ad ad

समाज


सन्दर्भ स्तनपान सप्ताह : आमा र शिशु दुबैका लागि स्तनपान लाभदायक

सन्दर्भ स्तनपान सप्ताह : आमा र शिशु दुबैका लागि स्तनपान लाभदायक

नारायण अधिकारी
साउन १७, २०७७ शनिबार ३:४४,

शिशुलाई नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्ने उद्देश्यले आजदेखि एक सातासम्म स्तनपान सप्ताह मनाइँदैछ।

विश्वस्वास्थ्य संगठन र युनिसेफलले विश्वभर अगस्ट १ देखि ७ सम्म स्तनपान दिवस मनाउन गरेको आग्रह अनुसार विश्वभर यो दिवस सप्ताहव्यापी रुपमा मनाउने गरिन्छ।

आमा र शिशु दुवैका लागि स्तनपान महत्वपूर्ण मानिन्छ। आमाको दूध शिशुका लागि अमृत समान हुन्छ। चिकित्सकको भनाइ अनुसार स्तनपान गराउँदा आमा दुवैको स्वास्थ्य राम्रो हुन्छ।

बच्चा जन्मिएको एक घण्टाभित्रै आमाको दूध चुसाउनु पर्ने चिकित्सक बताउँछन्। वरिष्ठ बालरोग विशेषज्ञ डा.युवानिधि बसौलाले आमाको पहेँलो बिगौती दूध नवजात शिशुका लागि पहिलो खोप भएको बताउँछन्।

‘यसमा रोगसँग लड्न सक्ने तत्व हुन्छ। बच्चा जन्मिएपछि छ महिनासम्म आमाको दूध मात्र खुवाउनु पर्छ,’ उनले भने। शिशुलाई चाहिने पानीसमेत आमाको दूधमा हुने भएकाले छ महिनासम्म आमाको दूधबाहेक पानी पनि खुवाउनु नपर्ने बसौलाको भनाइ छ। आमाको दूधमा ८७ प्रतिशत पानी हुन्छ।

छ महिना पूरा भएपछि आमाको दूधको साथसाथै थप पोषिलो आहार खुवाउनुपर्छ। कम्तीमा दुई वर्षसम्म आमाको दूधलाई निरन्तरता दिँदै थप आहार खुवाउनु पर्ने चिकित्सक बताउँछन्।

‘पूर्ण स्तनपानले बच्चाको दिमागी क्षमता तीक्ष्ण हुन्छ,’ डा.बसौलाले भने, ‘स्तनपान नगराइएका बच्चा झगडालु स्वभाव, अरुसँग घुलमिल नगर्ने र अपराधिक कार्यमा लाग्ने सम्भावना बढी हुन्छ।’

बोतल र त्यसको मुन्टा सजिलै फोहोर हुने हुनाले प्रयोग नगर्न चिकित्सकको सुझाव छ। नवजात शिशुलाई २४ घण्टामा १० देखि १२ पटकसम्म स्तनपान गराउनुपर्छ।

बालबालिकाले चौबीस घण्टामा छदेखि आठ पटक बच्चाले पिसाब फेर्छन्। त्यो भन्दा कम भएमा दूध नपुगेको बुझ्नुपर्ने चिकित्सक बताउँछन्। एकातिरको दूध निख्रिएपछि मात्र अर्को स्तनको दूध खुवाउन, आमा र बच्चा जो बिरामी भए पनि निरन्तर स्तनपान गराई रहन बसौला सुझाब दिन्छन्।

नेपाल बाल चिकित्सक समाजका केन्द्रीय उपाध्यक्षसमेत रहेका बसौलाले बिगौती दूधले बच्चाको शरीरबाट ‘विलिरुविन’ नामक तत्वलाई निष्काशन गर्ने बताए। जसले गर्दा जण्डिस हुन दिँदैन।

बिगौती दूधमा प्रोटिन, भिटामिन ‘ए’ र अन्य सूक्ष्म पोषक तत्व बढी पाइन्छ। जसले गर्दा बच्चाको वृद्धि विकासमा मद्दत गर्दछ। बिगौती दूधले बच्चालाई एलर्जी र अपच हुन दिँदैन।

आमाको दूधमा झाडापखाला र स्वासप्रश्वाससम्बन्धी सङ्क्रमणविरुद्ध लड्ने प्रतिरोधात्मक तत्व हुने चिकित्सक बताउँछन्। यसैगरी आन्द्राको रक्षा र हानिकारक तत्वलाई रगतमा पुग्न नदिन आमाको दूध उपयोगी हुन्छ। आमाको दूधले दाँत र गिजाको विकास गर्न सहयोग पुग्छ भने बच्चाको मानसिक, शारीरिक तथा सामाजिक विकास गर्नसमेत सहयोग मिल्छ।

दूध चुसाउँदा बच्चालाई मात्र होइन, आमालाई पनि फाइदा पुग्दछ । भरतपुर अस्पतालका स्त्री, प्रसूति तथा प्रजनन रोग विशेषज्ञ वरिष्ठ कन्सल्टेन्ट डा.रामप्रसाद सापकोटा बच्चाले स्तनपान गर्दा निस्कने हार्मोनले आमाको पाठेघर खुम्च्याउन मद्दत गर्ने बताउँछिन्। बच्चा जन्मने बित्तिकै स्तनपान गराउँदा सालनाल सजिलो र छिटो बाहिर निस्कने हुँदा पाठेघरबाट बढी रगत बग्ने खतरा कम हुने उनको भनाई छ।

बच्चा जन्मने बित्तिकै आमाको दूध चुसाएमा स्तनबाट धेरै दूध आउन सहयोग गर्ने चिकित्सक बताउँछन्। तुरुन्तै र पटकपटक दूध चुसाउनाले स्तन गानिनबाट रोकथाम हुने सापकोटाको भनाइ छ।

‘दूध चुसाउने आमा र बालबालिकाबीचको आत्मीयता बढ्छ र बच्चाले सुरक्षित महसुस गर्दछ,’ उनले भनिन्, ‘यसबाट आमालाई मानसिक तनाव कम हुने हुँदा स्वस्थ महसुस हुन्छ। सुत्केरी भएपछि स्तनपान गराउनाले आमाको मोटोपन घट्नुका साथै पाठेघर खुम्चिएर पुरानै अवस्थामा फर्किन्छ।’

सापकोटाका अनुसार बच्चा जन्मिएको पहिलो छ महिनासम्म पूर्ण स्तनपान गराएमा गर्भ निरोधकको रुपमा समेत काम गर्छ। ‘स्तनपानले महिलामा हुने स्तन, डिम्बासय र पाठेघरसम्बन्धी क्यान्सरको जोखिमसमेत कम गराउँछ,’ सापकोटाले भनिन्।

आमाको दूध सफा, पोषिलो र ठीक तापक्रमको हुन्छ र खर्चिलो हुँदैन। आमाको दूध जुनसुकै बेला पनि खुवाउन सकिन्छ । कृतिम खालका खाना बनाउन लाग्ने समय, इन्धन खर्च र कामको भार कम हुन्छ।

स्तनपानले प्रत्येक वर्ष विश्वमा करिब आठ लाख २३ हजार बालबालिकाको ज्यान जोगिने गरेको चिकित्सक बताउँछन्। संसारमा हरेक पाँच बच्चामध्ये दुई जना शिशुले मात्र छ महिनासम्म आमाको दूधमात्र खान पाउने तथ्याङ्कले देखाएको छ।

हाल नेपालमा एक वर्षमा करिब सात लाख बच्चा जन्मने गरेको पाइएको छ। तीमध्ये ५७ प्रतिशत बच्चा मात्र स्वास्थ्य संस्थामा जन्मने गरेको बसौलाले जानकारी दिए।

छ महिनासम्म आमाको दूध मात्र खुवाउन र त्यसपछि आमाको दूधसँगै जाउलो, लिटो, दालको रसजस्ता वस्तु खुवाउन बसौला सुझाव दिन्छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .