समाज


सशस्त्र प्रहरीद्वारा २१ लाख मूल्य बराबरका लत्ताकपडा बरामद

सशस्त्र प्रहरीद्वारा २१ लाख मूल्य बराबरका लत्ताकपडा बरामद

फाइल फोटो


नेपालखबर
असोज २३, २०८१ बुधबार २१:४, वीरगञ्ज

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोलीले भन्सार छली गरेर गोदाममा राखेको रु २१ लाख २१ हजार आठ सय मूल्य बराबरको लत्ता कपडा बरामद गरेको छ।

सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ नगवा नयाँवस्तीस्थित भारतबाट भन्सार छली ल्याएर घरमा लुकाइछिपाइ राखेको तीन वटा गोदामबाट सो परिमाणमा लत्ताकपडा बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रहरी नायब उपरीक्षक नरेन्द्रसिंह धामीले भन्सार छली गरेर तीन वटा घरमा लुकाइ राखेको अवस्थामा लत्ताकपडा बरामद भएको जानकारी दिए।

सशस्त्र प्रहरीले बरामद लत्ताकपडा र डिसी प्रोटिन पाउण्डर बिहीबार नै वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ। सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बलको सक्रियतापछि भन्सार छली गरिएका सामान तथा बिलबिजक नभएका सामानको बरामदी ह्वात्तै बढेको तथ्याङ्कले देखाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले गत आर्थिक वर्ष २०८०/८१ मा रु ३४ करोड २७ लाख ७८ हजार तीन सय ३३ मूल्य पर्ने बिलबिजक नभएको र भन्सार छलीका सामान बरामद गरेको थियो। जसमध्ये सशस्त्र प्रहरी बल पर्साले रु १४ करोड ८९ लाख ४८ हजार पाँच सय ५६ मूल्य बराबरको सामान वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको थियो।

सोही अवधिमा बिलबिजक अनुसार नभएका रु १९ करोड १६ लाख ९६ हजार नौ सय ७५ मूल्य बराबरका सामान बरामद गरेर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ।

सशस्त्र प्रहरीले आव २०७९/८०मा भने रु २४ करोड ३८ लाख ४० हजार नौ सय ३१ मूल्य बराबरको सामान बरामद गरेको थियो। प्रहरीले बरामद गरेको सामग्रीमा सबैभन्दा धेरै पेयपदार्थ, लत्ताकपडा, प्याज र मेसिनरी पार्टपुर्जा रहने गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad