समाज


कान्ति बाल अस्पतालको बेहाल : पेट दुखेर रोइरहेका बच्चाको अल्ट्रासाउन्ड गर्न १० दिनपछिको म्याद

कान्ति बाल अस्पतालको बेहाल : पेट दुखेर रोइरहेका बच्चाको अल्ट्रासाउन्ड गर्न १० दिनपछिको म्याद

प्रज्ञा तिम्सिना
साउन १४, २०८२ बुधबार १९:५८, काठमाडौँ

काठमाडौँको स्वयम्भू बस्ने भवानी भण्डारी छोरालाई पेट दुख्न थालेपछि कान्ति बाल अस्पताल लिएर आइन्। तीन वर्षको छोरा पेट दुखेर रोइरहेका थिए।

ओपीडीमा चिकित्सकलाई देखाइन्। चिकित्सकले पेटमा के भएको छ पत्ता लगाउन अल्ट्रासाउन्ड गरेर हेर्नु पर्ने बताए। 

भवानी छोरालाई पिठ्युँमा बोकेर अल्ट्रासाउन्ड गराउने टिकट काट्ने लाइनमा बसिन्। 

साउन १३ गते अस्पताल गएकी भवानीलाई अल्ट्रासाउन्डका लागि कर्मचारीले साउन २२ गतेको डेट दिए। 

कर्मचारीले भने, ‘साउन २२ गते आउनु है, त्यो भन्दाअघिको पालो छैन।’

पेट दुखेर अस्पताल ल्याएको छोरालाई १० दिनपछि मात्र अल्ट्रासाउन्ड गर्ने पालो दिएपछि भवानी रुनु न हाँस्नु भइन्।

‘डाक्टरले अल्ट्रासाउन्ड गरेपछि पेटमा के भएको छ भनेर पत्ता लाग्छ भन्नु भएको छ, अब १० दिन के गर्नु?’ उनले भनिन्।

तर, कर्मचारीले उनको कुरा सुनेको नसुन्यै गरे।

आज आएका कसैको पनि अल्ट्रासाउन्ड गर्नु हुँदैन भन्ने नेपालखबरको प्रश्नमा कर्मचारीले हाँस्दै जवाफ दिए, ‘आज आएका सबैको साउन २१ र २२ गते मात्र हुन्छ। साउन ४/५ गते आएका बिरामीको मात्र हुन्छ। आकस्मिक गर्नुपर्ने बिरामी छन् भने आज नै हुन्छ, नत्र अरु सबैको १ सातापछि मात्र पालो आउँछ।’

‘रेडियोलोजिस्ट नहुँदा गत फागुनदेखि नै अल्ट्रासाउन्डका लागि पालो पर्खनु परिरहेको छ,’ उनले भने।

१७ महिनाको छोरी लिएर बर्दियादेखि आएका वसन्त अधिकारी (नाम परिवर्तन) अल्ट्रासाउन्ड गराउन नपाएपछि फर्खिए। 

‘छोरी रुन थालेपछि बर्दियादेखि अस्पताल लिएर आएको, डाक्टरले अल्ट्रासाउन्ड गरेर आउनुहोस् भनेर पठाउनु भयो। तर साउन २१ गते मात्र हुन्छ भनेर पठाउनु भयो। अब १० दिन कहाँ गएर बस्नु,’ बसन्त भन्छन्, ‘अब निजी अस्पतालमा देखाएर घर फर्किनु पर्ला।’

बिरामी भएर टाढाटाढादेखि कान्ति बाल अस्पतालमा आएका कुनै पनि बालबालिकाले समयमा अल्ट्रासाउन्ड गराउन पाएनन्। अल्ट्रासाउन्ड गराउन आएका सबैजना लाइन लाग्थे। अनि १० दिनपछिको डेट लिएर जान्थे। 

कोहीकोही किन यति ढिला, मेरो बच्चालाई केही भयो भने को जिम्मेवार भनेर प्रश्न गर्थे। तर, कर्मचारी तिनको कुरा सुन्दैनथे।

चिकित्सकले अस्पताल आउने बालबालिकामध्ये दिनको करिब सय जनालाई अल्ट्रासाउन्डका लागि पठाउने गर्छन्। 

‘केही बिरामीका आफन्तलाई त हामी बाहिर गरेर आउनु भनेर पठाउँछौँ, अस्पतालका एक चिकित्सक भन्छन्, ‘टाढाटाढा आउनु भएको हुन्छ, बस्नखान समस्या हुन्छ, अस्पतालमा  एक सातासम्म पालो आउँदैन। केही बिरामीलाई बाहिर गरेर रिपोर्ट लिएर आउनु भन्छौँ। अल्ट्रासाउन्डको रिपोर्टबिना उपचार सुरु गर्न मिलेन, के भएको छ, पत्ता लगाउन पर्‍यो, अब बिरामीलाई बाहिर नपठाउनुको  विकल्पै छैन।’

चिकित्सक नहुँदा समस्या 
उपसचिव रामबन्धु शर्मा दरबन्दी अनुसार चिकित्सक नभएका कारण अल्ट्रासाउन्ड गर्न लामो समय पालो कुर्नु परेको बताउँछन्।   

‘५ जना रेडियोलोजिस्टले छोडेपछि रेडियोलोजी विभाग अन्र्तगतका सेवा प्रभावित भएको छ,’ उनले भने, ‘९ जना चिकित्सकले गर्ने काम ४ जनाले गर्नु परेपछि बिरामीले पालो पर्खनु परेको हो।’

अस्पतालका सूचना अधिकारी रमेश नरसिंह केसी दिनमा १ सय जनाको अल्ट्रासाउन्ड गर्दा पनि एक साता बढी कुर्नु पर्ने समस्या देखिएको स्वीकार गर्छन्। 

‘बिरामीको चाप अनुसार रेडियोलोजिस्ट नै कम हुनुहुन्छ। दुईजनाले दुई सिफ्टमा दैनिक एक सयजनाको गर्नुहुन्छ। १० देखि २ बजेसम्म एक चिकित्सक, २ देखि ६ बजेसम्म अर्को चिकित्सकले गर्नुहुन्छ,’ उनले भने, ‘बिरामीको चाप छ, चिकित्सक नभएपछि एक साता बढी समय लाग्ने गरेको छ।’

हाल रहेका ४ जना रेडियोलोजिस्टमध्ये ११ औँ तहका १ जना, १० औँ तहका २ र ९ औँ तहका १ जना छन्। अल्ट्रासाउन्ड, भिडिओ एक्सरे, एमआरआई, सीटी स्क्यान उनीहरूले नै गर्छन्। 

उपसचिव शर्मा अस्पतालमा दैनिक १ हजार बिरामी आउने बताउँछन्। 

‘दैनिक १ हजार बिरामी आउँछन्, चिकित्सकको संख्या घटिरहेको छ,’ उनले भने, ‘अस्पतालमा बिरामीको चाप अनुसार चिकित्सकको अभाव भएका कारण अल्ट्रासाउन्ड र भिडिओ एक्सरेका गर्न समय लाग्ने गरेको हो।’

अस्पताल प्रशासनका अनुसार २ स्थायी चिकित्सक र ३ जना करारका चिकित्सकले जागिर छाडेका छन्। 

‘२ जना स्थायी दरबन्दीमा रहेका चिकित्सकले छोडेपछि अस्पतालमा चिकित्सकको अभाव हुन थालेको हो। ३ जना करारमा रहेकाहरूले पनि सेवा सुविधा कटौती भए पछि छाडे,’ सूचना अधिकारी केसी भन्छन्।

विकिरणमा काम गर्ने हुदा रेडियोलोजिस्टलाई अस्पतालले ‘जोखिम भत्ता’ दिने गरेको थियो। त्यसवापत पारिश्रमिकको २५ प्रतिशत थप रकम दिने गरेको थियो। तर, करारमा रहेका चिकित्सकलाई विनाशीर्षक भत्ता दिन थालेपछि महालेखा परीक्षकले बेरुजु देखाएको थियो। बेरुजु बढेपछि अस्पतालले ‘जोखिम भत्ता’ काटेको छ। 

करारमा रहेको चिकित्सकले आठौँ तह बराबरको मात्र पारिश्रमिक पाउने, अन्य सेवा सुविधा नपाउने र निजीमा ज्यादा आम्दानी हुने भएपछि चिकित्सक नपाइएको प्रशासनको भनाइ छ।

करार दरबन्दीमा कसैले दिएनन् आवेदन
रेडियोलोजिस्ट अभाव भएको भन्दै अस्पताल प्रशासनले गत असार २१ गते सूचना प्रकाशन गरेर दरखास्त मागेको थियो। तर एकजना पनि चिकित्सक आएनन्।

‘सरकारले स्थायी दरबन्दी नखुलाएका कारण विकास समितिबाट नै करारमा कर्मचारी राख्न विज्ञापन खुलाएका थियौँ। १ जनाको पनि आवेदन परेको छैन। रेडियोलोजिस्ट चिकित्सक चाहियो भनेर पटकपटक स्वास्थ्य मन्त्रालयमा जानकारी गराएका छौँ,’ उनले भने, ‘करार सेवामा चिकित्सक नआउने, मन्त्रालयले कुनै निर्णय नगर्ने हुँदा बिरामीलाई सास्ती भइरहेको छ।’ 

यस विषयमा जानकारी लिन खोज्दा अस्पताल निर्देशक डा पंकज राय सम्पर्कमा आउन चाहेनन्।

अल्ट्रासाउन्ड किन गर्नुपर्छ? 
अल्ट्रासाउन्ड सबैभन्दा बढी पेट सम्बन्धी रोग पत्ता लगाउन गरिन्छ। पेटमा भएको समस्या पत्ता लगाउन अल्ट्रासाउन्ड सबैभन्दा भरपर्दो प्रविधि हो।

चिकित्सकका अनुसार अल्ट्रासाउन्ड शरीरभित्र भएका रोग पत्ता लगाउन सुरक्षित र भरपर्दो प्रविधि हो। 

भित्री अंगहरू जस्तै मिर्गौला, कलेजो, फोक्सो, पित्तथैली, मुटु, पिसाब थैली, घाँटीको ट्युमर, रक्त नलीहरू थाइराइड ग्रन्थीहरूको समस्या हेर्न अल्ट्रासाउन्डको प्रयोग गरिन्छ। अल्ट्रासाउन्ड  मार्फत गर्भवती महिलाको पेटमा रहेको बच्चाको अंगप्रत्यंग ठीक भए नभएको पनि हेर्न सकिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad