समाज


नेपाल फेरि सलहको जोखिममा, अफ्रिकाबाट पाकिस्तान हुँदै भारत आइपुग्यो

नेपाल फेरि सलहको जोखिममा, अफ्रिकाबाट पाकिस्तान हुँदै भारत आइपुग्यो

मणि दाहाल
जेठ १३, २०७७ मंगलबार १३:१३,

कोरोना भाइरस महामारीका कारण कृषि उत्पादन घट्ने र भोकमरी लाग्ने अनुमान भइरहेको समयमा दक्षिण एसियामा सलहको प्रकोप देखिएको छ। नेपालको तराई क्षेत्र पनि सलहको जोखिममा रहेको विज्ञहरुले बताएका छन्।

पूर्वी अफ्रिकाबाट सुरु भएको सलह मध्यपूर्व पाकिस्तान हुँदै नेपालको सीमा जोडिएको भारतसम्म आइपुगेको छ। तीन वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सलहले भारतको राजस्थान, मध्य प्रदेश र उत्तर प्रदेशमा बालीनाली ध्वस्त बनाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। अहिले सलह दिल्लीतर्फ बढिरहेको बताइएको छ। दिल्लीमा सतर्कता जारी गरिएको छ।

पाकिस्तान हुँदै भारतका राजस्थान राज्यमा प्रवेश गरेको सलहले अन्नबालीमा ठूलो क्षति गरेको छ। यसअघि नै यो सलहका कारण इथियोपिया, केन्या, सोमालिया, जिबुटी र एरिट्रियाका १ करोड ३० लाख मानिसको खाद्य सुरक्षामा खतरा निम्त्याएको राष्ट्र संघको खाद्यान्न तथा कृषि संगठन (एफएओ) जनाएको छ।

नेपाल पनि सलहको कारण समय–समयमा पीडित भएको र अनिकाल निम्तिएको इतिहास भेटिन्छ। सरदार भीमबहादुर पाण्डेको ‘त्यस बखतको नेपाल’ पुस्तकमा नेपालमा ९० वर्षअघि सलहको प्रकोप परेको उल्लेख गरेका छन्।

‘१९८५–८६ सालतिर अफ्रिकाको मरुभूमिमा फुटेको सलहको बथान आकाशै ढाकेर कैयन् दिनतक नेपालमा पनि आउँथे। मुरीका मुरी सलह छोपेर जनताले खाए– अन्नपात सलहले खाए पनि। सलहले अन्न खाएजत्ति नै गाउँलेले सलह खाएजस्तो देखिन्थ्यो,’ पाण्डेले लेखेका छन्, ‘सलह आएको धेरै महिनासम्म पनि असनमा सुकाएका मुरीका मुरी सलहको खरिद–बिक्री चल्दै थियो। सीधाभन्दा सलहलाई जनता रुचाउँथे र सलहको सुकुटी धेरै महिनातक खप्दथ्यो पनि।’

मल्लकालमा पनि सलहले बालीनाली खाएर नेपालमा भोकमरी नै भएको इतिहास छ।

‘मल्लकालमा सलहले बालीनाली सखाप नै बनाएर भोकमरी लागेको लिखित नै छ। तर त्यसपछि त्यति ठूलो सलहले क्षति पुर्‍याएको इतिहासमा देखिँदैन,’ इतिहासकार ज्ञानमणि नेपालले नेपालखबरसँग भने।

अर्का इतिहासकार महेशराज पन्तले २०११–१२ मा सलहले काठमाडौँमा अन्नबाली क्षति पुर्‍याएको बताए।

‘म सानै थिएँ। त्यस समयमा सलहलाई भुटेर बेच्ने गरेका थिए। हजुरआमाले मलाई त्यो किनेर नखानु है भन्नु भएको थियो,’ पन्तले भने, ‘१३ र १४ औं शताब्दीमा पनि सलहको कारण काठमाडौंमै भोकमरी लागेको थियो।’

locust-dispacth2sub.jpg

सलह सबैभन्दा विध्वंसकारी किरामा पर्छ। यसले सबै प्रकारका बाली खाने गर्छ। सलहको एउटा ठूलो समूहले एकै दिनमा ३५ हजार मानिसले खाने जति खान्छ।

फट्यांग्रा प्रजातिको सलहमा सन्तान जन्माउने क्षमता अत्याधिक हुन्छ। एउटा मात्रै पोथी सलहले तीन महिनाको जीवनचक्रमा तीन पटक फूल पार्छ। प्रत्येक पटक ७० देखि ८० वटा फूल पार्ने गर्छ।

‘यसको जीवनचक्र तीनदेखि ६ महिनासम्मको हुन्छ। यसको वृद्धिदर संख्यात्मक नभई गुणात्मक रुपमा हुन्छ,’ त्रिभुवन विश्वविद्यालयका प्राणीशास्त्र विभागका सहप्राध्यापक प्रेमबहादुर बुढाले भने, ‘स्थानअनुसार यसको प्रकृति फरक हुन्छ। तर, बाली सबैले नै नष्ट गर्छ। त्यसैले सलह जहाँ पुग्छ, त्यहाँ भोकमरी लाग्ने निश्चित छ।’

२७ देखि ४० डिग्रीको तापक्रम हुँदा दिउँसै र ४० डिग्रीभन्दा बढी भए राति सलह एक स्थानबाट अर्को स्थानमा जाने बुढाले बताए। यसले एक दिनमा १ सय ५० किलोमिटरसम्मको यात्रा गर्ने गर्छ।

‘यी एउटाको नक्कल गर्ने स्वभावका हुन्छन्। लाखौँ लाखको किराको समूह हुन्छ, उनीहरु झुरुप्प भएर बस्छन्, उड्दा एकले अर्कोलाई पछ्याउँदै जाने गर्छन्,’ बुढाले भने।

यो सलह नेपालतर्फ आउँछ या आउँदैन भन्नेबारे विभिन्न धारणा रहेको नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का वरिष्ठ वैज्ञानिक तथा निर्देशक रामबहादुर केसीले बताए।

‘केहीले यो मरुभूमि वा सुख्खा हुने क्षेत्रनजिक मात्रै जाने हुनाले नेपाल आउँदैन भन्ने तर्क गरेका छन्,’ केसीले भने, ‘तर, केहीले भारतको यूपी र बिहार आएपछि नेपालमा पनि आउँछ भनेका छन्। यस विषयलाई गम्भीर रुपमा हेरेका छौंं।’

नार्कअन्तर्गत किट विज्ञान महाशाखाका वैज्ञानिक डा. नरेश डाँगीले अहिले तराईका जिल्लाहरु बढी जोखिममा रहेको बताए।

‘केही वर्षअघि पूर्वी नेपालमा पनि फट्यांग्राले उखु खेतीमा ठूलो क्षति गरेको थियो,’ डाँगीले भने, ‘तर अहिले जति परिमाणमा आएको भनिएको छ, त्यो यहाँ आइपुग्यो भने ठूलो क्षति पुर्‍याउँछ। पूरै अन्नबाली सखाप बनाउँछ। अहिलेको अवस्थामा तराई क्षेत्र बढी जोखिममा छ।’

सलह कति समयमा एक स्थानमा बस्छ भन्ने निश्चित हुँदैन।

‘यसले घुम्दै बसेको स्थानमा बालीनाली सखाप पर्दै हिँड्ने गर्छ’ डाँगीले भने, ‘मनसुन सुरु भएपछि यसको प्रकोप केही कम हुन सक्छ। तर हामी पनि जोखिममै छौं।’

एफएओले फेब्रुअरी महिनामै अहिलेको सलहको कारण ठूलो क्षति हुने बताएको थियो। सो संस्थाले गृष्म ऋतुमा दोस्रो चरणको सलह आउने चेतावनी पनि दिएको थियो। त्यो पहिलो चरणको भन्दा २० औँ गुणा ठूलो हुने सो संस्थाले बताएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .