ad ad

समाज


कोरोनाबारे जान्नैपर्ने ७ प्रश्नका उत्तर

कोरोनाबारे जान्नैपर्ने ७ प्रश्नका उत्तर

नेपालखबर
फागुन ३०, २०७६ शुक्रबार १६:१५,

कोरोना भाइरसका कारण हालसम्म मर्नेहरुको संख्या ५ हजार नाघेको छ।

विश्वका अधिकांश मुलुकमा यसले जनजीवन भद्रगोल बनाइदिएको छ। स्कुल बन्द गरिएका छन्, खेलकुद, सभासम्मेलन स्थगित गरिएको छ। अर्थतन्त्र डामाडोल देखिएको छ।

खासगरी चीन, इटली, इरान र दक्षिण कोरिया बढी प्रभावित भएका छन्। अन्य मुलुकमा पनि कोरोनाको संक्रमण विस्तार भइरहेको छ।

कोरोनाबारे प्रायः सोधिने सात प्रश्न यस्ता छन्ः

१. के हो कोरोना भाइरस?
कोरोना भाइरस मानिस वा जीवजन्तुलाई बिरामी बनाउने भाइरसहरुको एउटा परिवार हो।

मानिसमा यी भाइरसले रुघाखोकीदेखि लिएर मर्स र सार्सजस्ता श्वासप्रश्वाससम्बन्धी रोग लगाउँछन्।

गएको डिसेम्बरमा चीनको वुहानबाट प्रकोप फैल्याएको भाइरसलाई चाहिँ कोरोना भाइरस डिजिज २०१९ (कोभिड–१९) नामाकरण गरिएको छ।

हाल यसलाई विश्वव्यापी महामारी घोषणा गरिएको छ।

२. यसका लक्षण के के हुन्?
कोभिड–१९ को सबैभन्दा बढी देखिने लक्ष ज्वरो, थकान र सुख्खा खोकी हो। सुरुमा सामान्य देखिने यी लक्षण विस्तारै बढ्दै जान्छ।

८० प्रतिशत मानिसमा कोरोनाको लक्षण सामान्य खालको मात्रै हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ।

करिब १४ प्रतिशतमा भन्ने यसले गम्भीर रोग निम्त्याउँछ। निमोनियाँ, श्वासप्रश्वासमा अप्ठेरो आइपर्छ।

करिब ५ प्रतिशत मानिसमा यसको प्रभाव खतरनाक बन्न जान्छ। अंगहरु बिग्रिन थाल्छन्।

३. भाइरस लागेको कति समयमा लक्षण देखिन्छ?
औसत ५ दिनमा। वैज्ञानिकहरुले औसतमा ५ दिनभित्र कोरोना भाइरस संक्रमणको लक्षण देखिने बताएका छन्।

विश्व स्वास्थ्य संगठनले १४ दिनसम्ममा लक्षण देखिन सक्ने बताएको छ। त्यसैले प्रायः शंका लागेका मानिसलाई १४ दिन क्वारेन्टाइनमा राख्ने गरिएको छ। तर, केही चिकित्सकले २४ दिनसम्म पनि लक्षण देखिन सक्ने बताएका छन्।

४. लक्षण नदेखिए पनि रोग सर्छ?
सर्छ। कतिपय संक्रमित व्यक्तिमा लक्षण देखिँदैन। अथवा सामान्य मात्रै देखिन्छ। तर, तिनले संसर्ग गर्ने मान्छेलाई भने भाइरस सार्न सक्छन्।

५. कोरोना भाइरस र रुघा मर्कीमा के फरक छ?
कोरोना र रुघामर्कीको लक्षण धेरैजसो मिल्दोजुल्दो हुन्छ। परीक्षण नगरी यी दुईलाई छुट्याउन सकिन्न।

कोरोनामा खासगरी ज्वरो र खोकी देखिने गर्छ। रुघामर्कीमा घाँटी दुख्नेजस्ता अन्य लक्षण पनि हुन्छ। तर, कोरोना लागेका मानिसहरुमा सास फेर्न मुस्किल हुने समस्या देखिन्छ।

६. ढोकाको चुकुल, नोटबाट भाइरस सर्छ कि सर्दैन?
महामारी फैलिएका मुलुकहरुमा मानिसहरुले सिन्काले लिफ्टको बटन थिचेको, ढोकाका चुकुलहरुको सफाइ गरेको, बैंक नोट धोएको विवरण समाचारमा आए।

कोरोना भाइरस कुनै पनि वस्तुको सतहमा केही समयका लागि जीवित रहन सक्ने हुनाले यी वस्तुबाट पनि भाइरस सर्ने जोखिम हुन्छ। त्यसैले यस्ता चीज छोइसकेपछि साबुन पानीले हात धुनुपर्छ।

तर, चिकित्सकहरुले भाइरस फैलिने मुख्य माध्यम यी चीज नभई थुक, खकारका छिटा, मानिसहरुबीचको संसर्ग भएको बताएका छन्। त्यसैले संक्रमित व्यक्तिको नजिक जानु हुँदैन।

६. सेल्फ आइसोलेसन भनेको के हो?
सेल्फ आइसोलेसन भनेको घरमै १४ दिनसम्म बस्नु हो। अफिस, स्कुल र सार्वजनिक स्थलमा नजानु, सार्वजनिक सवारी साधन नचढ्नु हो। घरमा पनि आफू अलग्गै बस्नुपर्छ।

आफूलाई आवश्यक पर्ने सरसामान अरुलाई ल्याइमाग्ने गर्नुपर्छ। अरु व्यक्तिसँग भेटघाट गर्नु हुँदैन। तौलियालगायत अरु व्यक्तिको निजी सामग्री प्रयोग गर्नुहुन्न।

७. कोरोनाको उपचार कसरी गरिन्छ?
हालसम्म कोरोनाका लागि न खोपको आविष्कार भएको छ, न यसकै लागि भनेर कुनै एन्टिभाइरल औषधि नै बनेको छ।

जो यसबाट बिरामी हुन्छन्, तिनको लक्षण निको पार्ने उपचार गरिन्छ। यसबाट धेरैजसो मानिस निको हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ।

–एजेन्सीको सहयोगमा।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .