ad ad

समाज


पे वेल र सजिलो पेका ६ जना कर्मचारी पक्राउ, हिरासतमा राख्न अदालतको अनुमति

पे वेल र सजिलो पेका ६ जना कर्मचारी पक्राउ, हिरासतमा राख्न अदालतको अनुमति

नेपालखबर
जेठ २७, २०८१ आइतबार २०:३७, काठमाडौँ

झण्डै ६१ किलो सुन तस्करीमा कनेक्सन देखिएपछि डिजिटल भुक्तानी कम्पनीहरू पे वेल र सजिलो पे का ६ जना कर्मचारी पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दोस्रो चरणको अनुसन्धानका क्रममा पक्राउ गरेका १० जनाको अनुसन्धान गर्दा यी कम्पनीको पनि कनेक्सन देखिएको भन्दै राष्ट्र बैंकको सहयोगमा अनुसन्धान अगाडि बढाएको थियो।

उनीहरूसम्म कनेक्सन देखिएका ६ जनालाई पक्राउ गरेर अदालतबाट आइतबार ६ दिनको म्याद लिएको सीआईबीले जनाएको छ। पक्राउ पर्नेहरूमा भीमप्रसाद तिमल्सिना, प्रज्ज्वल आचार्य, सुरज जबरा, सुशील बन्जारा, काश्यव मानन्धर र अथुकछाक खम्पा रहेका छन्। खम्पा मेट्रो अस्पतालमा भर्ना भएको र अरुलाई हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ।

यी कम्पनीहरूको पनि दुरुपयोग गरेको भेटिएपछि नेपाल राष्ट्र बैंकले दुवै कम्पनीमा भएका सबै खाता रोक्का राखेर अनुसन्धान गरिरहेको छ।

यी दुई कम्पनीमा सुन तस्करीमा संलग्न रहेका आरोपीहरूको करिब ३ अर्बको कारोबार देखिएको सीआईबीले जनाएको छ।

कमिसन लिएर सुन तस्करीको काम गर्नेहरूलाई यी दुई कम्पनीमार्फत गिरोहले भुक्तानी दिने गरेको खुलेको सीआईबीका निर्देशक एवं अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले बताए।

राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी पे वेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेज प्रालिबाट भइरहेका कारोबारहरू नियामकीय अनुपालनसम्बन्धी छानबिनको क्रममा रहेको राष्ट्र बैंकले जनाएको छ। यी दुई संस्थामा रहेका सम्पूर्ण खाताहरू अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको जानकारी पनि केन्द्रीय बैंकले दिएको छ। छानबिन जतिसक्दो चाँडो गरिसक्ने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ।

सुन तस्करीमा कमिसन लिएर काम गर्नेहरूलाई यी दुई कम्पनीमार्फत भुक्तानी गर्ने गरेको पाइएको छ। यी दुई कम्पनीबाट बैंकिङ प्रणालीमा रकम जाने गरेको देखिएको छ।

चिनियाँ गिरोहले हङकङबाट मोटरसाइकलको ब्रेकप्याड (ब्रेक सु) मा लुकाएर ल्याएको ६० किलो ७ सय ग्राम सुन राजस्व अनुसन्धान विभागले गत वर्ष साउन ३ गते विमानस्थलबाहिरबाट बरामद गरेको थियो। यस प्रकरणमा सीआईबीले पहिलो चरणको अनुसन्धान सकेर भदौ ३१ गते २९ जनाविरुद्ध अदालतमा अभियोगपत्र दायर गरिसकेको छ।

उनीहरूमध्ये केही अहिले पुर्पक्षका लागि थुनामा छन् भने केही धरौटीमा छुटेका छन्। तर अनुसन्धानमा कमजोरी भएको भन्दै जाँचबुझ आयोग गठन गरिएको थियो। आयोगले अनुसन्धानमा लापरबाही भएको भन्दै विभिन्न व्यक्तिहरूमाथि थप अनुसन्धान गर्न राय दिएको थियो।

सीआईबीले उक्त प्रतिवेदनअनुसार र यसअघिको अनुसन्धानमै फरार रहेका व्यक्तिलाई पक्राउ गर्दै थप तथ्य बटुलिरहेको छ।

दोस्रो चरणको अनुसन्धानमा काभ्रेको तेमाल गाउँपालिका–४ का ४५ वर्षीय कान्छामान लामा, वीरगन्ज महानगरपालिका–११ घर भएका ५२ वर्षीय सुरेन्द्रमान श्रेष्ठ, भारत घर भई ललितपुर बस्ने २२ वर्षीय प्रशान्त गणेश बजवलकर, भारत महाराष्ट्र घर भई न्युरोड बस्ने सिद्धनाथ अशोक गायकवाड ‘सिद्धार्थ’ र भारत नै घर भई न्युरोड बस्ने धीरज निदेश बैटे सीआईबीको हिरासतमा छन्।

यस्तै, धादिङको सिद्धलेक गाउँपालिकाका प्रेमनाथ सेडाईं, भक्तपुर सूर्यविनायकका राजु खत्री, उदयपुरको त्रियुगा नगरपालिकाकी उषा खत्री निरौला, गोरखाको बारपाक सुलिकोट गाउँपालिका–५ का १८ वर्षीय सायरी विक र बौद्ध बस्ने तिब्बती नागरिक गंगा टासीलाई पनि सीआईबीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

उनीहरू पहिलो चरणको अनुसन्धानबाट उम्किएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .