छिमेकी जिल्ला पर्साको वीरगञ्जमा तनावपछि कर्फ्यु जारी रहँदा रौतहटको सदरमुकाम गौरमा भने सोमबार बिहान 'सद्भाव र्याली' निकालिएको छ। सामाजिक सद्भाव बिथोल्ने गरी केही दिनअघि भएका झडप र तोडफोडका घटनापछि बिग्रिएको वातावरण सुधार्न स्थानीय प्रशासन र नागरिक समाज सक्रिय भएका हुन्।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार बिहान ६:३० बजेदेखि कर्फ्यु आदेश हटाएसँगै नगरको जनजीवन सामान्य बन्दै गएको छ। कर्फ्यु हटेपछि बजार, यातायात र शैक्षिक संस्थाहरू पुनः सञ्चालन हुन थालेका छन्।
राैतहटमा के भएको हो?
केही दिनअघि गाैर र आसपासका क्षेत्रमा दुई समुदायबीच उत्पन्न विवादले हिंसात्मक रूप लिएपछि प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको थियो। स्थिति नियन्त्रण बाहिर जान नदिन गौरमा कर्फ्यु लगाइएको थियो। गाैरभन्दा केही परको छिमेकी सहर वीरगञ्जमा आज सोमबार निषेधाज्ञा र कर्फ्यु जारी छ।
सोमबार बिहान गौर नगरपालिका–६ सव्गढाहाबाट सुरु भएको सद्भाव र्यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको छ। र्यालीमा हिन्दू र मुस्लिम दुवै समुदायका धर्मगुरु, स्थानीय जनप्रतिनिधि, नागरिक समाज र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति छ। सहभागीहरूले आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकता कायम राख्न अपिल गर्दै प्लेकार्डहरू प्रदर्शन गरेका छन्।
सद्भाव र्यालीलाई सम्बोधन गर्दै रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले भन्नुभयो, “सबै पक्षलाई संयमित र जिम्मेवार व्यवहार गर्न र शान्ति सुरक्षा कायम गर्न सहयोग गर्न म आग्रह गर्दछु ।”
कर्फ्यु हटाइए पनि प्रशासनले सम्भावित उत्तेजनालाई ध्यान दिँदै उच्च सतर्कता अपनाएको छ। प्रमुख जिल्ला अधिकारी भुसालले कुनै पनि प्रकारका अफवाह र उत्तेजनात्मक गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई सचेत गराए।
अहिले गौर क्षेत्रको अवस्था क्रमशः सामान्य बन्दै गएको छ। सुरक्षाकर्मीहरूको परिचालन भने कायमै राखिएको प्रशासनले जनाएको छ।
यो पनि: वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु
Shares

प्रतिक्रिया