ad ad

समाज


नेपालमा प्रेस स्वतन्त्रताको अवस्था कमजोर : पत्रकार महासंघ

नेपालमा प्रेस स्वतन्त्रताको अवस्था कमजोर : पत्रकार महासंघ

नेपालखबर
बैशाख २१, २०७७ आइतबार ३:१७,

आज विश्व प्रेस स्वतन्त्रता दिवस। सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा हरेक वर्ष मे ३ का दिन विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँन थालिएको हो।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा यस वर्ष ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने नारा तय गरिएको छ।

नेपालमा यस वर्ष कोरोना प्रभावका कारण भौतिकरुपमा प्रत्यक्ष सहभागी भई खुल्ला कार्यक्रम आयोजना गर्ने अवस्था नरहे पनि प्रेस स्वतन्त्रताका सवालमा डिजिटल संवाद, छलफल तथा संचार माध्यममा सामग्री प्रकाशन गरी यो दिवस मनाइँदैछ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षको प्रमुख आतिथ्यतामा ‘प्रेस स्वतन्त्रता र भय तथा पक्षधरतामुक्त पत्रकारिता’ शिर्षकमा आइतबार दिउँसो १ बजे विशेष डिजीटल संवाद कार्यक्रम आयोजना गर्दैछ।

सोही अवसरमा दक्षिण एशियाको प्रेस स्वतन्त्रता अवस्था वारे अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) को अनुगमन प्रतिवेदन सार्वजनिक पत्रकार महासंघले जनाएको छ। यसैगरी पत्रकार महासंघका प्रदेश समिति र शाखाहरुको आयोजनामा देशभर विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ।

दिवसका अवसरमा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले आइतबार शुभकामना सन्देश जारी गरेका छन्।

सन्देशमा प्रेस स्वतन्त्रताको लागि जीवन उत्सर्ग गर्ने तथा बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरिएको छ।

‘यस अवसरमा म नेपाल र विश्वमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निम्ति जीवन वलिदान गर्नुहुने तथा वेपत्ता पारिनुभएका योद्धाहरूप्रति श्रद्धा व्यक्त गर्दै प्रेस स्वतन्त्रताका पक्षमा अविराम संघर्ष गर्नुहुने सबै महानुभावहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु,’ सन्देशमा भनिएको छ, ‘यस अवसरमा म सम्पूर्ण पत्रकार एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधर सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।’

०७६ मा पनि नेपालमा प्रेस स्वतन्त्रता हनन्का घटना भएका अध्यक्ष आचार्यको सन्देशमा उल्लेख गरिएको छ।

संसदमा सरकारले दर्ता गरेका प्रेस सम्वन्धी विद्येयकमा प्रेस स्वतन्त्रताको आधारभूत मूल्य र मान्यतामै प्रहार गरिएपछि त्यसलाई सच्चाउन महासंघले दवावमूलक पहलकदमी जारी राखेको भन्दै सन्देशमा भनिएको छ, ‘संसदले ती कानूनलाई अझै अन्तिमरुप दिन बाँकी रहेकाले यस प्रकारको दवाव अझै जारी राख्नु पर्ने अवस्था छ।’

०७६ सालमा नेपालमा प्रेस स्वतन्त्रताको अवस्था अझ खस्किएको पाइएको छ। नेपाल पत्रकार महासंघका अनुसार ०७६ सालमा प्रेस स्वतन्त्रता हननका ६० वटा घटना भएका र यी घटनामा ९४ पत्रकार तथा तीनवटा सञ्चार संस्था पीडित भएका छन्।

महासंघको सञ्चार अनुगमन इकाईको अभिलेख अनुसार पत्रकार गिरफ्तारका ८ वटा, स्वतन्त्र पत्रकारितामा अवरोध तथा कब्जाका ३ वटा, पत्रकारमाथि आक्रमणका १३ वटा, दुर्व्यवहार तथा धम्कीका ३२ वटा, पत्रकार पेशाबाट विस्थापनको एउटा र पेशागत असुरक्षाका तीनवटा घटना भएका छन्।

२०७५ सालमा पनि प्रेस स्वतन्तत्रा हननका ६० वटा घटना भएकामा ७७ जना पत्रकार र ५ सञ्चारसंस्था पीडित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .