समाज


कुकुरको टोकाइ र सर्पको डसाइले स्थिति भयावह बन्दै

कुकुरको टोकाइ र सर्पको डसाइले स्थिति भयावह बन्दै

प्रकाश न्यौपाने
साउन २९, २०७७ बिहिबार ९:४,

रुपन्देहीमा पछिल्लो समय कुकुरको टोकाइ र सर्पको डसाइले अवस्था भयावह बन्दै गएको छ।

यसले भैरहवा र आसपास क्षेत्रको अवस्था केहि समययता जोखिमपूर्ण बन्दै गएको छ।

भैरहवास्थित भीम अस्पतालमा कुकुरले टोकेका विरामी एकै दिन मात्रै ७३ जनासम्म उपचारका लागि आएका छन्।

सर्पले डसेका पनि दैनिक १०–१२ जना उपचारका लागि आउने गरेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. नवीन दर्नालले जानकारी दिए।

‘अस्पतालमा उपचार गराउन आउने सबै किसिमका विरामीमध्ये कुकुरले टोकेका सबैभन्दा बढि छन्,’ उनले भने, ‘गर्मी सुरु भएयता सर्पको डसाइका विरामी पनि उपचार गर्न आउने अत्यधिक छन्।’

BhimHospital Bhairahawa

खासगरी सहरी क्षेत्रका नागरिकलाई कुकुरले बढी टोक्ने गरेको छ। सहरी इलाकामा छाडा कुकुरको विगविगी विकराल छ। छाडा कुकुरले सर्वसाधरणलाई साँझ विहानकको समयमा लखेटी लखेटी टोक्ने गर्छन्। घर पालुवा कुकुरले टोकेर उपचार गराउन आउनेहरु पनि छन्।

‘छाडा कुकुर व्यवस्थापन हुन नसक्दा स्थिति विग्रँदो छ। कतिपय ठाउँमा बौलाह कुकुरले टोकेको पनि पाइन्छ। जबसम्म कुकुर व्यवस्थापन हुँदैन सर्वसाधरणलाई टोक्ने क्रम रोकिँदैन,’ डा.दर्नालले भने।

कुकुरको टोकाइ ग्रामीण बस्तीहरुमा पनि व्याप्त छ। कुकुरले टोकेका ठूल्ठूला घाउसहित मानिसहरु अस्पताल आउने गरेका छन्।

कतिपयलाई रेविजसमेत देखिएको छ। यस्तै, सर्पको डसाइले ग्रामीण बस्तीमा बढी जोखिम निम्तिएको छ। अस्पतालको तथ्यांकअनुसार लुम्बिनी क्षेत्रबाट सर्पले डसेका विरामी उपचारका लागि आउने अत्यधिक छन्।

मर्चवारी, सम्मरीमाई, मायादेवी, रोहिणी एवं नदी, कुलो र नहर छेउछाउमा बसोबास गर्दै आएका नागरिकलाई बढी मात्रामा सर्पले डस्ने गरेको छ।

‘सर्पले खासगरी साँझबिहानको समयमा बढी डस्ने गर्छ। रात र दिउँसोको समयमा पनि डसेका केस आएका छन्,’ डा.दर्नालले भने, ‘घरबाहिर सुत्ने, ढोका नभएका घर, ढोका नलगाई सुत्दा, साँझ बिहानको समयमा खेतबारीमा शौच गर्न जाँदा बढी मात्रमा डसेको पाइन्छ।’

अस्पतालका सूचना प्रमुख गोपाल उपाध्यायका अनुसार करेत र गोवन सर्पले धेरैलाई डस्ने गरेको छ।

अस्पताल आउनेमध्ये कतिपयलाई विषालु सर्पले डसेको पाइन्छ।

‘शौचालयमा शौच गर्ने हो भने पनि आधा केस घट्छन्’
शौचालयमा दिशा पिसाब नगरेका कारण धेरै मानिस सर्पको आक्रमणमा पर्ने गरेको उपाध्यायको भनाइ छ।

‘शौचालयमा शौच नगरी खेतबारीमा जानेहरु सर्पको डसाइमा परेको पाइन्छ,’ उपाध्यायले भने, ‘बिहान ४–६ र साँझ ६–८ बजेको बीचमा धेरै खुल्ला ठाउँमा शौच गर्न जाने भएकाले यो समयमा अधिक डस्ने गरेको छ। शौचालयमा शौच गर्ने हो भने पनि ५० प्रतिशत केस घट्छन्।’

यसवर्ष धेरै पानी परेकाले पनि वासस्थान मासिँदा सर्पको डसाई विगतमा भन्दा बढेको अस्पतालले जनाएको छ।

कुकुरले बाह्रैमास टोक्ने गरे पनि सर्पले भने गर्मी मौसममा बढी डस्ने गर्छ। सर्पले खासगरी चैतदेखि मंसिरसम्म बढी डस्छ।

जेठ, असार, साउन र भदौ महिना अझै खतरा हुन्छ। यो साउनमा मात्रै सर्पले डसेका ९६ जना उपचारका लागि आइसकेका छन्।

‘यो संख्या दोब्बर हुने हो तर कोरोनाका कारण जेठ महिनामा अस्पताल बन्द भएकाले सर्पले डसेका विरामी उपचार गर्न यहाँ आएनन्। त्यसैले संख्या थोरै देखिएको हो’, सूचना प्रमुख उपाध्यायले भने।

अस्पतालले दिएको जानकारी अनुसार २०७६ साउनदेखि २०७७ साउन २८ गतेसम्म २३३ नविषालु र २२९ विषालु गरी ४६२ जनालाई सर्पले डसेको छ।

streetdogs rupandehiभैरहवाका सडकमा कुकुर। तस्बीरः प्रकाश न्यौपाने

कुकुरको समस्या झनै भयावह
कुकुरको टोकाइ झन भयावह छ। साउनमा मात्रै २४३ जनालाई कुकुरले टोकेको छ। एक वर्षबीचमा १ हजार भन्दा बढीलाई कुकुरले टोकिसकेको छ।

‘विषालु सर्पले डस्दा रगतमार्फत् विष शरीरमा पुग्यो भने रगत पातलो हुनुका साथै जम्न सक्ने खतरा हुन्छ। नसा मार्फत् विष फैलियो भने स्नायु प्रणालीमा असर गर्छ। विस्तारै शरीरका अंगहरुले काम गर्न छाड्छन् र मानिसको मुत्युसमेत हुनसक्छ’, मेसु डा.दर्नालले भने।

यस्तै, कुकुरले टाउको लगायत सम्वेदनशील अंगमा टोकेमा ज्यान जाने खतरा हुन्छ। विषालु सर्पले टोकेमा प्रयोग गरिने एन्टीस्नेक भेनम र कुकुरले टोकेमा लगाइने रेविजविरुद्धको खोप अस्पताललमा प्रशस्त भएकाले तत्काल उपचार गर्न आएमा मानिसको ज्यान जाने खतरा भने कम भएको डा. दर्नालले बताए।

‘औषधी अभाव छैन। यसले पनि उपचारमा सहज भएको छ’, उनले भने।

छाडा चौपायाको व्यवस्थापनको जिम्मा पाएका स्थानीय सरकारले भने कुकुरको उचित नियन्त्रण गर्न नसक्दा बर्षेनि यसको टोकाइ बढ्दै गइरहेको छ।

सिद्धार्थनगरमा छाडा कुकुरको विगविगी छ। गल्लीपिच्छे कुकुर छरिएका हुन्छन्। यसको नियन्त्रणमा नगरपालिकाले कुनै ठोस कदम चालेको पाइँदैन। नगरपालिकाका भेटेनरी शाखा प्रमुख ईश्वरचन्द्र चौधरीले छाडा कुकुर नियन्त्रणमा कुनै योजना नै नबनेको बताउँछन्।

‘अघिल्लो वर्ष बन्ध्याकरण गर्ने भनेर काठमाडौंको एनिमल नेपाल र पक्लिहवा कृषि क्याम्पससँग सम्झौता गर्न खोज्यौं तर हुन सकेन। यसपल्ट त्यही योजना पनि छैन,’ उनले भने, ‘गतवर्ष छुट्याएको ५ लाख रुपैयाँ कामै नगरी फ्रिज भयो। चालु आवमा बजेट नै छुट्याइएको छैन।’

उनले नगर क्षेत्रमा छाडा कुकुरको विगविगी भए पनि आफूहरुले नियन्त्रणको योजना बनाउन नसकेको स्वीकारे।

सर्पको डसाइबाट बँच्न खुल्ला ठाउँमा शौच नगर्ने, रातको समयमा बाहिर नहिँड्ने, घर बाहिर नसुत्ने, घरको झ्यालढोका राम्रोसँग लगाएर सुत्ने गरेमा बँच्न सकिन्छ।

तर छाडा कुकुर व्यवस्थापन नहुँदासम्म यसको टोकाइ कम गर्न कठिन हुने देखिन्छ।

स्थानीय सरकारले योजनाबद्ध रुपमा काम गरेर नियन्त्रण नगर्ने हो भने कैयौं नागरिक कुकुरको टोकाइबाट रेविजलगायत रोगको सिकार हुनेछन्।

कुकुरले कार्तिक महिनामा बढी टोक्ने भएकाले तुरुन्त नियन्त्रणमा लाग्नुपर्ने स्थानीयको माग छ।

कुकुरकै कारण सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ। ‘रातको समयमा भित्री सडकहरुमा हिँडडुल गर्दा त लखेटीलखेटी टोक्ने गर्छन्, यस्तोबेला मोटरसाइकलमा हिँड्नेहरु दुर्घटनामा पर्ने गरेका छन्,’ उपाध्यायले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .