संयुक्त राष्ट्रसंघीय निकाय खाद्य तथा कृषि संगठन (एफएओ)मा सलह किरासम्बन्धी काम गर्ने निकायमा कार्यरत् वरिष्ठ विज्ञले शनिबार अप्रत्याशित रुपमा आएको हावाको शक्तिशाली वहाव आएका कारण सलहको एउटा समूह नेपाल आइपुगेको बताएका छन्।
त्यो समूहले नेपालमा ठूलो क्षति नपुर्याउने ती विज्ञको अनुमान छ।
इटलीको रोमस्थित एफएओको मुख्यालयमा वरिष्ठ सलह पूर्वानुमान अधिकृतको रुपमा कार्यरत किथ क्रेसम्यानले सो ठहर गरेका हुन्।
सो निकायले पूर्वी अफ्रिकाका मरुभूमिलाई मुख्य र मध्यपूर्व, पाकिस्तान र भारत आउने सलहको बारेमा अध्ययन गर्छ।
जेठ १३ मा कृषि मन्त्रालयले सलहको बारे अध्ययन गर्न विज्ञहरुको कार्यदल गठन गरेको थियो। सो कार्यदलले क्रेसम्यानसँग सम्पर्क गरी परामर्श गरेको थियो।
सरकारले तयार पारेको प्रतिवेदनमा क्रेसम्यानले भारतमा उत्तरबाट दक्षिणतर्फ लाग्ने क्रममा सलहको ठूलो झुण्डमा विभाजन भएको भन्दै सलह नेपाल आउने संभावना कम रहेको जानकारी गराएको उल्लेख छ।
तर, सो पुर्वानुमानविपरित शनिबार बिहान सलह नेपाल प्रवेश गरेपछि उनै क्रेसम्यानलाई नेपालखबरले आइतबार केहि प्रश्न गरेको थियो। प्रश्नोत्तरः
केही हप्ताअघि भारत र अन्य दक्षिण एसियाली मुलुकमा सलह आउँदा तपाईले सलह नेपाल आउने संभावना कम भएको बताउनुभएको थियो। के आधारमा त्यो पूर्वानुमान गरिएको थियो? सलह नेपालमा केहि दशक पहिले पनि आएको बताइन्छ र शनिबार फेरि प्रवेश गरेको छ। सलह नेपालमा प्रवेश गरिसकेपछिको अब तपाईको विश्लेषण के हो?
शनिबारको दिन दक्षिण तर्फबाट आएको शक्तिशाली हावाका कारण सलहको एउटा अपरिपक्व र वयस्क नभइसकेकाहरुको सानो झुण्ड उत्तरतर्फ मोडिएर उत्तर प्रदेश पुगेको हो। तिनीहरुको समुह कुशिनगर र सिद्धार्थ नगर पुगेर त्यहाँबाट फेरी टुक्रिए। छुट्टिएका मध्ये एउटा समुह नेपालको मध्य क्षेत्रमा पर्ने बुटवल लगायतका ठाउँमा पुगेको हो।
नेपाल आइपुगेको सलहको यो झुण्डले यहाँ के कति नोक्सान पुर्याउला?
यी समुहहरु त्यहाँ त्यति धेरै नोक्सान नपुर्याई फेरि तितरवितर हुने संभावना छ किनभने यो मरुभूमिका सलहहरुका लागि वासस्थान होइन।
नेपाल सलहले प्रजनन् गर्ने उपयुक्त ठाउँ हो?
होइन।
सलहले पार्न सक्ने नोक्सान कम गर्नका लागि सरकार र स्थानीय तहका अधिकारीहरुले गर्नुपर्ने महत्वपूर्ण कुराहरु के के हुन्?
निशुल्क पाइने इलोकस्ट३एम मोवाइल एप (https://play.google.com/store/apps/details?id=plantvillage.locustsurvey) सबैले प्रयोग गर्नुपर्छ। त्यसबाट कन्फर्मेसन फोटोलगायत त्यससम्बन्धी सबै दृष्यहरु देख्न सकिन्छ र सलहहरु कहाँ छन् भनी सम्बन्धित अधिकारीहरुलाई थाह हुन्छ।
आवश्यक पर्यो भने नियन्त्रणका कदमहरु पनि चाल्न सकिन्छ जस्तै एफएओको स्ट्यान्डर्ड गाइडलाइनलाई अनुसरण गरेर हातले समाउने वा पिठ्युमा बोकेर छर्किने विषादी प्रयोग गर्न सकिन्छ।
तर किसानलाई नै यो छर्किन दिनु चाहिँ हुँदैन किनभने यसलाई सुरक्षित रुपमा प्रयोग गर्नका लागि उनीहरुसँग आवश्यक अनुभव र सुरक्षित प्रकारका सामग्रीहरु पनि नहुन सक्छन्।
प्रतिक्रिया