नेपालमा पहिलोपटक कम उमेरकालाई समेत कोरोना संक्रमण देखिएको छ।
आइतबार दिउँसो नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालगन्जमा ७ वर्षाका समेत कोरोना संक्रमण देखिएकाे जानकारी दिएका हुन्।
नेपालगन्जमा आइतबार ९ जनामा मात्र कोरोना संक्रमण देखिएका बेला प्रवक्ता देवकोटाले भने, ‘नेपालगन्जमा आज देखिएका ९ जनामा ५ पुरुष र ४ महिला छन्, तिनमा ७ देखि ५८ वर्षका छन्।’
तर त्यसपछि पनि आजै (आइतबार) त्यहाँ थप ६ जनामा काेराेना संक्रमण पुष्टि भइसकेकाे छ। याेसमेत गरेर आज एकै दिन नेपालगन्जमा १५ जना काेराेना संक्रमित भेटिएका छन्।
आजै वीरगन्जमा भेटिएका ३६ वर्षीय काेराेना संक्रमित पुरुष गरेर नेपालमा संक्रमितकाे संख्या ७५ पुगेकाे मन्त्रालयले जनाएकाे छ।
आइतबार नेपालगन्जमा भेटिएका ७ वर्षका संक्रमित बालक हुन् कि बालिका भन्नेचाहिँ मन्त्रालयका प्रवक्ताले खुलाएनन्। यसअघि सबैभन्दा कम उमेरकोमा कोरोना संक्रमण देखिएका व्यक्ति जनकपुरका १४ वर्षीय बालक हुन्।
अध्ययनले कोरोना संक्रमण बढी पाका उमेरकालाई भने पनि विश्वमा साना उमेरकालाई पनि फाट्टफुट्ट यो देखिएको छ। तर नेपालमा देखिएको यो पहिलो घटना हो।
नेपालमा अहिलेसम्म सबैभन्दा पाको उमेरमा संक्रमण देखिएको चाहिँ काठमाडौं पेप्सीकोलाकी ८१ वर्षीया वृद्धालाई हो, जो उपचारपछि निको भइसकेकी छन्।

प्रतिक्रिया