समाज


कोरोना भाइरस जीव कि निर्जीव? यसाे भन्छन् विज्ञ

कोरोना भाइरस जीव कि निर्जीव? यसाे भन्छन् विज्ञ

नेपालखबर
बैशाख ८, २०७७ सोमबार ५:७,

प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग गत चैत २९ गते भिडियो संवाद (कन्फ्रेन्स) गर्ने क्रममा कोरोना भाइरसका सन्दर्भमा जे बोले, त्यसले सामाजिक सञ्जालमा निकै चर्चा पायो।

तीमध्ये एउटा हो- भाइरस भनेको निर्जीव तत्व हो।

उसो त यस विषयमा वैज्ञानिकबीच नै एकमत देखिँदैन। इन्टरनेसनल जर्नल अफ करेन्ट माइक्रोबायोलोजी एन्ड अप्लाइड साइन्समा प्रकाशित लेखमा यसलाई जीवितको संज्ञा दिइएको छ भने अमेरिकाको नेसनल लाइब्रेरी अफ मेडिसिन नेसनल इन्स्टिचियुटस अफ हेल्थमा प्रकाशित लेखमा कोरोना निर्जीव तत्व हुन सक्ने दाबी गरिएको छ।

उसो भए वास्तवमा कोरोना भाइरस जीव हो कि निर्जीव?

नेपाली मूलका क्यानेडियन खाद्य तथा औषधि-विज्ञ नारायण घिमिरेका अनुसार भाइरसलाई जीव भन्न सकिँदैन। यो सक्रिय छ कि निष्क्रिय छ भन्ने मात्र हो। उनको तर्क छ- ‘कोरोना भाइरसको आकार ८० देखि १६० न्यानोमिटरसम्म भेटिएको छ। तसर्थ भौतिक विज्ञानको हिसाबमा सम्पूर्ण भाइरस विशुद्ध न्यानोपार्टिकल हो।’

भाइरस जीवित वस्तु नभएकाले यसले आफ्नो आरएनए आफैंले फोटोकपी गरी आफ्नो संख्या वृद्धि गर्न नसक्ने उनकाे दाबी छ। नेपालको एक राष्ट्रिय दैनिकमा उनी लेख्छन्- आफ्नो संख्या वृद्धि गर्न भाइरसलाई होस्ट सेल वा अर्काको सहयोग चाहिन्छ। भाइरसको शरीर वा पार्टिकल आरएनए, प्रोटिन र चिल्लो पदार्थबाट बनेको हुन्छ। प्रोटिनसँग मिलेर बसेको आरएनएलाई बाहिरबाट चिल्लो पदार्थले घेरेर भाइरसको शरीर बनेको हुन्छ। चिल्लो पदार्थलाई लिपिड भनिन्छ। जसकाे मुख्य काम भाइरसको सुरक्षा गर्नु हो।

खाद्य तथा औषधि-विज्ञ घिमिरेका अनुसार भाइरसकाे प्रोटिनले मानिसको कोशिकाको झिल्ली दुलो पारेर उसलाई भित्र पुर्‍याउँछ। मानिसको जीवित सेलभित्र प्रवेश पाउनासाथ भाइरसको आरएनएले मानव कोशिकाको मेसिनरी ह्याक गर्छ वा आफ्नो नियन्त्रणमा लिन्छ। ह्याक भएको मानव कोशिकाको मेसेन्जर सिस्टमले भाइरसको आरएनएबाट प्राप्त हुने निर्देशनअनुरूप सेलभित्र भाइरसको आरएनए र प्रोटिन बनाउन थाल्छ।

उनका अनुसार मानिसको आफ्नै सेलले बनाएको भाइरसको आरएनए र प्रोटिनलाई भाइरसको आरएनएको निर्देशनअनुरूप मानव सेलभित्र हुने लिपिडले घेरेर मानिसको आफ्नै सेलले नयाँ ताजा भाइरस तयार पारिदिन्छ।

तर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागरराज भण्डारी भाइरस भनेको निर्जीव हुन नसक्ने तर्क गर्छन्। उनी भन्छन्, ‘जसले आफ्नो संख्या वृद्धि गर्छ, ऊ कसरी निर्जीव हुन सक्छ?’

साेमबार बिहान नेपालखबरसँगको कुराकानीमा उनले भने, ‘जब कोरोनाले चारबाट आठ, आठबाट १६ गरेर आफ्नो संख्या बढाउँछ भने त्यसलाई निर्जीव कसरी मान्ने?’

उता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डे भने नेपालमा भाइरसको ‘कल्चर’ जाँच्ने प्रविधि नभएकाले कोरोना जीव हो कि निर्जीव भनेर भन्न नसिकने बताउँछन्।

अन्तर्राष्ट्रिय अनुसन्धानले चाहिँ के भनेको छ त? साेमबार बिहान नेपालखबरले राखेकाे प्रश्नमा उनले भने, ‘उनीहरूले त सजीव नै भनेका छन् क्यारे। त्यो कुरा हाम्रो सन्दर्भमा लागू हुन सक्दैन।’ 

यसको अर्थ उनले यस विषयमा प्रस्ट बताउन सकेनन् अथवा चाहेनन्।

कोरोना कसरी पखाल्न सकिन्छ?
कोरोना महामारी नियन्त्रणबारे मुख्मन्त्रीसँग भिडियो छलफल गर्ने क्रममा प्रधानमन्त्री ओलीले भनेको अर्काे कुरा हो– तातो पानीले हात धुने, मनतातो पानीले धुने। यो ठूलो विधि हो। भाइरस छ भने तातो पानीले हात धुनेबित्तिकै त्यसको बाहिरी लेयरमा बोसो हुन्छ, त्यो त निर्जीव हो। मर्ने हैन, त्यो समाप्त हुन्छ।’

तर वैज्ञानिकले कोरोना पखाल्न पानीसँगै साबुन अनिवार्य भनेका छन्। साबुन पानीले कम्तीमा २० सेकेन्ड मिचीमिची हात धुनुपर्ने उनीहरूको सुझाव छ।

अस्ट्रेलियाका रसायनशास्त्रका प्राध्यापक पली थोर्डर्सनले साबुनले हात धुँदा घर भत्काउने कामदारले भवन भत्काउँदाझैं भाइरसविरुद्ध काम गर्ने बताएका छन्। क्यानेडियन खाद्य तथा औषधि-विज्ञ नारायण घिमिरे पनि कोरोना भाइरस पखाल्न साबुन अनिवार्य हुने बताउँछन्।

घिमिरेका अनुसार भाइरसको शरीरमा आरएनए, प्रोटिन र चिल्लो पदार्थ आपसमा फस्नर जस्तो गरी बलियोसँग टाँसिएर बसेका हुन्छन्। कोरोनाको शरीरको सबैभन्दा कमजोर भाग भनेकाे सबैभन्दा बाहिरको लिपिड निर्मित दुई पत्रमा रहेको झिल्ली हो। जब बाहिरी लिपिडको झिल्ली कुनै तरिकाबाट हटाउन सकिन्छ, आरएनए र प्रोटिन स्वतः छुट्टिन पुग्छ र कोरोना भाइरस निष्क्रिय बन्छ।

यसर्थ भाइरसको प्रोटिन र आरएनएसँग लिपिडभन्दा राम्रोसँग टाँसिने गुणले गर्दा साबुन पानीले भाइरसको लिपिडलाई भाइरसबाट हटाइदिन्छ र पानीमा घुलाइदिन्छ। खाद्य तथा औषधिविज्ञ घिमिरे लेख्छन्, ‘साबुनले घेरिएको भाइरसको प्रोटिन र आरएनए पहिले जस्तो एकापसमा टाँसिएर सक्रिय रहन सक्दैन। छालासँग भन्दा साबुनसँग भाइरस राम्ररी टाँसिने गुणले गर्दा छालामा मिहीन रूपमा टाँसिएको भाइरस छालाबाट छुट्टिन पुग्छ। भाइरसको आरएनए र प्रोटिनलाई घेरेर राख्ने लिपिड साबुन पानीमा घोलिन पुग्दा आरएनए र प्रोटिन छुट्टिन पुग्छ। लिपिडबिनाको भाइरसको शरीरको गाँठो खुस्किएर चकनाचुर हुन्छ र भाइरस निष्क्रिय हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .