समाज


निजामती कर्मचारी परिचालन गरेर भए पनि कक्षा १२ को परीक्षा सञ्चालन गरिने

निजामती कर्मचारी परिचालन गरेर भए पनि कक्षा १२ को परीक्षा सञ्चालन गरिने

फाइल तस्बिर


नेपालखबर
बैशाख ९, २०८२ मंगलबार १०:५७, काठमाडौँ

राष्ट्रिय परीक्षा बोर्डले निजामती कर्मचारी परिचालन गरेर भए पनि कक्षा १२ को परीक्षा तोकिएकै समयमा सञ्चालन गर्ने निर्णय गरेको छ। 

मंगलबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा नरोक्ने र तोकिएकै समयमा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए। 

कक्षा १२ को वार्षिक परीक्षा यही वैशाख ११ गते (बिहीबार)देखि सञ्चालन गर्ने तयारी छ। देशैभरिका सामुदायिक विद्यालयका शिक्षकहरु तीन सातादेखि राजधानी केन्द्रीत आन्दोलनमा रहेका कारण परीक्षाप्रति संशय सिर्जना भएको थियो। 

बोर्डले सबै जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ।

वैशाख ११ गते बिहीबारदेखि सञ्चालन हुने परीक्षा २४ गते सकिने तालिका बोर्डले सार्वजनिक गरेको छ। 

परीक्षा नियन्त्रक शर्माले परीक्षा सार्दा गलत सन्देश जाने तथा विद्यार्थीको समय खेर जाने भएकाले परीक्षा तोकिएकै समयमा सञ्चालन गरिने जानकारी दिए। 

‘जिल्ला जिल्लामा सिडिओले कर्मचारी परिचालन गरेर, नेपाल सरकारले जिम्मा लिने गरी तोकिएकै समयमा परीक्षा लिने निर्णय भएको छ,’ शर्माले नेपालखबरसँग भने, ‘कक्षा १२ को परीक्षा पूर्वनिर्धारित समयमै हुन्छ। कर्मचारी परिचालन गरेर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ।’

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समितिलाई सम्पूर्ण जिम्मा दिएर परीक्षा गर्ने निर्णय भएको परीक्षा नियन्त्रक शर्माले बताए। 

प्रमुख जिल्ला अधिकारीले प्रत्येक परीक्षा केन्द्रमा जिल्लास्थित निजामति कर्मचारीलाई परिचालन गरेर निर्धारित समयमै परीक्षा सञ्चालन गर्ने निर्णय बाेर्डले गरेको हो। आन्दोलनमा सहभागी नभएका शिक्षकलाई परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष बनाउने र त्यस्तो अवस्था नभएका केन्द्रमा प्रमुख जिल्ला अधिकारीले नै निर्णय गरेर व्यवस्थापन गर्ने गरी परीक्षा सञ्चालन गरिने  शर्माले बताए। 

बोर्डले आन्दोलनरत शिक्षकलाई कक्षा १२ को परीक्षा सञ्चालनकाे लागि सहयोग गर्न आह्वानसमेत गरेको छ। यसवर्ष कक्षा १२ को परीक्षामा करिब पाँच लाख विद्यार्थी सहभागी हुनेछन्। परीक्षाका लागि जापानमा एउटासहित एक हजार ५९१ परीक्षा केन्द्रको व्यवस्था गरिएको छ। 

त्यति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष तथा विद्यार्थी सङ्ख्याको आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तिमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गरिने बोर्डले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad