समाज


पूर्वराजाले गरे गोरखकाली र गोरखनाथमा २ घण्टा पूजा

पूर्वराजाले गरे गोरखकाली र गोरखनाथमा २ घण्टा पूजा

तस्बिर : नेपालखबर


नेपालखबर
चैत ९, २०८१ शनिबार १५:३५, काठमाडौँ

पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार गोरखास्थित गोरखकाली र गोरखनाथको पूजाआजा गरेका छन्। शनिबार बिहान १० बजे गोरखा पुगेका उनले राजदरबारका कुलदेवता भनेर चिनिने गोरखकाली र गोरखनाथको पूजाआजा गरेका हुन्।

बिहान १० बजेदेखि १२ बजे दुईघण्टासम्म पूजाआजा गरी दिउँसो १ बजे गोरखाबाट फर्किसकेका छन्। 

शुक्रबार साँझ चितवन, कुरिनटारको रिभरसाइड रिसोर्टमा बसेर शनिबार बिहान ९ बजे आँबुखैरेनी आइपुगेका उनलाई राजावादी व्यक्ति, संस्था तथा पार्टीहरूले स्वागत र मोटरसाइकल र्‍याली गरी १० बजे गोरखा लगेका थिए। 

पूजाआजा सकेपछि दिउसो १ बजे उनले गोरखाको ठूलोआँगन र सङ्ग्रहालयमा स्थानीयबासीको भेटघाट तथा स्वागत ग्रहण गरेका थिए ।

शाह बा २१ च ७३१८ नंबरको गाडीमा पृथ्वीराजमार्ग हुँदै गोरखा आएका हुन्। शनिबार चैत्रकृष्ण अष्टमी तथा गोरखकाली पूजा पर्व रहेको थियो। 

सोही अवसर पारेर पूर्वराजा शनिबार जिल्ला आएका हुन्। उनी शनिबार अपराह्न चितवन, कुरिनटारस्थित सोही रिसोर्टमा फर्किएका छन्। 

आइतबार बिहान गोरखास्थित अर्को प्रसिद्ध मनकामना मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

पूर्वराजाको भ्रमणको आन्तरिक व्यवस्थापन गर्न गोरखामा १५१ सदस्यीय नागरिक समाज गठन गरिएको थियो। राजावादीको सञ्जालबाट भगवानदास मल्लको नेतृत्वमा स्वागत समिति गठन गरिएको थियो।

पछिल्लो समय राजावादीहरू सक्रिय हुँदा गणतन्त्रवादी भनिनेहरू भने राजावादीको विरोधमा सडकदेखि संसद्‌सम्म अभिव्यक्ति दिइरहेका छन्। 

पूर्वराजा शाहले प्रजातन्त्र दिवसको दिन दिएको अभिव्यक्ति र त्यसपछि यता राजावादीहरूको सक्रियतालाई लिएर गणतन्त्रवादीहरू झस्किएका हुन्।  त्यसदिन पूर्वराजाले देशको अवस्था टुलुटुलु हेरेर नबस्ने र आफूलाई साथ दिन भन्दै जनतासमक्ष आह्वान गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad