समाज


निर्वाचनमा सेनाले ३ हजार बढी पेस्तोल प्रहरीलाई दिने

निर्वाचनमा सेनाले ३ हजार बढी पेस्तोल प्रहरीलाई दिने

नेपालखबर
माघ १९, २०८२ सोमबार १७:२९, काठमाडौँ

नेपाली सेनाले फागुन २१ गते हुने निर्वाचनका लागि नेपाल प्रहरीलाई ३ हजार बढी साना हतियार (पेस्तोल) उपलब्ध गराउने भएको छ।

यसअघिका निर्वाचनमा जस्तै यसपटक पनि नेपाल प्रहरीले आफूसँग अपुग रहेका साना हतियार नेपाली सेनासँग सापट (फिर्ता गर्ने गरी) माग गरेको थियो। 

नेपाल प्रहरीले माग गरे बमोजिम हतियार उपलब्ध गराउने निर्णय भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताए।

‘हामीले यसअघिका निर्वाचनमा पनि साना हतियार उपलब्ध गराउँदै आएका थियौँ। यसपटक पनि मागबमोजिम नै उपलब्ध गराउँछौँ’, प्रवक्ता बस्नेतले नेपालखबरसँग भने। 

स्रोतका अनुसार नेपाल प्रहरीले ३ हजार बढी पेस्तोले नेपाली सेनासँग माग गरेको छ। प्रत्येक मतदान केन्द्रमा खटिने मुख्य कमाण्डरले पेस्तोल बोक्छन्।

देशभरका १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ वटा मतदान केन्द्र रहेका छन्। हरेक मतदान केन्द्रमा छुट्टा छुट्टै कमाण्डर खटिन्छन्। यी मतदान केन्द्रमा खटिने कमाण्डरका लागि पेस्तोल अपुग भएपछि सेनासँग माग गरिएको हो। 

नेपाल प्रहरीका प्रवक्ता डीआईजी अविनारायण काफ्लेले प्रहरीसँग मौजदाद रहेका हतियार अपुग हुने भएकाले सेनासँग माग गरिएको बताए। यसरी निर्वाचनका लागि लिएका हतियार नेपाल प्रहरीले निर्वाचन सम्पन्न भएपछि नेपाली सेनालाई नै फिर्ता गर्छ। 

निर्वाचनमा खटिने मुख्य कमाण्डरबाहेकले भने ठूला हतियार बोक्छन्। त्यस्ता हतियार भने प्रहरीसँगै छन्। बाहिरि सुरक्षामा सशस्त्र प्रहरी र नेपाली सेना पनि खटिन्छन्।

जेनजी आन्दोलनका क्रममा लुटपाट भएका प्रहरीका हतियार पनि सबै फिर्ता भइसकेका छैनन्। जसले प्रहरीलाई अपुग हतियारको संख्या यसअघि भन्दा थप भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad