समाज


सहारा चितवन सहकारीको ४३ करोड यी ५ कम्पनीमार्फत अपचलन

सहारा चितवन सहकारीको ४३ करोड यी ५ कम्पनीमार्फत अपचलन

नेपालखबर
माघ २२, २०८१ मंगलबार १८:३४, काठमाडौँ

सहारा चितवन सहकारी ठगीको आरोपमा ३२ जनाविरुद्ध पुरक अभियोग मंगलबार दर्ता भएको छ। ती मध्ये यसअघि नै गठीमा मुद्दा चलाइएका जीबी भन्ने गितेन्द्रबाबु राईसहितका प्रतिवादीहरु पनि छन्। उनीहरुको हकमा पनि बिगो र कसुर थप गरिएको छ।

यसअघि मूल अभियोग पत्रमा माग गरिएका ४४६ जना पीडित बचतकर्ताहरुको ३७ करोड ६५ लाख ४ हजार ५४६ रुपैयाँ १ पैसा र पुरक जाहेरी दिने १० जनाको ४३ लाख ९४ हजार ६३१ रुपैयाँ १ पैसा गरी ३८ करोड ९ लाख ७९ हजार १७७ रुपैयाँ भराई दिन माग गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, जीबी राई र रामबहादुर खनालविरुद्ध कास्की अदालतमा सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भइसकेकाले यहाँ दर्ता नगरिएको उल्लेख छ।

अन्य प्रतिवादीहरुको हकमा अनुसन्धान सकिएर प्रतिवेदन प्राप्त भएपछि कानुन बमोजिम हुने अभियोग पत्रमा उल्लेख छ।

३२ जनाविरुद्ध ठगी सम्बन्धी कसुरमा सजाय माग गरिएको छ। यस्तै १२ जनाविरुद्ध संगठित अपराधको कसुरमा पनि सजाय माग गरिएको छ। रविलाई भने ठगीबाहेकका कसुरमा कारबाही माग गरिएको छैन।

सहकारीको ४३ करोड १४ लाख ४९ हजार ९२८ रुपैयाँ ७५ पैसा ५ वटा संस्थामार्फत अपचलन गरिएको अनुसन्धानको निस्कर्ष छ। जीबीराईले विभिन्न व्यक्तिहरुसँग मिलेर खोलेका यी संस्थामध्ये कुन संस्थाबाट कति रकम अपचलन गरियो र त्यसमा ककसको संलग्नता देखियो भन्ने पनि अभियोगमा खुलाइएको छ।

सबैभन्दा बढी गोर्खा मिडिया नेटवर्कमार्फत नै अपचलन गरिएको छ। रवि लामिछाने समेत संलग्न रहेको गोर्खा मिडिया नेटवर्कबाट सहकारीको १० करोड ० लाख १ हजार १५१ रुपैयाँ ६ पैसा अपचलन गरिएको छ।

यो रकम सेयर सदस्यहरु गितेन्द्रबाबु राई, रवि लामिछाने, छविलाल जोशी र कुमार रम्तेललाई प्रतिवादी बनाइएको छ।

नेचरहर्ब्स इन्टरनेसनल प्रालिमार्फत ९ करोड ७३ लाख ८१ हजार ८९७ रुपैयाँ ४ पैसा अपचलन गरेको उल्लेख छ। यो संस्थाका जीबी राईसहित कुमार रम्तेल, अनन्तबाबु राई, कविता तामाङ र रामबहादुर खनाललाई प्रतिवादी बनाइएको छ। खनाल पनि पूर्व प्रहरी हुन्।

जीबी ग्रुपअफ कम्पनीमार्फत ९ करोड २७ लाख ५० हजार ८५४ रुपैयाँ ७४ पैसा अपचलनको अभियोग छ। यो संस्थाका जीबीसहित कुमार रम्तेल, हेमन्त अधिकारी, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी र सागर केसीलाई प्रतिवादी बनाइएको छ। उनीहरुबाट अपचलन भएको बिगो भराउन माग छ।

स्प्रिङउड रियलस्टेट एण्ड हाउजिङ प्रालिमार्फत पनि सहकारीको रकम अपचलन भएको छ। यो कम्पनीबाट ६ करोड १ लाख ८ हजार ७०३ रुपैयाँ ८ पैसा अपचलन गरेको देखिएको छ। कम्पनीका जीबीसँगै अनन्तबाबु राई र देबेन्द्रबाबु राईलाई प्रतिवादी बनाइएको छ।

नेचर नेष्ट प्रालिमार्फत ६ करोड ५१ लाख १० हजार ३२२ रुपैयाँ ८३ पैसा ठगी गरेको आरोप छ। यो रकम जीबीसँगै दिपक लामाले अपचलन गरेको आरोप छ।

यी कम्पनीमा संलग्न व्यक्तिहरुमध्ये अधिकांशलाई पहिल्यै प्रतिवादी कायम गरिएको थियो। सुरुको अभियोगमा यी कम्पनीमार्फत अपचलन गरेको रकम नखुलेको भन्दै सरकारी वकिल कार्यालयले प्रहरीलाई थप अनुसन्धान गर्न निर्देशन दिएको थियो।

प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएपछि सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको हो। तर प्रतिवादीहरुमध्ये अधिकांश फरार छन्। केही कारागारमा छन्।

रवि र छवि यसअघि अन्य सहकारीका मुद्दामा धरौटीमा रिहा भएपनि यहाँ फरार सूचीमै राखेर अभियोग दर्ता गरिएको छ। यसअघि स्वर्णलक्ष्मी सहकारी र सुप्रिम सहकारीमा पनि यसैगरी मुद्दा दर्ता गरिएको थियो।

रवि मुद्दा दर्ता हुनासाथ दुवै अदालतमा उपस्थित भएर अभियोगको सामना गरेका थिए। पोखराबाट धरौटीमा रिहा भएका छवि पनि काठमाडौँ अदालतमा उपस्थित भएर धरौटीमा रिहा भएका छन्। अब उनीहरू जिल्ला अदालत चितवनमा उपस्थित हुनुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad