नेपाल पत्रकार महासंघले निर्वाचनको समयमा सम्प्रेषण हुनसक्ने मिथ्या सूचनाप्रति ख्याल गर्न सञ्चार माध्यमहरूसँग आग्रह गरेको छ।
निर्वाचनका बेला मिथ्या सूचनाबाट मतदातालाई प्रभावित पार्ने सम्भावना रहने भएकाले पत्रकारिताको सिद्धान्त र पत्रकार आचारसंहिताप्रति विशेष ध्यान दिन महासंघ आमसञ्चारमाध्यम र पत्रकारलाई आग्रह गरेको हो।
‘पत्रकारिताको सिद्धान्त र आचारसंहिताको पालना गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उपभोग गरी स्वस्थ, स्वतन्त्र, धाँधलीरहित शान्तिपूर्ण निर्वाचन सम्पन्न हुने वातावरण निर्माणमा आमसञ्चारमाध्यम र पत्रकारहरूको अहम् भूमिका रहनेमा सन्देह छैन’ महासंघले आज विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘यसतर्फ समग्र सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको र गर्दैआएको सर्वविदितै छ।’
महासंघले निर्वाचनको नतिजा आकलन गरेर प्रकाशित समाचार निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता विपरित रहेको भनी आएका टिप्पणीहरूप्रति ध्यानाकर्षण भएको जनाएको छ।
समग्र सञ्चारमाध्यम र सञ्चारकर्मीहरूलाई निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै आफ्ना सामग्रीहरू प्रकाशन र प्रसारण गर्न पनि महासचिव रामप्रसाद दाहालले आग्रह गरेका छन्।
Shares

प्रतिक्रिया