निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले परम्परागत चिनियाँ चिकित्सा सेवा सुरु गरेको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र नेपालका लागि चिनियाँ राजदूत छेन सोङले आज संयुक्त रूपमा ‘परम्परागत चिनियाँ अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र’ को उद्घाटन गरे।
मन्त्री गुप्ताले यस चिकित्सा पद्धतिले आधुनिक उपचार प्रणालीलाई समृद्ध बनाएको बताए।
‘मानव शरीर, प्रकृति र ऊर्जाको सन्तुलनमा यो विधि आधारित छ। एक्युपञ्चर, हर्बल मेडिसिन, मसाज (तुइना) र खानपानसम्बन्धी परामर्शलगायत विधिले उपचार प्रणालीलाई नै समृद्ध बनाउँदै लगेको छ’, उनले भने, ‘त्यस्तो विधि नेपालमा पनि सुरु गरिएको छ। यसले यहाँको उपचार प्रणालीलाई थप समृद्ध बनाउने विश्वास लिएको छु।’
‘इतिहासदेखि नै कायम नेपाल–चीन मित्रताको सम्बन्धलाई थप विस्तारित गर्न यस युनिटले महत्वपूर्ण योगदान दिने विश्वास लिएको छु’, मन्त्री गुप्ताले भने।
नेपालमा लागि चीनका राजदूत सोङ्ले सिभिल अस्पताललाई विश्वस्तरीय सेवाका साथ नेपालकै नमूना अस्पताल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधी पौडेलले अस्पतालले अबदेखि चिनियाँ चिकित्सा पद्धति सेवा उपलब्ध गराउने बताए। उनका अनुसार चीन सरकारले जनशक्ति, औषधि र प्रविधिसहित हाल दुई जना चिकित्सक उपलब्ध गराएर सेवा दिइने छ। रासस
Shares

प्रतिक्रिया