समाज


काठमाडौँमा रविविरुद्ध सरकारी वकिलको बहस- कास्की अदालतको आदेश बिर्सौँ, यहाँ थुनामै राखौँ

२ घण्टा २० मिनेटमा ५ जनाले मात्र सके बहस
काठमाडौँमा रविविरुद्ध सरकारी वकिलको बहस- कास्की अदालतको आदेश बिर्सौँ, यहाँ थुनामै राखौँ

नेपालखबर
पुस २९, २०८१ सोमबार १३:३४, काठमाडौँ

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा जारी थुनछेक बहसमा अहिलेसम्म ५ जना सरकारी वकिलले बहस सकेका छन्। 

रविविरुद्ध बहसका लागि तयार भएका ११ जना सरकारी वकिलमध्ये दिउँसो सवा १ बजेसम्म जम्मा ५ जनाले मात्र बहस सकेका हुन्।

रविविरुद्ध हालसम्म सरकारी वकिलहरू खडिन्द्रपराज पन्त, चन्द्रप्रसाद सञ्जेल, सन्तोषराज कटुवाल, राधिका सुवाल र बिना खड्का थापाले बहस गरेका हुन्। 

जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बहस भइरहेको हो। 

यसअघि न्यायाधीश अधिकारीले सरकारी वकिललाई २ घण्टामा बहस सक्न भनेका भए पनि २ घण्टा २० मिनेटमा जम्मा ५ जनाले मात्र बोलिसकेका हुन्। 

अहिले खाजाका लागि समय छुट्याइएको छ। 

यसपछि पनि सरकारी वकिलकै बहस जारी रहने अदालतले जनाएको छ। 

अहिलेसम्म बहस गरेका पाँचै सरकारी वकिलले प्रतिवादी रवि लामिछानेलाई थुनामै राखिनुपर्ने जिकिर गरेका छन्। 

उनीहरूले कास्की जिल्ला अदालतले दिएको आदेशलाई बिर्सेर यहाँ लामिछानेलाई थुनामै राखिनुपर्ने अवस्था हरेको तर्क गरेका हुन्।

बहसका क्रममा सरकारी वकिलले भने, ‘कास्की जिल्ला अदालतबाट के आदेश भयो, त्यो बिर्सौँ, यहाँचाहिँ रवि लामिछानेलाई थुनामै राखौँ।’

बहसका क्रममा सरकारी वकिलहरूले रवि लामिछाने जत्तिको व्यक्तिलाई कानुनको अनभिज्ञता क्षम्य हुन नसक्ने बताएका छन्। 

बहस गर्दै सरकारी वकिलले भने, ‘संगठित रूपमा ठगी भएको छ, ८ सयभन्दा बढी चेक काटिएका छन्, स्वर्णलक्ष्मी सहकारीकै पैसाले गाडी किनिएको छ, उहाँ रवि लामिछाने जत्तिको मान्छेलाई कानुनको अनभिज्ञता क्षम्य हुनै सक्दैन।’

सरकारी वकिलले बहस सकेपछि जाहेरवालाका तर्फबाट पनि बहस हुनेछ। जाहेरवालाका तर्फबाट अधिवक्ता सुरेन्द्र भण्डारीलगायत अधिवक्ताले बहस गर्ने तयारी छ। 

त्यसपछि मात्र प्रतिवादीका तर्फबाट बहस हुनेछ। रविका पक्षमा कास्की अदालतमा बहस गरेका पूर्वमहान्यायाधिवक्ताद्वय रमन श्रेष्ठ र सुशील पन्तले नै बहस गर्ने सूची छ।   

काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा रविसहितका अभियुक्तहरूविरुद्ध मुद्दा चलिरहेको छ।

कालिमाटीमा मुख्य कार्यालय रहेको यस सहकारीका साढे ५ हजार बचतकर्ताको १ अर्ब १९ करोड रुपैयाँ संगठित रूपमा ठगी गरेको अभियोगमा लामिछानेसहित ३९ अभियुक्तविरुद्ध गत पुस २१ मा मुद्दा दायर भएको छ। 

यस प्रकरणका दुई अभियुक्त यसअघि नै धरौटीमा छुटिसकेका छन्। मुख्य अभियुक्तमध्येका जीबी राई फरार छन् भने अर्का अभियुक्त कुमार रम्तेल कास्की कारागारमा छन्।

पोखराको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख धरौटी बुझाएर बिहीबार छुटेका रवि आइतबार काठमाडौँ अदालतमा आफैँ उपस्थित हुन पुगेका थिए। आइतबारै बयान सकिए पनि बहस हुन सकेन। जसले गर्दा अदालतले उनलाई न्यायिक हिरासतमा पठाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad