नेपाल पत्रकार महासंघले समाचारको विषयलाई लिएर पत्रकार गोपाल दाहालमाथि ज्यान लिनेसम्मको धम्की आइरहेको सन्दर्भमा स्थलगत अध्ययन गर्न मिसन टोली खटाएको छ।
महासंघको २७औं महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनबाट निर्वाचित केन्द्रीय समितिको आज (पुस ९गते) बसेको पहिलो बैठकले सो निर्णय गरेको महासचिव रामप्रसाद दाहालले जनाएका छन्।
सात दिनभित्र प्रतिवेदन केन्द्रीय समितिमा पेस गर्नेगरी महासंघका केन्द्रीय सदस्य कमल रिमालको संयोजकत्वमा अर्का केन्द्रीय सदस्य शंकर खरेल, वरिष्ठ पत्रकार हर्ष सुब्बा, महासंघ कोशी प्रदेश समितिका अध्यक्ष भरतबहादुर खड्का र महासंघ सुनसरी शाखाका अध्यक्ष सन्तोष काफ्ले सदस्य रहेको मिडिया मिसन खटाएको हो।
बैठकले २७औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउन योगदान गर्ने महासंघको निवर्तमान कार्यसमिति, तीनै तहका निर्वाचन समितिहरू, सरोकारवाला संघसंस्था, महासंघका सदस्यहरू, महासंघ केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीलगायत सबै पक्षप्रति धन्यवाद ज्ञापन गरेको छ।
बैठकले केन्द्र, प्रदेश र स्थानीय तहबाट निर्माण हुँदै गरेका सञ्चारसम्बन्धी कानुनहरूलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुको साथै खबरदारी गर्ने निर्णय गरेको महासचिव दाहालले जनाएका छन्।
Shares

प्रतिक्रिया