यही भदौ २३ र २४ को जेनजीहरूको प्रदर्शनपछि ‘गोफन्डमी’ प्लेटफर्ममार्फत चन्दा उठाउने क्रम बढेको छ।
भ्रष्टाचार, अनियमिततालगायतका विकृतिविरुद्ध शान्तिपूर्ण प्रदर्शन हुँदा घुसपैठ र सरकारी दमनपछि व्यापक जनधनको क्षति भएसँगै नेपाली मात्रै नभई विदेशीहरूले समेत नेपालका तोडफोड र आगजनीका तस्बिरहरु राखेर रकम उठाउने क्रम बढेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आइतबारसम्म प्रदर्शनमा मृत्यु हुने संख्या ७२ पुगिसकेको छ। अझै सयौँ घाइतेको उपचार जारी छ। कयौँ भौतिक संरचनाहरुमा पनि क्षति पुगेको छ।
घाइतेहरूको उपचारदेखि निजी घर बनाउने भनेर समेत गोफन्डबाट रकम उठाउँदै गरेको देखिन्छ। चन्दा माग्नेहरुले चिकित्सा सेवा र आपूर्ति पुर्याउन, मृतकका परिवारलाई आर्थिक सहयोग गर्न र भ्रष्टाचारविरुद्ध लड्न रकम आवश्यक परेको भनेर लेखेका छन्।
आइतबार साँझसम्मको विवरणअनुसार प्लेटफर्ममा १०० भन्दा धेरैले बेग्लाबेग्लै कोष खडा गरेका छन्।
आभास बमजन र मञ्जिल लामिछानेका नामबाट खोलिएको कोषमा ३ लाख ३८ हजार १३१ अस्ट्रेलियन डलर अर्थात् ३ करोड १७ लाख रुपैयाँ जम्मा भइसकेको छ। उनीहरुले ४ लाख ६० हजार अस्ट्रेलियन डलर अर्थात् ४ करोड ३१ लाख रुपैयाँ उठाउने लक्ष्य राखेका छन्।
आभासले रकम माग गर्दै गोफन्डमीको सन्देशमा लेखेका छन्, ‘जेन्जी आन्दोलनमा दुर्घटनामा पर्नेको संख्या द्रुत गतिमा बढ्दै गइरहेकोले सार्वजनिक अस्पताल र आपत्कालीन सेवाहरू धेरै चाहिएको छ। हामीले तुरुन्तै कुनै प्रकारको मद्दत–बचत चिकित्सा सहायता, आपूर्ति र समर्थन आदि प्रदान गर्न आर्थिक सहयोग जुटाऔँ, हरेक योगदानले फरक फरक परिणाम दिन सक्छ।’
अस्ट्रेलियामा बस्ने हिरोसी खनालले खोलेको अर्को कोषमा मात्रै आइतबार राति ११ बजेसम्म १ लाख ६५ हजार ६६५ अस्ट्रेलियन डलर उठाइसकेका छन्। उनले २ लाख १० हजार अस्ट्रेलियन डलर उठाउने लक्ष्य राखेका छन्।
नेपालीमा हिसाब गर्दा उनले एक करोड ५५ लाखभन्दा बढी उठाइसकेका छन्। उनले करिब २ करोड उठाउने भएका छन्।
उनले यो रकमको ५० प्रतिशत जेनजी आन्दोलनका क्रममा मृतकका परिवारलाई दिने भनेका छन्।
‘उनीहरूलाई अकल्पनीय भावनात्मक पीडा मात्र नभई हाल आर्थिक सहयोगको पनि उत्तिकै आवश्यक छ। त्यसैले आर्थिक सहयोग गरौँ,’ उनले भनेकी छन्। हिरोसीको कोषमा हालसम्म १ लाख ६४ हजार २१ अस्ट्रेलियन डलर संकलन भइसकेको छ। उक्त रकम १९९ जनाले दिएको देखिन्छ।
अमेरिकामा रहेको युनाइटेड नेप्लिज एसोसिएसनले ३० लाख २८ हजार रुपैयाँ उठाइसकेको छ। उसले १ करोड ४१ लाख रुपैयाँ संकलन गर्ने लक्ष्यका साथ अभियान चलाइरहेको छ। यस संस्थाले आफ्नो कुलमान घिसिङदेखि ज्ञानेन्द्र शाहीसम्मका तस्बिर वेबसाइटमा राखेको छ।
युएस कलेजियट कोलिसन अफ नेप्लिज स्टुडेन्ट एसोसिएसनले ३५ लाख ६७ हजार रुपैयाँबराबरको रकम प्राप्त गरेका छन्। त्यस्तै बेलायतबाट नेपाल बिजनेस डाइरेक्ट्रीको खातामा २८ लाख जम्मा भइसकेको छ।
यसरी उक्त प्लेटफर्ममा कोष खडा गर्ने र दान गर्ने धेरै छन्।
विदेशमा रहेका नेपालीहरुले यसरी खोलिएका कोषहरुमा मन खोलेर सहयोग गरिरहेको देखिएको छ। खासगरी भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा युवाहरुले ज्यान गुमाएको र उनीहरूलाई चाँडो सहयोग आवश्यक परेकाले आर्थिक सहयोग गर्न यस्ता कोषहरुमा आह्वान गरिएका छन्।
गोफन्डमी कोषमा कति रकम संकलन गर्ने भनेर एउटा लक्ष्य राखिएको हुन्छ। रकम संकलन भइसकेपछि उक्त कोष गोफन्डमीबाट हटाउन पनि सकिन्छ।
गोफन्डमी मात्र होइन, कतिपयले निजी मर्चेन्ट खाताको क्युआर राखेर पनि पैसा उठाइरहेका छन्। सुदन गुरुङ अध्यक्ष रहेको र हाल जेनजी आन्दोलनका क्रममा राहत र उद्धारमा स्वयं सेवक परिचालन गरेको संस्था ‘हामी नेपाल’का अनुसार मिल्दोजुल्दो नाम राखेर यसरी पैसा उठाउने र ठग्ने क्रम पनि बढेको छ।
हामी नेपालले यस आन्दोलनका नाममा रकम उठाउने काम नगरेको र कसैले यो नाम जोडेर सहयोग मागेमा नदिन, रकम संकलन र सहयोग नगर्न अनुरोध गरिरहेको छ। उसले सामाजिक सञ्जालमा लेखिरहेको छ, ‘कसैले हाम्रो तर्फबाट चन्दा माग गरेमा त्यो सोझै ठगी हो। तिनीहरुलाई पैसा नदिनू। हामीलाई पनि नदिनू। नगद, गिफ्ट कार्ड वा क्रिप्टोकरेन्सी केही पनि नदिनू।’
हामी नेपालका एक स्वयंसेवक भन्छन्, ‘अहिले जसरी रकम उठाइँदै छ, त्यसको पारदर्शिताका विषयमा सरकारले पनि नियमन गर्नुपर्ने देखिन्छ। यस्ता कार्यले वास्तविक लक्षित वर्गसम्म रकम पुगेको छ कि छैन, विदेशमा देशको छविमा के कस्तो असर गरेको छ भनेर पनि हेर्न जरूरी छ।’
उनका अनुसार, कतिपयले हामी नेपालका नाममा अर्कै व्यक्तिले रकम संकलन गरिरहेको पनि पाइएको छ। चन्दादाताले नै विभिन्न खातामा रकम पठाएको भनेर रसिदै देखाउन थालेपछि यसरी चन्दा नदिन अपिल गरिएको हो।
के हो गोफन्डमी?
गोफन्डमी एक अमेरिकी प्लेटफर्म हो। यसमा कुनै व्यक्ति, समुदाय र संस्थालाई विभिन्न कामहरूका लागि सहज रुपमा रकम जुटाउन सकिन्छ।
तर नेपाल यसमा समर्थित देश नभएकाले यसको सेवा प्रत्यक्ष उपलब्ध छैन। विदेशमा रहेका व्यक्तिले रकम संकलन गरेर जम्मा भएको रकम नेपाल पठाउन भने सक्छन्।
यसरी रकम सङ्कलन गर्दा विदेशमा रहेको व्यक्तिले नेपालका लागि अभियान चलाउँछन्। उक्त रकम कसरी नेपालमा पठाउने र कसरी खर्च गरिनेछ भनेर स्पष्ट रुपमा कोषमा नै उल्लेख गरिएको हुन्छ।
यसका साथै नेपालमा काम गर्ने अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्थाहरुले गोफन्डमीमा कोष सङ्कलन अभियान चलाएर पनि रकमलाई नेपाल ल्याउन सक्छन्। यस्ता कोषहरु २०७२ को भूकम्प र त्यसपछिको कोभिड–१९ महामारीको समयमा पनि धेरै खुलेका थिए।
Shares

प्रतिक्रिया