ad ad

समाज


नेपालमा गाईमा देखियो यसअघि कहिल्यै नदेखिएको नयाँ भाइरस

नेपालमा गाईमा देखियो यसअघि कहिल्यै नदेखिएको नयाँ भाइरस

नेपालखबर
साउन १७, २०७७ शनिबार १७:०,

चितवनका गाईमा नयाँ किसिमको संक्रामक रोग देखिएको छ। पहिचान हुन नसकेको उक्त रोगले अहिले पूर्वी चितवनका गाई थलिन थालेका छन्।

दुई दर्जन गाईमा यस्तो संक्रमण भेटिएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र (चितवन) ले जानकारी दिएको छ। गाईमा नयाँ किसिमको संक्रामक रोगको प्रकोप बढ्दै गएको किसान तथा पशुरोग चिकित्सकले बताएका छन्।  

लम्पी स्किन डिजिज (बिमिरा आई छाला उप्किने) जस्तै रोग देखापरेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र (चितवन) का प्रमुख डा. दयाराम चापागाईंले जानकारी दिए ।  

सुरुआतमा राप्ती नगरपालिकामा देखिएको रोग क्रमशः अन्य क्षेत्रमा पनि फैलँदै गएको उनले बताए। अहिले खैरहनी र रत्ननगर नगरपालिकाका किसानले पालेका गाईमा पनि यो रोग देखिएको छ । यो भाइरसबाट लाग्ने रोग हो। रोग लागेपछि गाईले दूध दिन छाड्ने वा कम दिने गरेको चापागाईंले बताए। 

उनले भने, ‘असारको अन्तिम सातादेखि यो रोग देखापरेको हो, स्थानीय तहका प्राविधिक सहितको टोलीले किसानको घरदैलोमा पुगेर रोग नियन्त्रण र रोकथामका उपायबारे छलफल र सल्लाहा प्रदान गरेका छौं।’  

कार्यालयले रोगबाट संक्रमित घरधुरी र गाईको संख्यासहित पशु सेवा विभाग र प्रदेश मन्त्रालय तथा प्रदेश निर्देशनालयमा पत्र पठाइसकेको उनले जानकारी दिए । कृषि मन्त्रालयसमक्ष आवश्यक औषधिको मागसमेत गरिएको उनले बताए।  

प्रदेश निर्देशनालयले औषधि खरिद गर्न लागेकाले एक÷दुई दिनमै औषधि आपूर्ति हुने कार्यालयले जनाएको छ । केही स्थानीय तहले पोटासलगायत रोग नियन्त्रणका लागि औषधि वितरण गरेका छन्।  

चापागाईंका अनुसार यो नेपालका लागि नयाँ रोग हो। यसको परीक्षण र उपचार विधि नेपालमा छैन। सुरुमा राप्ती नगरपालिका–८ बडराकी किसान हरिमाया अर्यालले पालेको गाईमा समस्या देखिएको थियो। ‘गाईको शरीरभरि घाउ आएको छ,’ उनले भनिन्, ‘राम्रो जातको गाई थियो, अहिले हड्डी र छालामात्र देखिन्छ।’

कातिमा ब्याएको गाईले दैनिक १४-१५ लिटर दूध घटाएर तीनदेखि चार लिटर मात्र दिन थालेको उनले बताइन्। उनका अनुसार गाईलाई उठ्न र बस्नसमेत समस्या भएको छ । प्राविधिकले हेरेर सुरुमा केही औषधि खुवाए पनि रोगको निदान नभएको उनले बताइन्।  

सुरुमा आफ्नो गाईमा समस्या देखिए पनि अहिले अन्य किसानको गाईमा पनि यस्तै रोग देखिएको अर्यालले बताइन्। यो रोग लाग्ने गाईमा सुरुमा ज्वरो आउने, खाना नखाने, शरीरमा फोका बिमिरा उठ्ने, रगत आउने, मासुको टुक्रासमेत देखापर्ने लगायतका लक्षण देखिने गरेका छन्। लक्षणका आधारमा उपचार भइरहेको प्राविधिकले जनाएका छन्।

पोटासले जिउ धुने, घाउ भएको ठाउँमा बेटालिन दल्ने, मलम लगाउने, गोठ वरपर कीटनाशक औषधि छर्ने र बिरामी गाईलाई अलग्गै राख्न किसानलाई सुझाव दिएको राप्ती नगरपालिकाका पशु शाखाप्रमुख शैलेन्द्र भण्डारीले जानकारी दिए।  

नगरका अधिकतर किसानका गाईको नमुना संकलन गरिएको छ । यो रोग धेरै क्षेत्रमा बढ्न सक्ने भन्दै सचेत रहन किसानलाई आग्रह गरिएको उनले बताए। चितवन दुग्ध उत्पादनका लागि अग्रणी जिल्ला मानिन्छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .