मधेसमा उमेर नपुगी विवाह हुनेको सङ्ख्या अझै विकराल रहेको एक अध्ययनले देखाएको छ।
बालविवाह विरुद्धको कानून र यससँग जोडिएका अभियान सञ्चालनमा रहे पनि यो समस्या मधेसमा अझै रहेको तथ्याङ्कले देखाएको छ। २०७८ सालको राष्ट्रिय जनगणना अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथली काठमाडौंले हालै प्रकाशित गरेको तथ्याङ्कमा मधेसमा अझै १० वर्ष नपुग्दै विवाह हुने पनि पाइएको उल्लेख छ। यद्यपि यस्तो सङ्ख्या ०.२ प्रतिशत मात्र छ।
त्यसैगरी १० देखि १४ वर्षभित्र विवाह हुने ९.३ प्रतिशत र १५ देखि १७ वर्षभित्र विवाह हुने २७.७ प्रतिशत रहेको छन्। त्यस्तै, १८ देखि २० वर्षमुनिका ३९.५ प्रतिशतको विवाह हुने गरेको तथ्याङ्कमा उल्लेख छ। यो १८ देखि २० वर्ष उमेर समूहभित्र पुरुषको उमेर सालाखाला २० वर्ष देखिए पनि महिलाको भने १७ वर्षको हाराहारीमै विहे हुने गरेको पाइएको छ।
मधेसमा १८ वर्ष नपुग्दै विवाह गर्ने महिलाको सङ्ख्या ४२.४ प्रतिशत छ। यो सङ्ख्या महोत्तरीमा अझ बढी ४३.३ प्रतिशत रहेको बालविवाहविरुद्ध सामाजिक अभियानमा विभिन्न सामाजिक सङ्घसंस्थासँग सहकार्य गर्दै आएको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेन बर्दिबास कार्यालयका सञ्चार अधिकृत झम्केश्वर ओझाले बताए।
मधेसमा पहिलो विवाहको औसत उमेर १८ वर्ष देखिन्छ। जसमा पुरुषको २० वर्ष र महिलाको १७ वर्ष रहेको तथ्याङ्कमा उल्लेख छ। यो उमेर समूहभित्रको विवाहमा पुरुषभन्दा महिला बढी देखिएका छन्। यस्तै २१ देखि २४ वर्ष उमेरभित्र विवाह हुने मधेसमा १४.५ प्रतिशत छन्।
यद्यपि तथ्याङ्कमा उल्लेख यो अवस्थामा २०७८ सालको जनगणनायता निकै सुधार भएको जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमारलाल कर्णले बताए। ‘हामीकहाँ बालविवाह अझै सामाजिक समस्याको रूपमा छँदै छ, यद्यपि २०७८ सालयता यसमा निकै सुधार भएको छ,’ कर्णले भने, ‘यसबीचमा बालविवाह विरुद्धका सामाजिक अभियानको निरन्तरताले अवस्थामा निकै सुधार आएको छ।’
जिल्लाका १५ मध्ये सात स्थानीय तहले विभिन्न सामाजिक सङ्घ संस्थासँगको साझेदारीमा बालविवाह विरुद्धको अभियानलाई निरन्तरता दिएपछि सुधार आएको कर्णको भनाइ छ।
त्यसैगरी, मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले २०७८ सालसम्म विकराल सामाजिक समस्या रहेको बालविवाह अब आफ्नो नगर क्षेत्रमा करिब शून्यमा झारिएको बताए। ‘हामीले त्यसयता बर्सेनि विवरण सङ्कलन, छोरी शिक्षा कार्यक्रम र किशोरी शिक्षासँगसँगै बालविवाह विरुद्ध बस्तीबस्तीमा अभियान टोली सञ्चालन गरेपछि यसको सकारात्मक परिणाम आएको छ,’ मण्डलले भने, ‘यो वर्ष बालविवाहका घटना देखिएका छैनन्।’
बालविवाहको अवस्था विकराल देखिएपछि मधेस प्रदेश सरकारले २०७८ सालमै सन् २०३० सम्म प्रदेशलाई बालविवाह मुक्त बनाउन १० वर्षको रणनीतिक योजना अघि बढाएको थियो। यसअघि प्रदेश बालअधिकार ऐन २०७७, सारभूत लैङ्गिक समानता नीति २०७८, बाल सहभागितासम्बन्धी कार्यविधि २०७८, बालिका सशक्तीकरण तथा संरक्षण ऐन २०८१ र सरकारको ‘बेटी बचाउ, बेटी पढाउ’ अभियानले पनि बालविवाहलाई दुरुत्साहन गर्दा पछिल्ला वर्षहरूमा उत्साहजनक सुधार हुँदै आएको जिल्ला समन्यव समितिका प्रमुख कर्णको भनाइ छ। (रासस)
Shares

प्रतिक्रिया