समाज


चन्द्रनगरमा दलित र गैरदलितको सहभागितामा ‘महायज्ञ’

चन्द्रनगरमा दलित र गैरदलितको सहभागितामा ‘महायज्ञ’

नेपालखबर
चैत २३, २०८१ शनिबार २१:४५, बरहथवा (सर्लाही)

सिराहाको औरही गाउँपालिका–५, मा महायज्ञको नाममा जातीय विभेद गरेको घटनाको सेलाएको छैन। त्यसविपरीत सर्लाहीमा भने विभिन्न नाममा हुने विभेदका घटनालाई चुनौती दुवै समूदाय मिलेर महायज्ञ आयोजना गरिएको छ।

जिल्लाको चन्द्रनगर गाउँपालिका–२, बबरगन्जमा दलित र गैरदलित समूदायका अगुवाहरूको नेतृत्वमा विश्वकल्याणको कामनासहित यही चैत २० गतेबाट नवाह महायज्ञ सञ्चालन भइरहेको छ। बबरगन्जस्थित सवरी कुटी हनुमान मन्दिर परिसरमा सामूहिक रूपमा महायज्ञको आयोजना गरिएको वडाध्यक्ष शम्भु साह तेलीले जानकारी दिए। 

महायज्ञमा दलित समुदायलाई प्रतिनिधित्व गर्ने गुरुद्वय रामचन्द्र दास र बिसुनी दासले कथावाचन गरिरहेका छन्। महायज्ञ नौ दिनसम्म सञ्चालन हुने आयोजक समितिका संयोजक मनोज दासले जानकारी दिए। कथाश्रवणका लागि नजिकैका गाउँबाट सबै समुदायका सयौँ स्थानीय दैनिकजसो सहभागी भइरहेका उनले बताए।

आयोजक समिति सदस्य देवनारायण महतोले सबैको सल्लाहबमोजिम सामाजिक सन्देश प्रवाह गर्ने गरी मन्दिरमा महायज्ञ आयोजना गरिएको बताए। भगवान र धर्मको नाममा उचनीच भेदभाव गर्न नहुने सन्देश दिन महायज्ञ सफल हुने उनको विश्वास छ।

‘धर्म र भगवानको कुरा गर्दा सबै समान छौँ। सानो ठूलो भनेर जातको कुरा र विभेद गरे कसरी पुण्य हुन्छ?’, उनले प्रश्न गरे, ‘यो त अपमान भयो, भगवानको घरमा हामी सबै समान हौँ। कसैलाई उहाँले काखा र पाखा गर्नुहुन्न। त्यो भावना पालेर गरिने काम धर्म होइन।’

समितिका अर्का सदस्य रुपलाल महतोले आफ्नो समाजमा हरेक मठमन्दिरमा हुने पूजाआजामा सबैको साझा प्रतिनिधित्व रहेको बताए।  

गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले मधेशमा जातीय हिसाबले दलित भनेर हेपिएका दास समुदायकै युवाहरूको अगुवाईमा सुरु भएको महायज्ञले समाजमा जातका पक्षपातीलाई गतिलो जवाफ दिएको बताए। यस महायज्ञले समाजलाई एकताको सूत्रमा बाँध्ने काम गरेको उहाँको भनाइ छ। 

‘केही दिन पहिला मात्र महायज्ञ लगाउने नाममा सर्लाहीमा दलित परिवारको उठिबास लगाएको घटना बाहिरिएको थियो। त्यति मात्रै होइन दलित परिवारको घरले चर्चेको स्थानको माटो खनेर फालेको खबर पनि सुन्यौँ’, अध्यक्ष महतोले भने, ‘यहाँ दलित र गैरदलित समुदायको आयोजनामा भएको नवाह महायज्ञमा दलित समुदायका दुई जना गुरुहरूले कथावाचन गरिरहनु भएको छ। त्यसको आनन्द सबै समुदायका नागरिकले लिइरहेका छन्। यो एक उदाहरणीय कार्य हो। धर्मले समाजलाई तोड्ने नभई जोड्ने काम गर्नुपर्छ। त्यो सन्देश दिन सफल भएका छौँ।’

महायज्ञ स्थलमा भगवान विष्णुका ५२ अवतारको प्रतिमासमेत निर्माण गरिएका छन्। स्थानीय मूर्तिकार तनकी दासले उक्त मूर्ति निर्माण गर्नु भएको महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक दासले बताए। गाउँका स्थानीय अगुवा तथा सामाजिक व्यक्तिहरूको सहभागितामा माना मुठी सहयोग सङ्कलन  गरेर महायज्ञ भइरहेको उनले जानकारी दिए।  

महायज्ञमा दैनिक पाठ पारायण, भजनकीर्तन तथा झाकी प्रदर्शन भइरहेको आयोजक समिति सदस्य संजीप साहले बताए। समितिमा गैरदलित समुदायबाट राम इकवाल महतो, परशुराम झा, वंशिलाल महतो र गौरी महतोलगायत रहेका छन्। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad