ad ad

समाज


बेचन झाको बयान अझै सुरु भएन, उपकरण पनि पठाएन ल्याबमा

बेचन झाको बयान अझै सुरु भएन, उपकरण पनि पठाएन ल्याबमा

उजिर कार्की
असार २१, २०८१ शुक्रबार २०:७, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको एक सातासम्म पनि प्रहरीले बेचन झाको बयान सुरु गरेको छैन। यस्तै उनको साथबाट बरामद मोबाइल पनि परीक्षणका लागि डिजिटल फरेन्सिक ल्याबमा पठाउन बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेले बताए। 

पर्साको वीरगन्ज उपमहानगरपालिका–७ का बेचन झालाई हिरासतमा राखेर अनुसन्धान गर्न बिहीबार प्रहरीले दोस्रोपटक म्याद थप गरेको छ। जिल्ला अदालत काठमाडौंले पहिलोपटक दिएको ५ दिनको म्याद बुधबार सकिएपछि उनलाई बिहीबार अदालतमा उपस्थित गराइएको थियो। 

दोस्रोपटक पनि अदालतले ५ दिनकै म्याद दिएको छ। झालाई प्रहरीले भारतमा गत शनिबार नेपाल ल्याएको थियो। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको कसुरमा ३० जनामाथि अदालतमा मुद्दा विचाराधीन छ। 

गत शुक्रबार पक्राउ परेका एमाले उपाध्यक्षसमेत रहेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई भने पुर्पक्षका लागि कारागार चलान गरिएको छ। उनी पहिलो चरणकै मुद्दामा प्रतिवादी भए पनि फरार थिए। 

झाको नाममा यसअघिका प्रतिवादीहरूले चेक दिएको पाइएको थियो। विभिन्न अभियुक्तले बयान क्रममा पनि झाको नाम लिएका थिए। तर उनको ठेगाना नखुलेको भन्दै प्रहरीले उनलाई त्यतिबेला प्रतिवादी बनाएको थिएन। अहिले पूरक अभियोगपत्र लैजाने गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको हो। 

उनी पर्साको वीरगन्ज उपमहानगरपालिका ७ का भएको पुष्टि गर्दै भारतबाट ल्याइएको छ। झाको बयान अझै सुरु नभएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठले बताए। 

‘बयानका लागि प्रहरीले हाम्रोमा ल्याएको छैन। हिजो म्याद थपका लागि ल्याएको थियो। प्रहरी अरु सूचना संकलनमा लागेको होला। जति धेरै सूचना संकलन भयो, बयान त्यति नै राम्रो हुन्छ भनेर प्रहरी सूचना÷प्रमाण संकलनमा लागेको होलाजस्तो मलाई लाग्छ,’ सहन्यायाधिवक्ता श्रेष्ठले नेपालखबरसँग भने। 

यसअघि अरू प्रतिवादीलाई पक्राउ गरेर म्याद थप गरेकै दिनबाट सरकारी वकिल कार्यालयमा बयान सुरु गरिएको थियो। तर झाको विषय गम्भीर भएकाले धेरै प्रमाण जुटाउन आवश्यक हुने श्रेष्ठ बताउँछन्। 

काठमाडौं प्रहरी प्रमुख रजौरेले पनि औपचारिक बयान सुरु नभए पनि अन्य हिसाबले अनुसन्धान भइरहेको बताए। झामाथि अनुसन्धान गर्न समय पर्याप्त रहेकाले विस्तारै सबै कुरा हुने उनको भनाइ छ। उनको साथबाट बरामद दुईवटा उपकरण परीक्षणका लागि पठाउने तयारी पनि भइरहेको उनको भनाइ छ। 

झाले सोधपुछको क्रममा भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नतता इन्कार गरेका छन्। उनले अरू को–कसको संलग्नता छ भन्ने पनि खुलाउन नमानेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको भनाइ छ। 

झा पक्राउ परेपछि पहिलो चरणमा छुटेका धेरै व्यक्तिहरूलाई अनुसन्धानमा तान्न सकिने प्रहरीको अनुमान थियो। पहिले पक्राउ परेका पूर्वगृहसचिव टेकनारायण पाण्डेले पनि बेचन झा पक्राउ परेपछि यो मुद्दाको लहरो माथिल्लो तहसम्म पुग्न सक्ने बयानमा बताएका थिए। अर्का प्रतिवादी रामशरण केसीले झालाई माथिल्लो राजनीतिक तहमा सेटिङ मिलाउन २ करोड रुपैयाँको चेक दिएको बयान दिएका थिए। उनको साथबाट प्रहरीले उक्त प्रमाण पनि बरामद गरेको थियो। 

बेचन झासम्म पुग्ने रामशरण केसीको बयान 
बिचौलियाको रूपमा देखिएका रामशरण केसीले बेचन झाबारे बयानमा केही तथ्य खुलाएका थिए। २०७८ मंसिर १३ गतेको मन्त्रिपरिषद बैठकबाट भुटानी शरणार्थीसम्बन्धी विषयमा केही निर्णय हुन लागेको र उक्त निर्णय गराउन बेचन झाले रकम मागेको केसीको बयान थियो।

उक्त निर्णय गराउनका लागि बेचन झाले रकम मागेका कारण उनलाई चेक काटेर दिन सानु भण्डारीले भनेपछि रामशरणले आफ्नो नामको हिमालयन बैंकको खाताबाट बेचन झाको नाममा २ करोड रुपैयाँको चेक काटेर दिएको बताएका थिए। 

काठमाडौँको बानेश्वरस्थित ह्वाइट हाउस कलेजअगाडि बाटोमा २०७८ मंसिर ८ गते राति ८ बजेतिर भेटेर चेक दिएको केसीको बयान छ।

झालाई दिएको चेकको फोटो खिचेर उनले प्रेमराज पन्थीलाई पनि पठाएका थिए। पन्थी नक्कली भुटानी शरणार्थी बनेर अमेरिका जान तयार भएका व्यक्ति हुन्। झालाई चेक दिँदा केसीले मोबाइलमा भिडिओसमेत खिचेको बयान दिएका थिए। 

केसीको बयान अनुसार, सानु भण्डारीले भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यको लागि मन्त्रिपरिषदबाट बेचन झाले केही निर्णयहरू गराउने बताएका थिए। 

झाबाट तानिन्छन् उच्च तहका नेता र कर्मचारी?
पहिलो चरणमा पक्राउ परेका प्रतिवादीहरूले विभिन्न उच्च तहका राजनीतिक नेता तथा कर्मचारीको पनि नाम लिएका थिए। तर प्रमाण अभाव भन्दै पहिलो चरणको मुद्दामा त्यसरी पोलिएकाहरूलाई प्रतिवादी बनाइएको थिएन। 

बेचन झालाई पक्राउ गर्न सके उच्च मतहसम्म पुग्न सकिने प्रहरीको निष्कर्ष थियो। त्यतिबेला अभियुक्तहरूले बयानमा थप आठजनाको नाम पोलेका थिए। जसमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, उनकी पत्नी नैनकला थापा, पूर्वगृहसचिवद्वय प्रेमकुमार राई र महेश्वर न्यौपाने, पूर्वप्रधानमन्त्री केपी ओलीका स्वकीय सचिव राजेश वज्राचार्य, ओलीनिकट पूर्वप्रदेशमन्त्री डा. अजयक्रान्ति शाक्य, टोपबहादुर रायमाझीका सहयोगी लीला जीसी र एमालेमै आबद्ध राजेश्वर स्थापित छन्।

अभियोगमा प्रमाण खुलेका बखत पूरक अभियोग अघि बढाउने उल्लेख छ । बिचौलिया बेचन झाको संलग्नता पनि अन्तिममा मात्रै खुलेको थियो। 

झाले राजनीतिक नेतृत्वलाई मिलाउने जिम्मा लिएको बयान प्रतिवादीहरूको थियो । गिरोहलाई तत्कालीन गृहमन्त्री बालकृष्ण खाणसम्म भेटघाटको व्यवस्था गरेर सेटिङ मिलाउने व्यक्ति झा नै भएको यसअघि पक्राउ परेका केसी लगायतको बयान थियो ।

कांग्रेसकै उच्च नेताको सिफारिसमा झाले तत्कालीन गृहमन्त्री खाण र गृहसचिव टेकनारायण पाण्डेलाई भेटेको दाबी पनि अनुसन्धान अधिकारीले गरेका थिए। 

झाले नै केशव दुलाल र सानु भण्डारीलगायतलाई गृह सचिवसँग सम्बन्ध स्थापित गराइदिएको आरोप छ। कांग्रेसका उच्च पदस्थ नेताहरूसँग उनको राम्रो सम्बन्ध रहेको देखिएको दाबी पनि प्रहरीले गरेको छ। 

काठमाडौं प्रहरीसँग भने उनले आफू विद्युतसम्बन्धी ठेक्कापट्टा गर्ने व्यक्ति भएको  बताएका छन्। 

‘उनले त हामीलाई विद्युतसम्बन्धी काम गर्ने मान्छे हुँ भन्छन् तर हामी अरू पनि के के छ, अनुसन्धान गर्दैछौ,’ काठमाडौँ प्रहरी प्रमुख एसएसपी रजौरेले भने। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .