ad ad

समाज


प्रदेश २ मा मात्रै १३७ संक्रमित, आठवटै जिल्लाका खुल्ला सीमा मुख्य चुनौती

प्रदेश २ मा मात्रै १३७ संक्रमित, आठवटै जिल्लाका खुल्ला सीमा मुख्य चुनौती

शैलेन्द्र महतो
जेठ ८, २०७७ बिहिबार ९:१५,

प्रदेश २ का आठवटै जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ। संक्रमित संख्याको हिसाबले प्रदेश ५ पछि दोस्रो नम्बरमा प्रदेश २ रहेको छ। प्रदेश २ मा बुधबारसम्म १ सय ३७ जना कोरोना संक्रमित फेला परिसकेका छन्। 

कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न प्रदेश २ सरकारले गएको चैतमा डा. राम केवल साहको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको थियो। सल्लाहकार समितिले कोरोना रोकथाम नियन्त्रणका लागि प्रदेश सरकारलाई सुझाबसहितको प्रतिवेदन पेश गरेको थियो। तर पनि नेपाल भारत खुल्ला सीमासँग आठवटै जिल्ला जोडिएको र यहाँ जनघनत्व पनि अत्यधिक रहेकाले प्रदेश २ कोरोना संक्रमणको उच्च जोखिममा रहेको विज्ञहरुले बताएका छन्। भारतमा रेलसेवा सुचारु भएका कारण लुकिछीपी नेपाल प्रवेश गर्ने क्रम बढेपछि कोरोना रोकथाम तथा नियन्त्रणमा अझै चुनौती थपिँदै गएको बुद्धिजिवीहरुले औंल्याएका छन्। प्रदेश २ मा परीक्षणको गति बढाएसँगै संक्रमितहरु दिनदिनै थपिँदै जाँदा यहाँको अवस्था भयाबह बन्दै गएको छ।

सामाजिक विकास मन्त्रालयका अनुसार बुधबारसम्म प्रदेश २ मा ६ हजार ६ सय २३ जनामा कोरोना परीक्षण गरिएको छ। जस मध्ये १ सय ३७ जना कोरोना पोजेटिभ फेला परेको पुष्टि भएकाे छ भने एक हजार ३ सय ४ जनाको परिणाम आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ। रिपोर्ट आउन बाँकी रहेकाबाट पनि ठूलो संख्यामा कोरोना संक्रमित फेला पर्ने आँकलन गरिएको छ।
प्रदेश २ मै ५ हजार ८ सय २८ जनामा आरडीटी प्रविधिबाट कोरोना परीक्षण गरिएको छ। जसमध्ये १२ जनाको पोजेटिभ रिपोर्ट आएको मन्त्रालयले जनाएको छ।

प्रदेश २ का आठवटै जिल्लामा भारतका विभिन्न स्थानबाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेका तथा संक्रमितहरुको सम्पर्कमा गएका र कोरोना आशंका गरिएका ४ हजार ७०७ जना क्वारेन्टिनमा रहेका छन् भने होम क्वारेन्टिनमा ४ हजार ९ सय ६६ जना रहेका छन्।

यस्तै कोरोना संक्रमित र कोरानाको संक्रमण आशंका गरिएका एक सय ३७ जनाको विभिन्न आइसोलेसनमा उपचार भइहेको प्रदेश २ को स्वास्थ्य निर्देशनालयका बरिष्ट अधिकृत विजय झाले जानकारी दिए।

क्वारेन्टिन र आइसोलेशन बेड क्षमता कति छ ?
प्रदेश २ मा कोरोना संक्रमण तथा रोकथामको लागि प्रत्येक स्थानीय तह गरेर २ सय १२ क्वारेन्टिन निर्माण गरिएको छ। जसमा ७ हजार ३ सय ५६ बेड संख्या रहेकोमा ४ हजार ७०७ जना हाल क्वारेन्टिनमा छन्।

यस्तै, प्रदेश भरिमा कोरोना संक्रमित बिरामीलाई उपचार गर्न निर्माण गरिएको आइसोलेशन बेड संख्या ४ सय ४७ रहेको छ। जस मध्ये एक सय ३७ जा आइशोलेशनमा राखेर उपचार भइरहेको छ।
जनकपुर प्रादेशिक अस्पतालमा ४२, नारायणी उप क्षेत्रीय अस्पतालमा ७०, कलैया अस्पतालमा ५०, जलेश्वर अस्पतालमा ५०, महेन्द्र गेनाइ हस्पिटल सिरहा ५०, रौतहटमा ६५, सप्तरीमा ७७ वटा आइसोलेशन छन्।

कहाँ कहाँ हुँदै छ कोरोना संक्रमितको उपचार
यस प्रदेशमा १ सय ३७ जना मध्ये २ जना कोरोना संक्रमित उपचार पश्चात निको भएका छन् भने २ जना कोरोना संक्रमित नेपाली सेनाको काठमाडौंमा उपचार भइरहेको र ४ जना यहाँका स्थानीय भएपनि काठमाडौंमा बसेकाले उतै उपचार भइरेको प्रदेश २ सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए। उनका अनुसार १ सय २९ जना कोरोना संक्रमितको यस प्रदेशमा कोरोनाको उपचार गर्न निर्माण गरिएको अस्पतालहरुमा उपचार भइरहेको छ।

पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेशनमा ६३ जना पुरुष र ८ जना महिला गरी ७१ जना, वीरगञ्जकै सिद्धार्थ स्कुलमा निर्माण गरिएको आइसोलेशनमा १६ पुरुष र ८ महिला गरी २४ जना, गौर इन्टिच्युटको आइसोलेशनमा १७ पुरुष १ महिला गरी १८ जना कोरोना संक्रमितको उपचार भइरहेको सचिव घिमिरेले जानकारी दिए।

यस्तै, प्रादेशिक अस्पताल जनकपुरमा ९ पुरुष र १ महिला गरी १० जना, बाराको कलैया कोभिड अस्पतालमा २ जना पुरुष, सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल र सिरहा जिल्लाको महेन्द्र गेनाइ अस्पतालमा एक एकजना कोरोना संक्रमितको उपचार भइरहेको छ।

कहाँ कहाँ हुँदैछ स्वाब संकलन?
सप्तरी वोदेबर्साइ नगरपालिकाका क्वारेन्टिनलाई केन्द्र बनाएर सुरंगा नगरपालिका, डाक्नेश्वरी नगरपालिका, सम्भुनाथ नगरपालिका लगायतमा स्वाब संकलनको कार्य भइरहेको छ।

यस्तै, सिरहामा भग्वानपुर नगरपालिका, धनुषामा कमला नगरपालिका, गंगुली क्वारेन्टिन र बटेश्वर गाउँपालिका, महोत्तरीको गौशाला नगरपालिका, औरही नगरपालिका र मनरासिसवा नगरपालिका, रौतहटमा इशनाथ नगरपालिका, गौर नगरपालिका, परोहा नगरपालिका, गरुडा र कटहरिया नगरपालिका, बारामा जिल्ला प्रशासन कार्यालय, पजरौता नगरपालिका, सिमरौन नगरपालिका र पर्सामा नारायणी अस्पताल, १६ इनरर्वा क्वारेन्टिन, छिपरमाई नगरपालिका र सखुवा प्रसौनीमा स्वाब संकलनको कार्य भइरहेको छ।

खुला सीमा मुख्य चुनौती
प्रदेश २ का ८ वटै जिल्लामा खुल्ला सीमा छ। भारतमा विभिन्न कामले गएर कोरोना सन्त्रासले घर फर्किनेहरु लकडाउन र सीमा सिलको कारण सीमा पारि अलपत्र परेका छन्। तर खुल्ला बोर्डरका कारण चोरबाटो हुँदै दिनहुँ नेपालीहरु भित्रिने गरेका छन्। पारि रहेका आफन्तलाई यहाँका स्थानीयले पनि लुकिछिपी भित्राउने गरिरहेका छन्। सरकार आफ्ना नागरिकप्रति जिम्मेबार नहुनु र समुदाय पनि इमान्दार नहुनुले प्रदेशमा कोरोना महामारी रोकथाम थप चुनौतपूर्ण बन्दै गएको जानकारहरुको तर्क छ।

‘तीनै तहका सरकारले सीमामा अलपत्र नागरिकलाई ल्याएर क्वारेन्टिनमा राखेर तिनीहरुको व्यवस्थापन गर्न सकेका छैनन्। सीमाबाट लुकिछिपी मानिसहरु घर फर्किरहेका छन्। आफन्तले पनि आफ्ना मान्छेलाई सीमा कटाएर ल्याउन सघाइरहेका छन्। यसले कोरोना महामारी झनै उग्र रुप लिन सक्छ’ कृषि विकास बैंकका अवकाश प्राप्त क्षेत्रीय निर्देशक हरिश्चन्द्र यादवले भने।

स्थानीयले पनि सीमा पारिबाट ल्याएका आफ्ना मान्छेलाई व्यवस्थित रुपमा क्वारेन्टिन अथवा होम क्वारेन्टिनमा राख्नु पर्ने र सतर्क हुनुपर्ने उनको सुझाब छ। तर त्यस अनुसार समुदाय पनि सचेत नभएको र सरकार पनि यसप्रति गम्भीर नभएको यादवले बताए।

स्थानीय क्वारेन्टिन र आइसोलेशनहरु व्यवस्थित रुपमा सञ्चालनमा नरहेको गुनासो बढिरहको छ। आइसोलेशनमा समाजिक दूरी पालना, खानपान, उठबसको समस्या रहेको छ। कतिपय क्वारेन्टिनमा बस्नेहरु घर गएर खाना खाने र फेरि क्वारेन्टिनमा बस्ने गरेका स्थानीयकाे गुनासो छ।

जनकपुरकै एकजना फिजिसियनले भने तीनै तहका सरकार कोरोना रोकथाम गर्न इमान्दार नभएको गुनासो गरे।

‘प्रदेश सरकारले विज्ञ समूह गठन गरेर त्यसैको सुझाब अनुसार कोरोना रोकथाम गर्ने बताएको थियो। तर त्यस अनुसार सरकार अघि बढेको छ कि छैन? छ भने किन दिन प्रतिदिन लापरवाही बढिरहेको छ। खै प्रदेश सरकार गम्भीर भएको?’ ती चिकित्सकले भने ‘प्रादेशिक अस्पतालमा २ वटा पीसीआर मेसिन जडान गरियाे। तर फेरि बिग्रेकै छ। कोरोना यिनीहरुको लागि लुट्ने अवसर त होइन?’

सरकार, चिकित्सक र नागरिक आ-आफ्नो ठाउँमा इमान्दार नभएसम्म यो कोरोना महामारीलाई नियन्त्रण गर्न नसकिने ती चिकित्सकले दाबी गरे।

छिमेकी देश भारतमा रेल सेवा सुचारु भएकाले विभिन्न स्थानमा मजदुरीका लागि गएका नेपालीहरु अझै बढी भित्रिने भएकाले कोरोनाको चुनौती थपिँदै गएको छ।

केन्द्र र प्रदेश सरकारको समन्वय नहुँदा रोकथाममा कठिनाइः विज्ञ समूह
कोरोनाको उच्च जोखिम प्रदेश २ मा रहनु र यहाँ कोरोनाका संक्रमित बढी हुनु स्वभाविक रहेको प्रदेश २ का विज्ञ समूहको ठहर छ।

प्रदेश २ सकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सुझाबका दिन गठन गरेको विज्ञ समुहका संयोजक डा. रमकेवल साहका अनुसार देशको तीन प्रतिशत क्षेत्रफलमा २० प्रतिशत जनसंख्या रहनु र त्यसमा पनि आठवटै जिल्ला खुल्ला सीमा, गरिबीको कारणले छिमेकी देश भारत लगायत विदेशमै मजदुरीको लागि जानु र सीमा सिल हुँदा पनि लुकिछीपी आउनु, उपचारको साधनश्रोतको हिसाबले निकै कमजोर हुनु लगायतका कुरा केलाउँदा यहाँ कोरोना संक्रमित बढ्नु स्वभाविक हाे।

आफूहरुको सल्लाह सुझावलाई धेरै पालना गरेपनि कोरोना रोकथाम नियन्त्रणमा केन्द्र सरकार र प्रदेश सरकारको समन्वय नहुनुले समस्या जटिल बन्दै गएको उनको भनाई छ।

‘खुल्ला सीमा छ। जति राेकथाम गरेपनि सीमा पारि राेकिएका नेपालीहरु घर फर्किन्छन्। सीमा केन्द्र सरकारको अधिनमा छ। तीनै तहका सरकारले समन्वय गरेर ती नागरिकहरुलाई व्यवस्थित रुपले ल्याएर क्वारेन्टिनमा राख्दा वेश हुन्थ्यो’ संयोजक डा. साहले भने।

उनले थपे, ‘हामीले परीक्षणको गति बढाउन भनेका छौं। तर धिमि गतिमै अगाडि बढिरहेको छ। यसलाई गति दिनु पर्‍याे। यो राजनीति गर्ने बेला होइन। सबै मिलेर कोरोनासँग लड्ने बेला हो। तर त्यसो हुन नसकेकाले समस्या झन् जटिल बन्दै गएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .