समाज


त्रिशूलीमा बेपत्ताको खोजीकार्य प्रभावकारी बनाउन आफन्तको माग

गाउँ शोकमा, आफन्त चितवनमा
त्रिशूलीमा बेपत्ताको खोजीकार्य प्रभावकारी बनाउन आफन्तको माग

नेपालखबर
असार २९, २०८१ शनिबार ९:३८, चितवन

चितवनमा भएको बस दुर्घटनमा बेपत्ता भएकाहरूका परिवारजनले खोजीकार्य प्रभावकारी बनाउन माग गरेका छन्। उनीहरूले बेपत्ताको खोजी गर्न आवश्यक प्रविधि र संयन्त्रको प्रयोग गर्दै सबै शक्ति परिचालन गर्न अनुरोध गरेका छन्।

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा शुक्रबार आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशूली नदीमा दुई बस खसेका थिए।

हजुरबुबा दुर्घटनामा परेपछि शुक्रबार चितवन आएका रौतहटको गौरका विकेशकुमार पटेलले दुर्घटनापछि परिवार र गाउँनै शोकमा डुबेको बताए।

‘बिहानै दुर्घटनाको खबर पायौं, खोजी गर्न भोकभोकै नदी किनारमा बसेका छौँ,’ उनले भने।

आफ्ना भिनाजु दुर्घटनामा परेपछि रौतहटका रमेशकुमार पटेल पनि शुक्रबार नै चितवन आएका छन्। आफन्तसहित एम्बुलेन्स रिजर्भ गरेर आएको उनले बताए।

शुक्रबार रातिसम्म कोही पनि फेला नपर्दा जीवितै भेट्टाउने आश मारिसकेको उनको भनाइ छ। पटेलले भने, ‘शव फेला परे लैजान्थ्यौं। अरू त केही आश छैन।’

बाराको परसौनी गाउँपालिकाका अध्यक्ष विनोदप्रसाद जैसवालले बेपत्ताको खोजी गर्न ढिलाइ भएको गुनासो गर‍े। आफ्ना दुई छिमेकी बसमा रहेको थाहा पाएपछि घटनास्थलमा आएका उनले हेलिकप्टर र जहाज दुर्घटना हुँदा सबै संयन्त्र प्रयोग गर्ने राज्यले बस दुर्घटना हुँदा खासै वास्ता नगरेको गुनासो गरे।

पचासभन्दा बढी परिवार पीडामा रहेको भन्दै उनले राज्यका सबै संयन्त्र परिचालन गर्न अनुरोध गरे।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शुक्रबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सबै तालिमप्राप्त समूह दिनभर खटिएको बताए। ‘नदीमा पानीको बहाव घटेको छैन। राति जोखिम हुने भएकाले खोजीकार्य स्थगन गरेका हौं। आज बिहानैदेखि पुनः खोजीकार्य अघि बढाएका छौं,’ उनले भने।

यात्रु खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एउटा मोटरबोट, गोताखोर टोलीलगायत परिचालन गरिएको छ। शुक्रबार भेटिएका कपडालाई आधार बनाएर आज खोजबिन गरिने प्रजिअ यादवले बताए।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो। 

बसमा सवार तीन जना पौडिएर ज्यान जोगाउन सफल भएका थिए। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad