बैंकिङ कसूर मुद्दामा ६ वर्ष कैद र २२ करोड ६७ लाख रुपैयाँभन्दा बढी जरिबाना ठहर भएका नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन्। लामो समयदेखि फरार रहेका ६९ वर्षीय श्रेष्ठलाई प्रहरीको विशेष टोलीले आइतबार काठमाडौंको सितापाइलाबाट नियन्त्रणमा लिएको हो ।
के थियो आरोप ?
नेपाल सेयर मार्केट्स एण्ड फाइनान्समा रहँदा श्रेष्ठले निक्षेपकर्ताको बचत र संस्थाको पुँजीमा अनियमितता गरी व्यक्तिगत लाभका लागि प्रयोग गरेको पुष्टि भएको थियो। नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा उनीमाथि बैंकिङ कसूर ऐन अन्तर्गत अनुसन्धान सुरु गरिएको थियो।
सर्वोच्च अदालतको २०८१ भदौ ५ गतेको फैसलाले उनलाई दुईवटा छुट्टाछुट्टै मुद्दामा दोषी ठहर गरेको थियो। पहिलो मुद्दामा ३ वर्ष कैद र १९ करोड ४६ लाख रुपैयाँ जरिबानाको फैसला सुनाएको थियो। दोस्रोमा ३ वर्ष कैद र ३ करोड २१ लाख रुपैयाँ जरिबानाको सजाय सुनाउने फैसला सुनाएको थियो।
अदालतले उनलाई कुल ६ वर्ष कैद र २२ करोड ६७ लाख ४१ हजार ३४३ रुपैयाँ जरिबानाको सजाय सुनाएको थियो। फैसलापछि फरार रहँदै आएका उनलाई प्रहरीले आइतबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ।
Shares

प्रतिक्रिया