ad ad

समाज


मास्क बनाएर निःशुल्क वितरण गर्दै दिदीवहिनी (भिडियो)

मास्क बनाएर निःशुल्क वितरण गर्दै दिदीवहिनी (भिडियो)

नेपालखबर
चैत १९, २०७६ बुधबार १०:५७,

कोभिड १९ अर्थात् कोरोना संक्रमणको त्राससँगै मुलुकभर मास्क अभाव भइरहेका बेला भक्तपुरका एकै परिवारका दिदीवहिनी मास्कको निःशुल्क वितरणमा जुटेका छन्।

कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि अनिवार्य मास्क लगाउन चिकित्सकहरुले सुझाएसँगै मास्क अभाव र मास्कमा नै कालोबजारी गर्नेहरु बढेपछि सूर्यविनायक नगरपालिका–१० चित्तपोलका मनसोभा सुवाल त्वातीका दिदीबहिनी मास्क बनाउने र वितरण गर्ने काममा जुटेका हुन्। सूर्यविनायक नगरपालिका वडा नम्वर १० चित्तपोलका मनसोभा सुवाल त्वाती, मिना कुमारी त्वाती, रिता त्वाती, अनिता त्वाती, रुदिशा त्वाती, आयुशा त्वाती, सायरा त्वाती लगायत महिला अहिले मास्क सिलाउने काममा व्यस्त हुन थालेका छन्।

सबै ढोका लगाएर घर भित्रै बसिरहेका बेला त्वाती दिदीवहिनीहरु बिहान साँझ नजिकको र चिनजानको टेलरमा गई खेर गएका कपडा संकलन गर्ने र दिनभर मास्क बनाउने दैनिकी बनेको छ। कोही शिक्षक, कोही सिलाई बुनाई कोही विद्यार्थी त कोही गृहणी पेशाका उनीहरु हिजो आज माक्स बनाउने र निःशुल्क रुपमा वितरण गर्ने काममा व्यस्त भएका छन्। मनशोभा त्वाती देश पुरै लकडाउन भएको र कसैलाई फोन गर्दा पनि मास्क लगाउनु, सेनिटाइजर वा सावुन पानीले हात धुनु भन्ने सन्देश सुन्नु तर बजारमा मास्क नपाईंनुबाट आफूमा मास्क नै बनाएर सबैलाई वितरण गर्नुपर्छ भन्ने भावना जागृत भएको बताउँछिन्।

उनी भन्छिन् ‘देश पुरै लकडाउन छ। कसैलाई फोन गर्दा पनि मास्क लगाउनु, सेनिटाइजर वा सावुन पानीले हात धुनु भन्छन्। तर बजारमा मास्क छैन। कतिको त किन्ने क्षमता पनि छैन। त्यसैले अभावको समाधान गर्दै सबैलाई मनोबैज्ञानिक रुपमा पनि म सुरक्षित छु भन्ने बनाउनुपर्छ भनी टुक्रा कपडाहरुको माक्स बनाई निःशुल्क वितरण गर्दै आएका छौं।’

मनसोभा एकापरिवारका दिदीबहिनीबाट सुरु भएको मास्क बनाउने काममा सिलाई जानेका दिदीबहिनीलाई पनि संलग्न हुन पनि आग्रह गर्छिन्।

उनी भन्छीन्, ‘हामी एकै परिवारका सदस्य हौं तथा चित्तपोल सामुदायिक अध्ययन सिकाई केन्द्रबाट सिलाई सिक्नुभएकाहरुलाई हामीले सम्पर्क गरि रहेका छौं र उनीहरुलाई पनि मास्क बनाउन आग्रह गरिरहेका छौं। हामीले खेर जाने टुक्रा कुपडा एवं कपडा पसलमा सानो गजका कारण खेर जाने कपडा जम्मा गर्दै मास्क बनाउँदै वितरण गर्दै आएका छौं। जुन प्रयोग कर्ताले धोई पुनः प्रयोग गर्न मिल्छ। लक डाउनका समयमा अरु जस्तै रमाईलो गर्दै बस्ने मन त थियो तर हामीले जानेको सिप प्रयोग गर्दै सानो सहयोग गर्न सके राम्रै हुन्छ भनेर यो काम सुरु गरेको हो।’

चित्तपोल सामूदायिक सिकाई केन्द्रमा सिलाई वुनाई प्रशिक्षक समेत रहेकी मिना कुमारी त्वातीलाई मास्कमा भएको कालोबजारीको समाचार सुन्दा बनाउने चाहाना जाग्यो अनि युट्युवमा हेरी बनाईन्। मास्क बनाउने तरिका उनलाई सजिलो पनि लाग्यो। सामुदायिक सिकाई केन्द्रले मास्कमा लाग्ने इलास्टिक उपलब्ध गराउँछौं भने पछि उनी मास्क सिलाईको काममा संलग्न भइन्। मास्क लिनका लागि टोलबासीहरु कोही नछुटुन र नदोहोरिउन् भन्नेमा उनी सचेत छन्।

उनी भन्छिन् ‘विभिन्न महिला समूह अनी टोलहरुमा आवश्यकता अनुसार हामीले मास्क पठाउने गरेका छौं। कोही नछुटुन र नदोहोरिउन् भन्ने हेतुले नै हामीले मास्क दिँदै आएका छौं।’

संकटको समयमा आफूले जानेको सिप प्रयोग गरी समाज र टोलवासीलाई केही गरौं भन्ने मनसायले मास्क बनाउने काममा लागेका बताउँछिन् रिता त्वाती। उनले मास्क बनाउन मिल्ने सुति एवं अन्य कपडा भए उपलब्ध गराउन पनि आग्रह गरिन्।

उनले भनिन् ‘हामीले पनि यस्तो समयमा आफूले जानेको सिप प्रयोग गर्दै केही गर्न सक्छौं भन्दै हामी जम्मा भएर माक्स बनाउने की भन्ने कुरा भयो। ब्यवसायीक भन्दा पनि समुदायमा निःशुल्क वितरण गर्न पाए कती मज्जा आउला भन्ने हेतुले नै हामीले यो कामको थालनी गरेको हो। हामीले सिप सिक्यौं। काम जानेका छौं। सबै कुरा पैसा मात्र हैन भन्ने लाग्यो र हामी कपडाको मास्क बनाउने काममा जुटेका हौं। एक जनाले दिनको १ सय मास्क बनाउँछौं। वितरण पनि गर्दै आएका छौं। दिन भर मास्क बनाउन व्यस्त छौं। यदि कसैसँग मास्क बनाउन मिल्ने सुतिका एवं अन्य कपडा छ भने हामीलाई दिनुहोस् हामी त्यसको मास्क बनाएर दिने छौं।’

त्वाती दिदीवहिनीले आफूहरुले बनाएको माक्स नजिकको समूदायको भक्तपुर नगर भित्रका बृद्द बृद्दाहरुलाई समेत वितरण गर्दै आएका छन्। सबै भन्दा बढी माक्सको आवश्यकता बुढा बुढी तथा महिलाका लागि भएकाले त्यो वर्गलाई यी दिदिवहिनीले प्राथमिकतामा राखेका छन्। यी महिलाले अहिलेसम्म १ हजार ५ सय बढी मास्क वितरण गरि सकेका छन्। एक मिटर कपडाबाट १५ वटासम्म मास्क बन्ने उनीहरुले बताए। उनीहरुले दुवै तर्फबाट प्रयोग गर्न मिल्ने गरी मास्क बनाएको बताए। कपडा उपलब्ध गराएमा आफूहरुले जतिपनि मास्क बनाउन तयार रहेको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .