समाज


काठमाडौँ प्रवेश गर्ने मुख्य राजमार्ग पहिरोले अवरुद्ध

मध्यपहाडी लोकमार्ग, रिडी-वामीटक्सार सडक र रिडी‐खञ्ज्याङ सडकमा पनि पहिरो
काठमाडौँ प्रवेश गर्ने मुख्य राजमार्ग पहिरोले अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
साउन २३, २०८२ शुक्रबार १०:१७, काठमाडौँ

काठमाडौँ प्रवेश गर्ने मुख्य राजमार्ग पहिरोले अवरुद्ध अवरुद्ध भएकाे छ। धादिङको गल्छी गाउँपालिका–६ जरेखेतमा पहिरो जाँदा काठमाडाैँ प्रवेश गर्ने पृथ्वीराजमार्ग अवरुद्ध बनेको हाे।

रूखसहितको पहिरो खसेपछि शुक्रबार बिहानदेखि याे सडक खण्ड दुईतर्फी नै अवरुद्ध भएकाे प्रहरीले जनाएकाे छ। पहिरो पन्छाउन उपकरणसहित सुरक्षाकर्मी परिचालन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए।

पहिरोका कारण काठमाडौँ जाने सवारीसाधन गजुरी र काठमाडौँबाट मुग्लिनतर्फ आउने सवारीसाधन आदमघाट क्षेत्रमा रोकिएका छन्। लगातारको वर्षासँगै राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने जोखिम उच्च रहेकाले सतर्क रहन चालक र यात्रुलाई आग्रह गरिएको प्रहरीले जनाएकाे छ।

पहिराेले सडक अवरुद्ध हुँदा यात्रुहरू बीच बाटाेमै राेकिएका छन्। 

यसैबीच बागलुङकाे बडिगाड गाउँपालिका–२ खर्बाङमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध बनेकाे छ।

मध्यपहाडी लोकमार्गअन्तर्गत पहिराेले बागलुङ–बुर्तिबाङ सडक खण्ड अवरुद्ध भएको हाे। आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए।

सडक अवरुद्ध हुँदा पश्चिम बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, गुल्मी र पश्चिम बागलुङदेखि पोखरा, काठमाडौँलगायतका स्थानमा जाने आउने सवारी साधन रोकिएका छन्। निरन्तर वर्षा भइरहेकाले सडक खुलाउन नसकिएको प्रहरी निरिक्षक थापाले बताए।

त्यसैगरि अविरल वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडक पनि अवरुद्ध बनेको छ। सो सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा बाढी आएपछि आज बिहानदेखि पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए।
     
डहरेमा  लेदोसहितको बाढी आएपछि सडक पूर्ण रुपमा अवरुद्ध हुँदा त्यस क्षेत्रबाट रिडी हुँदै बागलुङको बुर्तिवाङसम्म आवतजावत गर्ने सवारीसाधन रोकिएका छन्। सवारी सञ्चालन गर्न जोहाङ्ग खैरेनीबाट प्रहरी टोली परिचालन गरिएको तर पानी परिरहेको र वर्षा नरोकिएका कारण कठिन भइरहेकाे छ। उक्त खोलाले तीन दिनअघि एउटा कार बगाएको थियो।
      
त्यसैगरी सुक्खा पहिरोका कारण रिडी‐खञ्ज्याङ सडक पनि अवरुद्ध बनेको छ। उक्त सडकखण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका‐१ स्थित साँखरमा  पहिरो खसेपछि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको हो। वर्षाका कारण कालीगण्डकी र बडिगाड खोलामा पनि सतह बढेको छ। 
       
जिल्ला प्रशासन कार्यालयले बर्सातको समयमा तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा बस्न गर्न आग्रह गरेको छ। गुल्मीमा २०० भन्दा बढी स्थान बाढी पहिरोको उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad