नेपालगञ्जस्थित नेपाल–भारत सीमा नजिक घर भएका राजन शाही पेशाले स्वास्थ्यकर्मी हुन्। सरकारले स्थलमार्गबाट कोरोना (कोभिड–१९) भाइरस भित्रिन नदिने दाबीमा उनलाई विश्वास छैन।
‘नाकाबाट आउनेहरुबाट भित्र्ने जोखिम एकदमै बढी छ। चेकजाँच त भइरहेको छ तर व्यवस्थित भरपर्दो तरिका उपयोग गरिएको छैन,’ उनी नेपालखबरसँग भन्छन्, ‘नाकामा ज्वरो बढी देखिएकालाई अस्पताल पठाइन्छ तर त्यसपछि ती शंकास्पदहरु कहाँ जान्छन् पत्तो हुँदैन।’ सीमा जाँचका क्रममा १०४ भन्दा बढी ज्वरो देखिनेलाई अस्पताल पठाइने गरिएको छ।
सीमामा स्वास्थ्य जाँचमा खटिएका देवीचन्द्र थापा पनि चेक प्रभावकारी हुन नसकेको स्वीकार्छन्। एकातिर नाकाबाट नेपाल भित्रिन आउनेहरुको संख्या धेरै छ अर्कोतिर जनशक्ति, उपकरण अभाव छ। यसले जाँचमा समस्या भइरहेको उनको भनाइ छ।
‘हिजो (बुधबार) ६ हजारको चेकजाँच गरेका थियौं। आज हामीले ८ हजारको गरिसक्यौं,’ बिहीबार दिउँसो नेपालखबरसँग उनले भने, ‘सीमामा चाप बढ्दोछ। ज्वरो बढी भएका संकास्पदहरु पनि आउँछन् तर हामीसँग पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट(पीपीई) छैन। भाग्ने कि ड्युटी गर्ने भन्ने अवस्था छ।’
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार कोरोना भाइरस संक्रमण भए–नभएको जाँच, नमुना संकलन तथा उपचारमा खटिँदा स्वास्थ्यकर्मीले पीपीई लगाउनुपर्छ। पीपीईमा गाउन, हेल्मेट, इमर्जेन्सी आइवास, चस्मा, मास्क, पञ्जा, बुट लगायतका सामग्री पर्छन्। यो एक पटक प्रयोग गरेपछि पुनः प्रयोग गर्न मिल्दैन।
रुपडिया नाकामा बिहान ५ देखि बेलुका ८ बजेसम्म जाँच गरिन्छ। यो नाकाबाट बुधबार मात्रै बढी ज्वरो देखिएका ५ जनालाई थप चेकजाँचका लागि भेरी अस्पताल पठाइयो। केही भारतीयलाई उतै फर्काइयो। अस्पताल पठाएकाहरुको अवस्थाबारे आफूहरुलाई थप जनकारी नहुने थापा बताउँछन्।
सुरक्षा सामाग्रीको अभावका कारण नाकामा परिचालन भएका स्वास्थ्यकर्मी कोरोना जोखिम बाबजुद काम गरिरहेका छन्। सरकारले नेपालका १४३ नाकामध्ये ४३ वटा नाकामा स्वास्थ्य जाँचको व्यवस्था गरेको छ। नेपालगञ्ज विमानस्थलमा खटिएका स्वास्थ्यकर्मी शाही पनि आफूहरुसँग सुरक्षा सामग्री नभएको बताउँछन्। ‘सामान्य ग्लोब्स र मास्ककै भरमा जोखिमपूर्ण ढंगमा चेकजाँचमा खटिनुपरेको छ,’ उनी भन्छन्।
रुपडिया नाकाको हेल्थ डेस्कका सम्पर्क व्यक्ति रामबहादुर चन्द नाकाबाट सबैजना चेकजाँच गरेर मात्रै नेपाल भित्रिने दाबी गर्छन्। अहिले स्वास्थ्यकर्मीका लागि एन–९५ मास्क तथा ग्लोब्सको व्यवस्था गरिएको उनले बताए। उपमहानगरपालिकामा पीपीई रहेको र आवश्यक पर्दा प्रयोग गरिने उनी दाबी गर्छन्।
भारतसँग आवत–जावात हुने अर्को मुख्य नाका प्रदेश १ को काँकडभिट्टा हो। त्यहाँ पछिल्लो समय चेकजाँचमा कडाइ गरिएको कतिपयको बुझाइ छ। गत आइतबार प्रदेश १ को संसदमा विशेष समय लिएर सत्तारुढ दल नेकपाका सांसद गोपालचन्द्र बुढाथोकीले सीमा चेकजाँच फितलो भएको विषय उठाए।
‘काँकडभिट्टा नाकाबाट दैनिक १ हजार २ सयदेखि १ हजार ५ सयसम्म ओहोर–दोहोर हुन्छन् तर सिमानामा स्थापना गरिएको हेल्थ डेस्कमा १६ घण्टा दुईजना स्वास्थ्यकर्मीलाई थर्मल गन दिएर खटाइएको छ,’ उनी भन्छन्, ‘सिमानामा स्वास्थ्य परीक्षण गर्न कर्मचारी पर्याप्त नहुँदा खुलेआम आवातजवात भइरहेकाले एम्बुलेन्स तयारी अवस्थामा राख्न र पर्याप्त जनशक्ति परिचालन गर्न जरुरी छ।’
बिहीबार नेपालखबरसँग कुरा गर्दै बुढाथोकीले पहिलेभन्दा अहिले अवस्था केही सुध्रिएको बताए। ‘पहिले फितलो चेकजाँच थियो तर संसदमा ध्यानाकर्षण गराएपछि काँकडभिट्टा नाकाबाट अहिले ज्वरो चेकजाँच नगरी कोही पनि नेपाल पस्न सम्भव छैन्’ उनले भने।
काकरभिट्टा नाकामा खटिएकी स्वास्थ्यकर्मी शशिकला राईका अनुसार बिहीबार बिहान ९ बजेसम्म काँकडभिट्टा नाकामा १ हजार ३१० जनाको ज्वरो मापन गरिएको छ।
‘बिहान ६ देखि बेलुका ८ बजेसम्म दुई सिफ्टमा स्वास्थ्यकर्मीहरुको टोलीले काम गरिरहेका छौं,’ उनले नेपालखबरसँग भनिन्, ‘विभिन्न संघसंस्थाका स्वयमसेवकहरु गरी १०–१२ जना खटिएका छौं। दिनमा तीन पटक यहाँको रेकर्ड विभिन्न निकायमा सम्प्रेषित गर्छौं।’ उनका अनुसार पनि सीमामा खटिने स्वास्थ्यकर्मीका लागि पर्याप्त सुरक्षा सामग्री छैन।
‘बजारमा मास्कसहितका सामाग्रीहरु पनि पाइँदैनन्। यहाँ पनि अभाव देखिन थालेको छ,’ उनले भनिन्।
दक्षिणी नाका थप कडा पार्ने तयारी
नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा कोरोना संक्रमितको संख्या १७ पुगेको छ। यसैबीच सरकारले खुला सीमा रहेको दक्षिणी छिमेकीसँगका नाकामा आवत–जावत थप कडा पार्न तयारी थालेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बिहीबार गृह मन्त्रालयमा भएको छलफलमा गृहमन्त्री रामबहादुर थापाले नाका थप कडाई गर्न लागिएको बताए।
यसबारे दुवै देशका परराष्ट्र मन्त्रालयले कार्ययोजना बनाइरहेको उनले जानकारी दिए। बैठकमा मन्त्रीहरु, सचिव तथा सुरक्षा अधिकारीहरुको सहभागिता थियो।
यो पनि: कोरोना संक्रमितका लागि भरतपुरमा ७२ घण्टामै अस्पताल तयार, भोलिदेखि सञ्चालन
प्रतिक्रिया