थ्यकर्मी छन्। यो सङ्ख्या आजसम्म सङ्क्रमित भएकामध्ये २० प्रतिशत हुन आउँछ।

सङ्क्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीको परिवारमा कम्तीमा थप एक जनामा संक्रमण सरेको पाइएको उनले बताए। यस आधारमा सङ्क्रमितको संख्याको ४० प्रतिशत हुन आउँछ। त्यसबाहेक सङ्क्रमित अन्य १ सय १ जनाले समेत अस्पतालमा उपचारका लागि जाँदा वा बिरामीको कुरुवा भएर बस्दा आफूलाई सङ्क्रमण भएको बताएका छन्।

तिवारीले भने, ‘जिल्लामा जम्मा सङ्क्रमणको ५० प्रतिशत हिस्सा अस्पतालको रहेको पाइयो।’

अध्ययन क्रममा उद्योग, व्यापार, होटल, फलफूल, तरकारी पसल वा अन्य व्यवसाय गर्ने १ सय ११ जनामा सङ्क्रमण देखिएको छ। कलकारखाना, होटल, इन्टरप्राइजेज वा व्यवसायमा देखिएको सङ्क्रमण बढ्दो क्रममा छ।

घर भाडामा एकै घरमा धेरै व्यक्ति बस्ने, एउटै शौचालय प्रयोग गर्नेमा सङ्क्रमण फैलिएको पाइएको छ।

अध्ययनपछि तयार प्रतिवेदनमा भनिएको छ, ‘पसलको सामान ढुवानी गर्ने, सामान बेच्ने, तरकारी बजार जाने, सवारी चालक, कोभिड परीक्षण नगरी बाहिरबाट आएका कामदार, जिल्ला बाहिर गएर आएका र अग्रभागमा रहेको प्रत्यक्ष सेवा दिने बैंक, वित्तीय संस्था, विद्युत् प्राधिकरणका कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको छ।’

अध्ययनले अस्पताल उच्च जोखिममा देखिएपछि कोभिड सङ्क्रमण फैलन नदिन आन्तरिक कार्ययोजना बनाएर काम गर्ने विषयमा जिल्लामा रहेका अस्पतालसँग छलफल भइसकेको तिवारीले जानकारी दिए।

सङ्क्रमण फैलिन नदिन अस्पतालमा जाँदा बिरामीको साथमा एक कुरुवा मात्र पठाउनुपर्ने, कुरुवा फेरिन नहुने, अस्पतालमा उपचारका लागि गएका र कुरुवा बसेका व्यक्तिहरु कम्तीमा एक हप्ता होम क्वारेन्टिन पालना गरी बस्ने र अन्य व्यक्तिको सम्पर्कमा नजान केन्द्रले सुझाव दिएको छ।

परिवारका सदस्यलाई अन्य सामान्य अवस्थामा जस्तो साथीभाइसँग हिँडडुल, घुमफिर नगर्न, बजारमा घरभाडामा बस्ने व्यक्तिले आफ्नो घरमा भाडामा बस्ने र घरधनी व्यक्ति सङ्क्रमणको जोखिम हुने गरी अन्यत्र आवतजावत गरे÷नगरेको यकिन गर्नुपर्ने सुझाव पनि दिइएको छ।

रोग नियन्त्रणका लागि पसलमा बसेर सामान बेच्दा सामान किन्न आउने ग्राहकसँग सावधानी अपनाउन, मास्क लगाउन, पैसा लिँदा अलग्गै टोकरीमा राख्नेजस्ता व्यवस्था मिलाउन केन्द्रको सुझाव छ।

सब्जीमन्डीमा हुने भीडभाड नियन्त्रण गर्नुपर्ने, उद्योगमा बाहिरबाट कामदार ल्याउँदा स्वास्थ्य परीक्षण गराएर मात्र उद्योगमा प्रवेश गराउन, कच्चा पदार्थ ल्याउँदा र तयारी सामग्री बाहिर पठाउँदा हुने लोडअनलोडबाट सङ्क्रमण नभित्रिने गरी प्रबन्ध मिलाउनुपर्ने, विद्युत् मर्मत सेवा, सरकारी कार्यालय र बैंकहरुमा अग्रभागमा बसेर ग्राहकलाई सेवा दिने व्यक्तिको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने केन्द्रको सुझाव रहेको सदस्य तिवारीले बताए।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको संयोजक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहितको जिल्लाको उच्चस्तरको समितिले विस्तृत अध्ययन गरेर कोरोना फैलिएको क्षेत्रको पहिचान गर्दै जिल्लावासीलाई सतर्क रहन आग्रह गरेको हो।

जिल्लामा हालसम्म सङ्क्रमितको सङ्ख्या १ हजार ३०७ पुगेको छ भने कोरोनाका कारण १७ जनाको मृत्यु भइसकेको छ । बाहिरी जिल्लाको समेत जोड्दा मृतकको सङ्ख्या २९ पुग्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .