ad ad

समाज


सिंगापुरका स्वास्थ्यकर्मी कोरोना संक्रमणबाट कसरी जोगिन्छन्?

सिंगापुरका स्वास्थ्यकर्मी कोरोना संक्रमणबाट कसरी जोगिन्छन्?

नेपालखबर
चैत १९, २०७६ बुधबार १०:३९,

विश्वव्यापी कोरोना भाइरस महामारीसँग जुधिरहेका स्वास्थ्यकर्मी आफैँ बिरामी भइरहेका छन्। असहयोग गर्ने बिरामी, लामो समय खट्नुपर्ने बाध्यता र सुरक्षा सामग्रीको अभावमा उनीहरुको अवस्था खराब बन्दै गएको छ।

मलेसियामा एक गर्भवती महिलाले आफ्नो बुबा कोरोना संक्रमित भएको सूचना लुकाइन्। अस्पतालमा बच्चा जन्माइसकेपछि उनको कोरोना पोजिटिभ देखियो। जसका कारण संक्रमणरहित बनाउन पूरै अस्पताल नै बन्द गर्नुपर्‍यो, स्वास्थ्यकर्मीहरु क्वारन्टिन बस्नुपर्‍यो।

फिलिपिन्समा ९ जना डाक्टरको मृत्यु भइसकेको छ। जसमध्ये दुईले यात्रा विवरण ढाँटेकी एक बिरामीको उपचार गरेका थिए।

स्पेनमा १२ हजारभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन्। यो देशकै जम्मा संक्रमितको १४ प्रतिशत हुन आउँछ। त्यहाँ अहिले बिरामीको उपचारका लागि पर्याप्त स्वास्थ्यकर्मी छैनन्।

इटलीमा दर्जनौँ स्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ। पञ्जा नभएर खाली हात बिरामीको उपचार गर्ने एक चिकित्सकको पनि मृत्यु भयो।

अहिले सबैभन्दा बढी संक्रमित रहेको अमेरिकाका अस्पतालहरुमा बिरामी अटाएका छैनन्। त्यहाँको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले मार्च ७ मा जनशक्ति अभाव भए कोरोना भाइरससँग एक्सपोज भएका स्वास्थ्यकर्मीलाई पनि लक्षण नदेखिउन्जेल मास्क लगाएर काममा लगाउने निर्देशिका जारी गरेको छ।

सबैतिर यस्तो निराशाजनक अवस्था भए पनि सिंगापुरको उदाहरणलाई हेरेर आशावादी हुने ठाउँ देखिन्छ। यो लेख्दासम्म सिंगापुरमा ६ सय ३० संक्रमितको अस्पतालमा उपचार भइरहेको छ। तर, एकाध मात्र स्वास्थ्यकर्मी संक्रमित भएका छन्। ती पनि अस्पतालमा होइन, अन्यत्र नै संक्रमित भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

विज्ञहरुको मत छ, संयोगले मात्रै सिंगापुरमा स्वास्थ्यकर्मी कोरोनाबाट जोगिएका होइनन्। सिंगापुरको एक अस्पतालमा एक जना बिरामीको उपचारका क्रममा ४१ जना स्वास्थ्यकर्मी उनको नजिक पुगेका थिए। ती बिरामीको श्वासनलीमा पाइप राख्नु परेको थियो। त्यतिञ्जेल उनलाई कोरोना भाइरस लागेको थाहा पनि थिएन। त्यसैले त्यतिधेरै स्वास्थ्यकर्मी उनको नजिक पुगेका थिए। तर, बिरामीमा कोरोना पुष्टि भएपछि सबै स्वास्थ्यकर्मी आइसोलेसनमा जानुपर्‍यो। यद्यपि, दुई सातापछि पनि कसैमा संक्रमण देखिएन।

यो घटनाले धेरैको ध्यान खिचेको छ। कारण, स्वास्थ्यकर्मीहरुले सर्जिकल मास्क तथा एन९५ मास्क लगाएका थिए।

‘त्यस्तो घटनामा पनि कुनै स्वास्थ्यकर्मीमा संक्रमण नहुनुले के बताउँछ भने सर्जिकल मास्क, हातको सरसफाइ र अन्य मानक प्रक्रिया पूरा गरेको खण्डमा संक्रमणबाट बच्न सकिन्छ,’ यसको निश्कर्ष द एनल्स अफ इन्टर्नल मेडिसिनमा प्रकाशित छ।

अत्यावश्यक सुरक्षा सामग्री अभाव भइरहेका बेला मुलुकहरुले स्रोत र जानकारी दुवै बाँड्नुपर्ने विज्ञहरुले बताएका छन्।

सरुवा रोग विशेषज्ञ लियोङ हो नामको विचारमा सन् २००३ मा सार्सबाट पाठ सिकेका एसियाली मुलुकहरुले यसपटक राम्रो तयारी गरेका थिए। तर, पश्चिमा मुलुकहरु उति तयार थिएनन्। जसले त्यहाँ चर्को अभाव देखियो।

उनका अनुसार कोभिड–१९ को सुरुवाती महामारीमा चीनमा २ हजार स्वास्थ्यकर्मी बिरामी परेका थिए। किनभने उनीहरुसँग सुरक्षा सामग्री थिएन। तर, जब सुरक्षा सामग्री प्राप्त भयो, स्वास्थ्यकर्मी बिरामी पर्ने क्रम घट्न थाल्यो।

‘ती सामग्री आइपुगेपछि एकदमै कम मात्र स्वास्थ्यकर्मी बिरामी परे,’ उनी भन्छन्, ‘बरु बाहिर संक्रमितको सम्पर्कमा पुगेर बढी बिरामी भए।’ मलेसियामा पनि संक्रमित भएका ८० स्वास्थ्यकर्मीमध्ये सबैजसो अस्पतालमा होइन, समुदाय स्तरमा संक्रमित भएको बताइएको छ।

अहिले त चीनले पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) लगायतका सुरक्षा सामग्री युरोप र एसियाली मुलुकलाई सहयोग गरिरहेको छ। चिनियाँ अर्बपति ज्याक माले पनि अनेकौँ मुलुकमा दान गरिरहेका छन्।

तर, तयारी र सुरक्षाको बारेमा जति छलफल भइरहेका छन्, ती सबैले सिंगापुरलाई उदाहरण मानेका छन्। बिरामी बढ्दै गएपनि सिंगापुरको स्वास्थ्य सेवा प्रणाली राम्ररी सञ्चालन भइरहेको छ। यसको एक मात्र कारण हो– सार्स महामारीदेखि नै त्यहाँका अधिकारीहरुले अर्को महामारीका लागि तयारी गरिरहेका थिए।

त्यसैले कोरोना संक्रमण फैलिनेबित्तिकै अस्पतालहरुले स्टाफको छुट्टी, यात्रा, आदि कटौती गरे। त्यसपछि भाइरस अझ फैलिए स्वास्थ्यकर्मी पर्याप्त होऊन् भनेर चिकित्सक र नर्सको टोली विभाजन समेत गरे।

सिंगापुरमा जम्मा १३ हजार ७ सय ६६ डाक्टर छन्। अर्थात् हरेक एक हजार जनसंख्यालाई २.४ डाक्टर। अमेरिकामा प्रतिहजार २.५९, चीनमा १.७८ र जर्मनीमा ४.२ छन्। म्यानमार र थाइल्यान्डमा प्रतिहजार १ भन्दा कम डाक्टर छन्।

‘सुरक्षित तवरले सेवा प्रवाह गर्न सकियोस् भनेर यो चाँजो मिलाइएको थियो। सबैका लागि आराम पुग्नेगरी आलोपालोको व्यवस्था गरिएको थियो,’ अर्थोपेडिक सर्जन सिया सी लु भन्छन्।

डाक्टर र बिरामीको अनुपात उही मात्रामा कायम गर्ने, गम्भीर प्रकृतिका उपचारमा विशेषज्ञहरुको अभाव हुन नदिनेलगायतको जरुरी व्यवस्था गरिएको थियो। हरेक टोलीलाई १२ घण्टाको सिफ्टमा राखेर एक टोलीले अर्कोसँग घुलमिल नगर्ने विधि अपनाइएको थियो।

योजनाबद्ध आलोपालोको अलावा सिंगापुरले अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव पनि हुन दिएको छैन। सार्सका बेला मास्क, ग्लोब्स, गाउन, आदिको अभाव भएको थियो। त्यसपछि ५ देखि ६ महिनालाई पुग्नेगरी ती सामग्रीको भण्डारण गरिएको थियो।

कोरोना भाइरस फैलिएपछि सिंगापुरले स्वास्थ्यकर्मीलाई मास्क अभाव नहोस् भनेर आम मानिसलाई मास्क नलगाउन आह्वान गर्‍यो।

यत्तिका धेरै तयारीपछि पनि स्वास्थ्यकर्मीले सबै समस्याबाट मुक्ति पाएका छैनन्। विश्वभर स्वास्थ्यकर्मीमाथि यसबेला विभेद भइरहेको छ। घरबाट निकाल्ने, समुदायबाट अलग गर्ने, डर व्यक्त गर्नेजस्ता व्यवहार उनीहरुले सहिरनुपरेको छ। सिंगापुर पनि यसबाट अछुतो छैन।

‘घर आउँदा म युनिफर्म लगाउँदिनँ,’ सिंगापुरकी एक नर्स भन्छिन्, ‘कस्तो घटना हुन्छ, के थाहा। मानिसहरु डराएका छन्। हाम्रो युनिफर्मले उनीहरुलाई असहज बनाउँछ। मेरी एउटी साथीले अस्पताल आउन ट्याक्सी लिन खोजिन् तर पाँच जना ड्राइभरले अस्वीकार गरे।’ एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .