ad ad

समाज


तीन एसपीका फिल्ड अनुभव : लकडाउनमा यसरी बिते प्रहरीका १० दिन

तीन एसपीका फिल्ड अनुभव : लकडाउनमा यसरी बिते प्रहरीका १० दिन

उजिर कार्की
चैत २०, २०७६ बिहिबार १६:३१,

नेपालमा कोरोना संक्रमण फैलिन नदिन लकडाउन गरिएको १० दिन पूरा भएको छ। देशमा नागरिकले पहिलो पटक लकडाउन भोगिरहँदा सुरक्षा निकायहरु पनि लकडाउन कार्यान्वयनको अभ्यास पहिलो पटक गरिरहेका छन्।

लकडाउनमा अत्यावश्यकबाहेकका काममा घरबाहिर ननिस्कन आदेश दिइएको छ। सवारी चलाउन प्रशासनको पास आवश्यक पर्छ। खाद्यन्न, औषधिलगायतका पसल भने सञ्चालन गर्न भनिएको छ।

सर्वसाधारणले जीविका पनि चलाउनुपर्ने र उनीहरुलाई घरबाहिर निस्किन पनि दिन रोक्नुपर्दा अप्ठेरो महसुस गरेको सुरक्षा निकायका अधिकारीहरु बताउँछन्। उपत्यकाबाट मात्रै लकडाउन उल्लंघन गर्ने करिब ४ हजार जना दैनिक पक्राउ परिरहेका छन्।

उपत्यकामा बिहानैदेखि प्रहरीले माइकिङ गरेर घरबाहिर ननिस्कन आग्रह गर्छ। अनुमति नभएका र अत्यावश्यक कामबिना बाहिर निस्कनेलाई प्रहरीले तीन घण्टा पक्राउ गरेकै स्थानमा उभ्याएर लकडाउनका बारेमा बताउने गरेको छ।

यस्तै उनीहरुलाई पक्राउ गर्नका लागि ‘मल्टी फङ्सनल एरेस्ट एन्ड रेस्क्यु डिभाइस’ को प्रयोग गर्ने गरेको छ। उपत्यकामा यस्ता ९ वटा उपकरण रहेको महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोख्रेलले बताए।

अहिलेसम्म लकडाउन कार्यन्वयन गराउन प्रहरी सफल भएपनि नागरिकका समस्या तत्काल सम्बोधन नगरे समस्या थपिन सक्ने डीआईजी पोख्रेलको आकलन छ।

‘दैनिक गुजाराका समस्या बढ्दै छन्। नागरिकको पेटको समस्या जति बढ्छन्, हाम्रा चुनौती उतिनै थपिँदै जाने हुन्,’ डीआईजी पोख्रेलले भने, ‘क्राइम पनि बढ्छ, लकडाउन पनि उल्लंघन हुँदै जान्छ। अभावमा रहेका नागरिकलाई आपूर्तिको व्यवस्था गर्न सक्नुपर्छ।’

काठमाडौं छाड्न चाहने नागरिकलाई रोक्नु र उपभोग्य सामग्री किन्न साँझपख धेरै निस्कने गरेकाले यो समय बढी चुनौती देखिएको छ। नागरिकलाई रोक्नतिर मात्रै होइन, उनीहरुको गाँस र बासको व्यवस्था गर्नतिर लाग्नुपर्ने उनले बताए।

काठमाडौंबाहिर प्रहरीले कसरी लकडाउन पालना गराइरहेको छ? विभिन्न स्थानमा खटिएका प्रहरी अधिकारीले नेपालखबरसँग आफ्ना अनुभव साटेका छन्ः

92090713_1132585643772784_1960499493694603264_n.jpg

मुख्य सीमा नाका भएकाले चुनौती बढी : गंगा पन्त, एसपी, पर्सा

सुरुका दिनमा नागरिकले लकडाउनलाई नबुझेको जस्तो देखियो। दिनभरी बन्द भएपनि साँझ उनीहरु बाहिर निस्किन्थे। पर्सा मुख्य नाका भएको हुनाले आउजाउ पनि बढी हुन्छ। सामान ढुवानीलाई जारी राख्नु पर्ने अवस्था छ। जसका कारण एउटा मान्छे अर्को मान्छेको सम्पर्कमै नआउने व्यवस्था गर्न समस्या भयो।

अरु निषेधआज्ञा, कफ्र्युमा सुरक्षा निकायले बल प्रयोग गरेर कार्यन्वयन गर्नु पथ्र्यो। तर यो आफैं अनुशासनमा बस्नु पर्ने अवस्था हो। जसका कारण सुरक्षा निकायले अलि बढी कसरत गर्नु पर्‍यो। मुख्य नाका भएकोले अन्तभन्दा अलिबढी खुला छोड्नुपर्‍यो। धेरै गाडी भित्रिने र बाहिरिने हुन्छन्। जसलाई आम मानिसले सामान्य भएको हो कि भने जसरी बुझ्छन्।

मास्क, स्यानिटाइजर बनाउने उद्योग सञ्चालन गर्नु पर्ने, खाद्य, तरकारी पसलहरु पनि खुल्ला राख्नु पर्ने र त्यहाँसम्म जान दिनु पर्ने यी सबै कुरालाई सँगसँगै लैजान मेहनत बढी गर्न पर्‍यो। खुल्ला सिमाना र घर फर्किएका आफन्तलाई रोक्नु पर्दा गाह्रो हुने रहेछ।

रोजगारीबाट फर्किएकाहरु आफ्नो घर पुग्न चाहन्छन् तर हाम्रो दायित्व उनीहरुलाई पनि फर्काउनु पर्ने छ। पर्सामा नेपाल–भारत सीमा १ सय ७ किलोमिटर छ जहाँ १३ ठाउँबाट भारतका विभिन्न भागमा आवतजावत गर्न सकिने अवस्था छ। बसाइ पनि उस्तै छ। यता बस्नेको पारि व्यवसाय छ। किनमेलका लागि पनि कतै वारि कतै पारि जानु पर्ने अवस्था छ। स्वास्थ्य सेवा लिनका लागि पनि वारिका मान्छे पारि जाने अवस्था छ।

यसलाई सकेसम्म बुझाएर र नभए जबर्जस्ती पनि गर्नु पर्ने अवस्था छ। पहिलेका भन्दा धेरै स्थानमा ड्युटी गरिरहेका छौं। सुरुमा सम्झाइबुझाइ गरेर पठाउने, नभए होल्डमा राख्दिने र त्यो पनि नभए संक्रामक रोग ऐन अनुसार कारबाही पनि गरिरहेका छौं।

जोखिमका हिसाबले त सबैभन्दा जोखिममा नै प्रहरी छ। आफ्नो मात्रै सुरक्षा गरेर भएन। अरुलाई पनि जोगाउनु पर्ने र शान्ति सुरक्षा पनि कायम गर्नुपर्ने अवस्था छ। कुनै घटना हुन्छ, मान्छे पक्राउ गर्नु परिहाल्छ। बोर्डरमा पनि जबर्जस्ती छिर्न खोज्नेलाई रोक्नु पर्‍यो। प्रहरी पनि यस्ता कुरामा अभ्यस्त छैन। हाम्रा लागि पनि यो नयाँ भयो, सबैले बुझेका छैनन्।

हामीले पनि सकेसम्म त जोगिन खोजेका छौं। दूरी कायम गर्न लाठीको प्रयोग गरिरहेका छौं, सरकासफाइ पनि बढाएका छौं।

91875165_251510432911701_981152559710339072_n_1.jpg

समुदायसँग सहकार्य गरेका छौँ : कृष्ण कोइराला, एसपी, झापा

यो सर्वसाधारणलाई मात्रै होइन, हामीलाई पनि नयाँ भयो। पहिलो दिन त यो के होला, कस्तो हुन्छ होला भनेजस्तो भयो हामीलाई पनि। तर विस्तारै हामीले बुझ्दै गयौं र बुझाउँदै गयौं टोलटोलमा।

समुदायसँग सहकार्य पनि गर्दै गयौं। सूचना प्रविधिको पहुँच राम्रो भएका कारण पनि हामीलाई केही सहज भयो। सुरुवाती दिनमा मान्छे र सवारी साधन धेरै नियन्त्रणमा लिनु पर्‍यो। अहिले पनि धेरै छाडेका छैनौं, सवारी साधान। दिन बित्दै जाँदा हामीले पनि नयाँ नयाँ तरिकाहरु सिक्दै गयौं।

पसलमा सामान किन्न एकैपटक नजाने व्यवस्था गर्न थाल्यौं। सामाजिक सञ्जालमा देखेको कुरा हामीले पनि लागू गर्‍यौं। पसलका अगाडि गोलो घेरा लगायौं। यसमा व्यवसायीहरुले पनि साथ दिनुभयो।

अहिले पनि हाम्रो समस्या भनेको साँझतिर तरकारी किन्न जाने चलन छ। एक ठाउँमा तरकारी जम्मा गर्ने र त्यहीँ सबै मान्छे घुइँचो लागेर किन्ने चलन छ। यस्तो ठाउँमा अत्याधिक भीड भयो। त्यसको समाधानका लागि हामीले वडासँग मिलेर हरेक वडामा तरकारी गाडीले उठाउने र वडासम्म पुर्‍याउने व्यवस्था गर्‍यौं।

हरेक वडामा २०÷२५ वटा टोल सुधार समिति छन्। उनीहरुसँग समन्वय गरेर आवश्यक खाद्यन्न तरकारीहरु टोलसम्म पुर्‍याइदिने व्यवस्था गरेका छौं। त्यो टोलभरी उनीहरुले वितरण गर्ने। त्यो खालको प्रणाली बसायौं। त्यसले गर्दा साँझ बाहिर निस्किने क्रमलाई पनि निरुत्साहित गर्दै लगेका छौं। बजारमा ल्याउने स्थानीय उत्पादनलाई पनि सकेसम्म आफ्नै टोलमा बेच्न भनेका छौं। यसले गर्दा धेरै हदसम्म नियन्त्रणमा छ।

यतिगर्दा पनि नटेर्नेलाई सम्झाउने बुझाउने र हदै गर्नेका सवारी नियन्त्रणमा लिएका छौं र लकडाउन नसकिएसम्म फिर्ता दिँदैनौं। आवश्यक कामबाहेक बाहिर निस्कनेहरु एकदमै कम छन्। अरु बन्दभन्दा यो एकदमै फरक भयो। मान्छेलाई घरभित्र पनि राख्नु पर्‍यो आवश्यकता पनि पूरा गरिदिनु पर्यो। कर्फ्यु हुँदा एकदिन तरकारी नखाएपनि सकिन्छ भनेर जबरजस्ती पेल्न सकिन्थ्यो तर लकडाउन लामो भयो। बाहिर निस्कनै नदिएर भएन।

एकदिन औषधि नखाएपनि हुन्छ तर यसमा तालमेल मिलाउन पर्‍यो, विभिन्न देशबाट आएका ६ सय जति मान्छेलाई घरभित्र र स्थानीय तहले बनाएका क्वारन्टिनमा राखेका छौं।

सिमानामा जनशक्ति थपेका छौं। भारतपट्टि पनि समन्वय गरिरहेका छौं। स्थानीयको पनि सहयोग छ सीमामा। उहाँहरु पनि आफ्नो ठाउँमा नयाँ मान्छे आउनासाथ खबर गर्नुहुन्छ।

92412723_2043488715798028_8906582481826742272_n.jpg

खुल्ला सिमाना मुख्य चुनौती : मुकुन्द मरासिनी, एसपी, कञ्चनपुर

पहिलो दिन मान्छेहरुले नबुझेका कारण कञ्चनपुरमा लकडाउन कार्यान्वयन गर्न गाह्रो भयो। मान्छेहरु आफ्नो घरमा बस्न सकेनन्। त्यसपछि हामीले पनि बुझ्दै गयौं र भोलिपल्टदेखि कसैलाई पनि घर बाहिर ननिस्कन आग्रह गर्दै माइकिङ गर्‍यौं।

जिल्लाभरी नै प्रहरीलाई त्यही अनुसार निर्देशन गरियो। आफ्नो र परिवारको सुरक्षाको लागि घरभित्रै बस्न आग्रह गरियो। राज्य संकटमा परेका बेला घरभित्रै बसेर सहयोग गरिदिनुस् भनेर आग्रह गर्‍यौं। अब १० दिन भइसकेको अवस्थामा प्रमुख जिल्ला अधिकारीसहित हामी पनि विभिन्न स्थानीय निकायमा पुगेर कुनै ठाउँमा केही समस्या छ कि भनेर बुझिरहेका छौं।

बजार खोल्दा मान्छेकोहरु धेरै जम्मा भए भनेर घुम्ती सेवा सञ्चालन गर्न थालेका छौं। ग्यास, खाद्य सामग्री घरमै पुर्‍याइदिने व्यवस्था गरेका छौं। कन्चनपुरमा हामीलाई अप्ठेरो परेको भनेको खुल्ला सिमानाका कारण हो। त्यसमा पनि हामीसँग सुरक्षाका सामग्री छैनन्। भारतमा पनि लकडाउन भएपनि विभिन्न नाकाबाट छिर्नेहरु छँदैछन्। जसले हामीलाई व्यवस्थापन गर्न जटिल भयो।

लकडाउन नहुँदा पनि यो नाकाबाट एकदमै धेरै मान्छेहरु प्रवेश गरे। उनीहरुको स्वास्थ्य परीक्षण गर्न व्यवस्थापन गर्न हामीलाई गाह्रो भयो। १४ दिन क्वारन्टिनमा बस्छु भन्ने प्रतिबद्धता गराएर स्थानीय तहमा जिम्मा लगायौं।

सहरी क्षेत्र पूर्णरुपमा बन्द छ। ग्रामिण क्षेत्रमा पनि कोही नयाँ मान्छे आयो भने स्थानीयले नै हामीलाई खबर गर्न थालेका छन्।

विदेशबाट आएका ६ जनाको परीक्षण गर्न पठाएका थियौं। ४ जनाको रिपोर्ट निगेटिभ आएको छ। उनीहरु डिस्चार्ज भएर फर्किसकेका छन्। दुई जनाको रिपोर्ट आउन बाँकी छ। विदेशबाट आएको अरु व्यक्ति पनि हाम्रो निगरानीमा हुनुहुन्छ। भारतबाट र अन्य मुलुकबाट आएका मान्छेको अपडेट लिइरहेका छौं।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .