नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन (अनन्त)ले रोल्पाको गंगादेव गाउँपालिका–५ पाखापानीमा ११ वर्षीय बालक लोकेन्द्र विकमाथि भएको कुटपिट घटना र उद्धारमा पुगेकाहरूमाथि नै भएको आक्रमणको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा उनले उक्त घटनाले आफूलाई अत्यन्त गम्भीर र मर्माहत बनाएको बताएका हुन्।
घटना जानकारीमा आएलगत्तै आफूले जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुखसँग सम्पर्क गरी संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन तथा स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेको जानकारी पनि उनले दिएका छन्।
बालकमाथि कुटपिटमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको प्रहरीले जनाएको छ।
‘घटनापछि पनि प्रहरी प्रशासनसँग मेरो निरन्तर संवाद भइरहेकै छ,’ पुनले भनेका छन्,‘ घटनाको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न प्रहरी प्रशासनसँग पुनः आग्रह गर्दछु।’
घटनाको विरोध गर्दै न्यायको पक्षमा उभिने र दोषीमाथि कारबाहीका लागि दबाब सिर्जना गर्ने सम्पूर्ण सरोकारवालाप्रति उनले धन्यवाद पनि व्यक्त गरेका छन्।
‘पीडित बालकलाई न्याय दिलाउन र दोषीमाथिको कानुनी कारबाही सुनिश्चित गर्न निरन्तर खबरदारी जारी रहने विश्वास लिएको छु,’ पुनले भनेका छन्, ‘कुटपिटबाट घाइते हुनुभएका भएका बालक लोकेन्द्र विक र उद्धारको क्रममा आक्रमणमा पर्नुभएका गोपाल महरको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’
Shares

प्रतिक्रिया