समाज


गुल्मी पहिरोमा आठको मृत्यु, दुई बेपत्ता

गुल्मी पहिरोमा आठको मृत्यु, दुई बेपत्ता

नेपालखबर
साउन ७, २०७६ मंगलबार ९:३,

गुल्मीमा सोमबार राति वर्षासँगै आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ८ पुगेको छ। २ जना अझै हराइरहेका छन्। सत्यवती गाउँपालिका वडा नम्बर ३ र ४ मा पहिराेले घर पुर्दा ८ जनाको मृत्यु भएको हो।

सत्यवती गाउँपालिका-४ लिम्घामा छली बिकको परिवारका ६ जनाको मृत्यु भएको छ। 

gulmi flood2पहिरोले बगाएको घर

मृत्यु हुनेका ६५ वर्षीया छली बिक, २८ वर्षीया पम्फा बिक, १२ वर्षीया अञ्जली बिक, १० वर्षीय हेमन्त बिक, शिवानी बिक, निर्मला बिक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रबिन खड्काले नेपालखबरलाई बताए।

सत्यवती गाउँपालिका वडा नं. ३ ठूलो लुम्पेकमा पहिरोमा परी आमाछोराको मृत्यु भएको छ।

gulmi flood1पहिरोका कारणा रिडी-रुद्रबेनी सडकखन्ड अवरूद्ध भएको छ।

मृत्यु हुनेमा ३२ वर्षीया तीलकुमारी तरामु, उनका ९ वर्षीय छोरा दर्शन रहेको प्रहरी निरीक्षक खड्काले बताए। यस्तै उनकै छोरीहरू १३ वर्षीया धनी र १० वर्षीया करिश्मा घाइते भएका छन्। उनीहरूको उद्धार गरी उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले नेपालखबरलाइ जानकारी दिए।

वडा नम्बर ३ मै पहिरोले घर बगाउँदा ४० वर्षीय माया बिक र १६ वर्षीय गबी बिक हराइरहेका छन्।

gulmi flood3पहिरोको बितण्डा

गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पाैडेलका अनुसार मृतकको शव प्रहरीको रोहबरमा परिवार तथा आफन्तलाई जिम्मा लगाइएको छ।

‘८ जनाको मृत्यु भएको छ। शव निकालेर प्रहरीको रोहबरमा आफन्तलाई बुझाउने काम भएको छ’, नेपालखबरसँग टेलिफोनमा कुराकानी गर्दै उनले भने, ‘मृतकहरू सबैको सनाखत भएको छ। २ जना अझै बेपत्ता छन्।’

थप राहत र उद्धारको लागि जिल्ला बिपद व्यवस्थापन समिति तयारी अवस्थामा रहेको पौडेलेले जनाए। पहिरोले लिम्घामा ४ परिवार जोखिममा छन्। उनीहरुलाई स्थानीय विद्यालयमा राखिएको छ। घटनास्थल जिल्ला सदरमुकाम तम्घासबाट ३ घण्टा टाढा हो।

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा दुःख व्यक्त
गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोले पुर्‍याएको जनधनको क्षतिप्रति परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुःख प्रकट गरेका छन्। ‘यो दुःखद घटनाप्रति गहिरो दुःख प्रकट गर्दै ज्यान गुमाउनु हुने सबैप्रति हार्दिक श्रद्धाञ्जली, घाइतेहरुको स्वास्थ्य लाभको कामना एवं शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गर्दछु’, उनले भनेका छन्।

मन्त्री ज्ञवाली गुल्मी–१ बाट विजयी संघीय सांसद हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .