ad ad

समाज


कलाकार इकुको खातामा भेटियो ६० लाख, शंकास्पद कारोबारपछि राष्ट्र बैंकको नजर

कलाकार इकुको खातामा भेटियो ६० लाख, शंकास्पद कारोबारपछि राष्ट्र बैंकको नजर

नेपालखबर
भदौ २७, २०८१ बिहिबार १६:२९, काठमाडौँ

कलाकार भिसामा युरोप पठाउँछु भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा पक्राउ परेका कलाकार इकु भन्ने सूर्यमान शंकरको खातामा ६० लाख रुपैयाँ फेला परेको छ।

उनको बैंक खातामा अस्वाभाविक कारोबार हुन थालेपछि नेपाल राष्ट्र बैंकले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई सूचना दिएको थियो।

सीआईबीले अहिले उनलाई अदालतबाट ७ दिन हिरासतमा राख्ने अनुमति लिएर अनुसन्धान गरिरहेको छ। उनको बैंक खातामा ६० लाख रुपैयाँ फेला परेको र उक्त रकम ठगीको हुन सक्ने सीआईबीको आशंका छ।

उनले युरोपका विभिन्न देशमा कार्यक्रमको तालिका बनाएर युवाहरूलाई पठाउने प्रलोभनमा पारेका थिए। यसरी उनले प्रतिव्यक्ति ३/४ लाखका दरले रकम लिइसकेको तर नपठाएर ठगी गरेको भन्दै उजुरी परेको थियो।

चार जनाले सीआईबीमा उजुरी गरेपछि इकुलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एससपी होबिन्द्र बोगटीले जानकारी दिए।

क्यानाडा, अस्ट्रेलिया तथा युरोपेली देशहरूमा देशहरूमा नेपाली सांस्कृतिक कार्यक्रम गर्ने र त्यसका लागि कलाकारको रूपमा लैजाने गरेको उनले बताएको प्रहरीको दाबी छ।

विशेषगरी भौगोलिक रुपमा विकट क्षेत्रका युवालाई युरोपेली मुलुकहरूमा राम्रो काम पाइने र आम्दानीसमेत सोहीअनुरूप आकर्षक हुने प्रलोभन देखाएको प्रवक्ता बोगटीले बताए।

उनले आफूले सञ्चालन गरिरहेको एसएमएस फिल्म्स प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा रहेको खातामा प्रतिव्यक्ति १५ देखि २० लाखसम्म रकम जम्मा गर्न लगाउने गरेको खुलेको छ।

खातामा रकम जम्मा गरिसकेपछि भिसा प्रयोजनको लागि आवश्यक पर्ने बैंक स्टेटमेन्ट लगायतका कागजातहरू समेत नक्कली बनाउने गरेको भेटिएको छ।

रकम जम्मा गर्ने पीडितहरूले भिसा तथा जाने मितिको बारेमा सोधपुछ गर्दा विदेशमा कार्यक्रमको लागि तयारी हुँदै छ र तयारी सकिएपछि खबर गर्ने भनेको पीडितको उजुरीमा उल्लेख छ।

पीडितहरूलाई लामो समयसम्म झुलाएर सम्पर्कविहीन भएपछि ठगिएको भन्दै उनीहरूले सीआईबीमा उजुरी गरेको बताएका छन्।

उजुरीपछि सीआईबीले उनलाई भदौ २५ गते काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ३ हात्तिगौंडाबाट पक्राउ गरेको थियो।

ललितपुर महानगरपालिका-२४, धपाखेल स्थायी घर भएका उनी हाल काठमाडौंको धुम्बाराही बस्दै आएका छन्।

४० वर्षीय इकुले अरूलाई पनि ठगी गरेको हुन सक्ने प्रहरीको आशंका छ। उनीबाट ठगिएको भए यथाशीघ्र सीआईबीमा सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .