समाज


नारायणगढ- मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण

नारायणगढ- मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण

नेपालखबर
असार १२, २०८१ बुधबार १९:४०, चितवन

नारायणगढ–मुग्लिन सडकमा सम्भावित पहिरो पन्छाउन दुई ठाउँमा उपकरण तयारी अवस्थामा राखिएको छ। बर्सातसँगै जुनसुकै बेला पहिरो खसेर सडक अवरुद्ध हुन सक्ने भएकाले पूर्वतयारी गरिएको हो।
 
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार मुग्लिनबाट पाँच किलोमिटर नारायणगढतर्फ पाँच किलोभन्ने ठाउँमा लोडर तयारी अवस्थामा राखिएको छ। नारायणगढबाट २१ किलोमिटर मुग्लिनतर्फ मौरी पुलमा स्काभेटर र लोडर राखिएको छ। यो सडकखण्ड ३६ किलोमिटर लामो छ।
 
पौडेलले पानी परेपछि जुनसुकै बेला भूक्षयको जोखिम रहेकाले उपकरण तम्तयार अवस्थामा राखिएको जानकारी दिए। थप उपकरण आवश्यक परेमा हेटौँडास्थित हेवी इक्युप्मेन्ट डिभिजन र डुम्रेको यान्त्रिक कार्यालयबाट प्रबन्ध गरिने उनले बताए।
 
सो सडकखण्डमा १५ वटा पुल बनाउँदै गरेको अनक कन्स्ट्रक्सनले पुल बनाइरहेको ठाउँमा पहिरो खसेमा पन्छाउने जनाएको छ। ती ठाउँमा ठूलो पहिरो खसेमा डिभिजन सडक कार्यालयका उपकरणसमेत प्रयोग गरिने छ। अन्य ठाउँमा खसेका पहिरो पन्छाउन सो कम्पनीले तयारी अवस्थामा राखेका उपकरणलाई प्रयोगमा ल्याइने छ।

पौडेलले भने, ‘पहिरो खसेलगत्तै पन्छाउने गरी तयारीमा छौँ।’
 
सडक कार्यालयले गरेको अध्ययन अनुसार यो सडकको २५ ठाउँ पहिरोको जोखिममा छन्। तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखिममा छन्। मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्र पहिरोको उच्च जोखिममा छ। सडकको नाम्सी, कालीखोला र तुइन खोलाको पहिरो नियन्त्रणका लागि रु ५२ करोड खर्च हुने अनुमानित लागत छ। ती ठाउँमा ‘स्लोप स्टेवलाइजेसन’ र ‘रक नेटिङ’को काम गर्नुपर्नेछ।
 
यसैगरी, पहिरोको कम जोखिम भएका गाईघाट, डुम्रे पुल, घुमाउने, सिमलताल, जलवीरे र पाँच किलोमा पनि सडक व्यवस्थापन गर्नुपर्नेछ। विसं २०८० को वर्षामा यो सडकमा ३० र २०७९ मा ३६ पटक भूक्षय हुँदा सडक अवरुद्ध भएको थियो।
 
यो सडक हुँदै नारायणगढबाट सवारीसाधन राजधानी काठमाडौँ, पोखरातर्फ जाने आउने गर्दछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad