नेपाली कांग्रेसका नेता नारायणप्रकाश साउदले नेपालमा बढ्दो राजनीतिक अस्थिरता र भ्रष्टाचारको समस्या समाधानका लागि स्थिर सरकारको आवश्यकता रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक समस्या र समाधानसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेता साउदले यस्तो बताएका हुन्।
उनले राजनीतिक अस्थिरताको जड नै वर्तमान संसदीय प्रणालीमा रहेको उल्लेख गर्दै राष्ट्रिय सहमति गरेर पाँच वर्षसम्म स्थिर सरकार बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए। नेता साउदले सरकारी कर्मचारीहरूलाई जिविकोपार्जनका लागि पर्याप्त स्रोत उपलब्ध गराउन नसकिएको कारण अनैतिक गतिविधिहरू बढेको उल्लेख गरे।
'राजनीतिक अस्थिरताको बीउ हाम्रो ढाँचामा पनि छ कि जस्तो लाग्छ। त्यसकारण एउटा राष्ट्रिय सहमति बनाएर कमसेकम चार/पाँच वर्षसम्म एउटा सरकार बन्नसक्ने किसिमले र स्थिर सरकार बन्ने किसिमले हामी कसरी अगाडि बढ्न सक्छौँ त्यो हिसाबले हेर्नुपर्ने आवश्यकता म देख्छु,' उनले भने।
राज्य संयन्त्रमा कार्यरत कर्मचारीहरूले पर्याप्त सेवा सुविधा नपाउँदा भ्रष्टाचारजन्य काम गर्ने गरेको उनको तर्क छ। उनले अव्यवस्थित पूर्वाधार निर्माणका कारण मुलुकको आर्थिक विकास हुन नसकेको पनि उल्लेख गरे।
उनले बजेटलाई प्रतिफल दिने योजनाहरूमा भन्दा राजनीति फाइदाको हिसाबले विनियोजन गर्दा मुलुकमा आर्थिक संकट बढ्दै गएको बताए।
Shares

प्रतिक्रिया