समाज


अपराध अनुसन्धान र काठमाडौँ प्रहरी प्रमुख हेरफेरको तयारी, बस्नेत र अधिकारी आउने

अपराध अनुसन्धान र काठमाडौँ प्रहरी प्रमुख हेरफेरको तयारी, बस्नेत र अधिकारी आउने

नेपालखबर
माघ ३, २०८१ बिहिबार ११:१५, काठमाडौँ

नेपाल प्रहरीका केही प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सरुवाको तयारी भएको छ।

गृह मन्त्रालयले काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख र उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुखसहित एसएसपीको जिम्मेवारी हेरफेरको तयारी गरेको हो। 

काठमाडौँ प्रहरी प्रमुख वसन्त रजौरे र उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सानुराम भट्टराईलाई सरुवा गर्ने तयारी भएको हो। यी दुवै जनालाई गएको वैशाखमा रवि लामिछाने गृहमन्त्री हुँदा जिम्मेवारी दिएका थिए। 

काठमाडौँ प्रहरी प्रमुख सामान्यत: ८ महिनाभित्रमै सरुवा हुने गरेका छन्। तर यसपटक भने ९ महिनासम्म सरुवा गरिएको छैन। उनीहरूसँगै सरुवा भएर अन्यत्र पुगेका एसएसपीहरूको भने दोस्रोपटक सरुवा गरिसकिएको छ।

यसअघि रजौरेलाई काठमाडौँ प्रहरी प्रमुखमा सरुवा गर्दा त्यहाँबाट हेडक्वार्टर सरुवा गरिएका एसएसपी भूपेन्द्र खत्री र भट्टराईलाई उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा गर्दा त्यहाँबाट राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा सरुवा गरिएका सोमेन्द्रसिंह राठौरको त्यहाँबाट पनि सरुवा भइसकेको छ। 

रवि लामिछानेविरुद्ध मुद्दा चलिरहेकाले रजौरेलाई भने तत्काल हटाइएको थिएन। लामिछानेले नै रजौरेलाई काठमाडौँ प्रहरी प्रमुख बनाएकाले गृहमन्त्रीले उनकै नेतृत्वमा रविको मुद्दा टुंग्याउन चाहेका थिए।

अर्को एसएसपी लैजाँदा मुद्दा प्रभावित पार्न खोजेको आरोप लाग्ने भएपछि गृहमन्त्री रमेश लेखकले तत्काल उनको स्थानमा नयाँ एसएसपी नखटाउने निर्णय लिएका हुन्। 

अब भने मुद्दाको पुर्पक्ष सकिएकाले सरुवाको तयारी भएको हो। काठमाडौँ प्रहरी प्रमुखमा प्रहरीका केन्द्रीय प्रवक्ता विश्व अधिकारी र भैरहवा विमानस्थल सुरक्षा प्रमुख रमेश बस्नेत मध्ये एक जनालाई पठाउने तयारी छ।

स्रोतका अनुसार एक जनालाई काठमाडौँ प्रहरी प्रमुख र अर्कोलाई उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा गर्ने तयारी छ। दुवैको पहिलो रोजाइ काठमाडौँमा छ। 

यीमध्ये एउटालाई काठमाडौँ प्रहरी प्रमुख र अर्कोलाई उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा गरिने भएको छ।

यसअघि ललितपुर प्रहरी प्रमुखमा श्यामकृष्ण अधिकारी, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखमा विनोद घिमिरे, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमेन्द्र सिंह राठौर र भरतपुर तालिम शिक्षालयमा भुपेन्द्र खत्री सरुवा काज सरुवा भएका छन्। 

केही दिनअघि मात्रै २५ एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस भएको छ। उनीहरूको बढुवासँगै पदस्थापन र यसअघि काज गरिएका एसएसपीहरूको पनि सरुवा कायम गर्ने गृह मन्त्रालयको तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad