समाज


२१ किलो अवैध चाँदीसहित तीनजना पक्राउ

२१ किलो अवैध चाँदीसहित तीनजना पक्राउ

नेपालखबर
कात्तिक ९, २०८१ शुक्रबार १९:३०, काठमाडौँ

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जबाट करिब १४ किलो अवैध चाँदीका विभिन्न गरगहना सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा प्रसौनी गाउँपालिका–६ प्रस्टोका बस्ने ३३ वर्षीय सन्तोष साह सोनार र जीतपुर सिमरा उपमहानगरपालिका–८ गमरगावाटोल बस्ने २७ वर्षीय सुरेश महतो रहेका छन्।

इलाका प्रहरी कार्यालय अमलेखगञ्ज बाराबाट खटिएको प्रहरीले ना. ५२ प २५८४ नम्बरको मोटरसाइकल चालक सन्तोषलाई करिब ९ किलो चाँदी र ना. ५५ प ३९३२ नम्बरको मोटरसाइकल चालक सुरेशलाई करिब ५ किलो चाँदी सहित पक्राउ गरेको हो।

उनीहरूले मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाई लुकाई छिपाई उक्त चाँदी ल्याएको खुल्न आएको छ।

यता, रौतहटको गौर नगरपालिका–१ स्थित गौर भन्सार कार्यालय अगाडि सडकबाट ७ किलो १ सय ८७ ग्राम चाँदीका विभिन्न गरगहना सहित भारत सितामढी बैरगनिया नगरपरिषद–८ असोगी बस्ने ६२ वर्षीय चन्देश्वर साहलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

उक्त स्थानमा खटिएको प्रहरीले भारतको बैरगनियाबाट गौरतर्फ आउँदै गरेको बीआर ३० एफ ६६३५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा ट्याङ्की मुनि प्लाष्टिकको पोकाभित्र लुकाई छिपाई राखेको चाँदीको पाउजु लगायतका उक्त तौलको विभिन्न किसिमको गरगहनाहरू फेला पारी चालक चन्देश्वरलाई पक्राउ गरेको हो।

उनलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गौरमा पठाइएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad