ad ad

समाज


प्रेम, यौन र अस्वीकृति सम्हाल्न नजान्दा हत्यादेखि आत्महत्यासम्म

प्रेम, यौन र अस्वीकृति सम्हाल्न नजान्दा हत्यादेखि आत्महत्यासम्म

राधिका अधिकारी
चैत १०, २०८० शनिबार १२:४५, काठमाडौँ

पछिल्लो एक सातामा देशका विभिन्न स्थानमा ४ किशोरीका शव फेला परे। दुई किशोरीको शव हत्या गरिएको अवस्थामा फेला पर्‍यो भने दुई किशोरीले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

फागुन ३० गते काठमाडौँको तारेभिरमा किशोरीको शव फेला पर्‍यो। गाडिएको अवस्थामा फेला परेको शव १८ वर्षीया सुष्मा लामाको थियो। बुढानीलकण्ठ बस्ने सुष्मा कक्षा १२ मा पढ्थिन्। सुष्माको एकतर्फी प्रेममा परेका २१ वर्षीय रुपेन्द्र लामाले उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्यो। आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेपछि योजना बनाएर सुष्माको हत्या गरेको रुपेन्द्रले प्रहरीमा बयान दिए। यी दुवै एकै गाउँका छिमेकी थिए। 

चैत २ गते काठमाडौंको पशुपति क्षेत्रको जंगलमा एक किशोरीको शव भेटियो। कपन बस्ने १९ वर्षीया सुस्मिता थापाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानले सुस्मिताले आत्महत्या गरेको देखाएको छ। गौशाला प्रहरीले उनलाई आत्महत्या गर्न बाध्य पार्ने कारणको खोजी गरिरहेको छ। 

चैत २ गते नै मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्सको हत्या भयो। २२ वर्षीया चन्द्रिकाकुमारी दासको शव अस्पतालनजिकै रहेको डेराको बाथरुममा फेला परेको परेको थियो। धारिलो हतियारले हानेर उनको हत्या भएको देखियो। उनको शव भेटिएसँगै उनका प्रेमी शिवशंकर धानुक सम्पर्कविहीन थिए। दासको हत्यामा धानुक संलग्न भएको हुनसक्ने प्रहरीले अनुमान गर्‍यो। प्रेममा उत्पन्न खटपट एवं सम्बन्धमा देखिएको दरार हत्याको कारण हुनसक्ने प्रहरीको आशंकाबीच होटलको कोठामा झुन्डिएको अवस्थामा दासको शव फेला पर्‍यो। 

चैत ७ गते सुनसरीको धरानमा २१ वर्षीया सुमना श्रेष्ठको शव फेला पर्‍यो। धरान उपमहानरपालिका–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाननजिक एकान्त ठाउँमा भेटिएको सुमनाको शव घाँटी रेटेर हत्या गरिएका अवस्थामा भेटिएको थियो। सुमनाको हत्यापनि प्रेमसँगै जाडिएर आयो। सुमना अर्कैको प्रेममा परेपछि रिसाएका धनकुटाका बाबुराम भुजेलले उनको हत्या गरेको खुल्यो, जो पक्राउ परिसकेका छन्।

यी चारवटै घटनामा कहीँ न कहीँ प्रेम, अस्वीकृति र यौन जोडिएको समाजशास्त्री तथा मनोविद्‍हरू बताउँछन्। एकै साताभित्र खुलासा भएका यी सबै घटनामा युवाको संलग्नता देखिन्छ। प्रेमिका अथवा साथीको हत्यामा संलग्न भएका धेरैले क्षणिक आवेगका कारण हत्या गरेको बताउँछिन् मनोविद् डा. करुणा कुँवर । परिवारका सदस्यले सामाजिक नियम र मानवीय सम्बन्धका बारेमा आफ्ना बच्चालाई बुझाउन नसक्दा यस्ता खाले घटना बारम्बार दोहोरिने उनको तर्क छ। 

किशोरावस्थाका केटाकेटीले आफ्नो भावना व्यक्त गर्ने उपयुक्त ठाउँ र हौसला नपाउँदा पनि आपराधिक बाटोतर्फ मोडिन सक्ने भन्दै डा. कुँवर अभिभावकलाई सचेत रहन आग्रह गर्छिन्। कुँवर भन्छिन्, ‘केटाकेटीको अवस्था बुझ्ने गर्नुहोस्। उनीहरू कसरी दिन बिताउँछन् र केमा व्यस्त हुन्छन् भन्ने जानकारी राख्नुहोस्। उनीहरूको लागि आफू सधैँ साथमा रहेको आभास दिनुहोस् र जस्तोसुकै महसुस गरिरहेका वा सोचिरहेका भए पनि आफूलाई भन्न आग्रह गर्नुहोस्।’ 

संगत, हुर्काइको संस्कार, मानसिक अवस्थाका कारण पनि धेरैले आपाराधिक बाटो समात्ने कुँवरको भनाइ छ।

‘किशोरावस्थाको मानसिक स्वास्थ्यका बारेमा खुलेर कुरा गर्नु पर्छ। तर, हाम्रो यो खालको अभ्यास छैन,’ कुँवर भन्छिन्।

हालसालै भएका चार घटनामध्ये एक घटनामा संलग्न युवाले आफूले पनि आत्महत्या गरेका छन्। मनोविद् गोपाल ढकाल यस किसिमको घटना आवेगप्रेरित हुने भएकाले अपराध गरिसकेपछि कुनै योजना नहुने भएर पछुताएर आत्महत्या गर्ने गरेको देखिएको बताउँछन्।

ढकाल भन्छन्, ‘हत्या गरिसकेपछि अभियुक्तले आफूलाई सन्तुलनमा राख्न सक्दैन र आत्महत्या गर्छ।’

पछिल्लो समय पारिवारिक अपराधका घटना बढेर गएका छन्। प्रहरीको तथ्यांकले पनि हत्या भएका धेरैको आफन्तको हातबाट मृत्यु भएको देखाएको छ। माथि उल्लेख गरिएका २ घटनामा पनि किशोरीलाई प्रेम गर्छु भन्नेले उनै उनीहरूको हत्या गरेका छन्। एक घटनाका संलग्न प्रक्राउ परेका छन्। एक घटनामा संलग्नले आत्महत्या गरेका छन्। यस्ता धेरै घटना आवेशजन्य हुने गरेको मनोविद् ढकाल बताउँछन्। 

भन्छन्, ‘उसले मार्छु, यसो गर्छु भन्ने सोचेर अपराध गरेको हुँदैन। जे गरेको हुन्छ, आवेशमै अपराध गरेको हुन्छ। आवेशमै कसैको हत्या गरिसकेपछि आफू पनि आवेशमै आत्महत्या गर्छ।’

यस्ता घटना मानसिक स्वास्थ्यसँग पनि जोडिने ढकाल बताउँछन्। 

‘कतिपय अवस्थामा मानसिक समस्या भइसकेपछि मानिसले आफ्नो आवेगलाई सन्तुलनमा राख्न सक्दैन। मानिसक समस्यामा परेका व्यक्तिको एउटा लक्षण अथवा कमजोरी भनेको त्यो पनि हो। मनलाई नियन्त्रणमा राख्न नसक्नुका धेरै कारण हुन्छन्। एउटा व्यक्तिगत कमीकमजोरी भयो, जसलाई हामी ‘पर्सनालिटी डिसअर्डर’ भन्छौँ।

‘यो समस्या भएको व्यक्ति चाँडै उत्तेजनामा आउँछ,’ ढकाल भन्छन्, ‘अर्को जाँड, रक्सी र लागुपदार्थ खाएका बेला पनि मान्छेले आफ्नो आवेगलाई सन्तुलित राख्न सक्दैन। अर्को ‘साइकोप्याथ’ भएका व्यक्तिले घरपरिवार, माया, प्रेम, सम्मान केही पनि बुझ्दैन।’

तनाव, एन्जाइटी, डिप्रेसन लगायतका कारण पनि युवाहरू अपराधमा संलग्न हुन सक्ने ढकालको तर्क छ। जीवनशैली, महत्वाकांक्षा, प्रतिस्पर्धा, असफलता, कुण्ठा लगायत कारणले पनि युवाले जघन्य अपराध बाटो समात्न सक्ने ढकाल बताउँछन्।

उनी भन्छन्, ‘घटनाको प्रकृति हेरेर कुन मनसाय राखेर वा बेहोसीमा गरेको भन्ने थाहा पाइन्छ। अपराध गरिसकेपछि क्षणमै पछुताएर आफूलाई सन्तुलनमा राख्न नसकी आत्महत्या गरेको पनि देखिन्छ। अपराधमा संलग्न भएर पक्राउ परेकाहरूको मानसिक स्वास्थ्यका बारेमा पनि सचेत हुनु पर्छ।’

किशोरकिशोरीलाई हार्न पनि सिकाउनु पर्छ : डा. करुणा कुँवर
किशोरावस्थाका केटाकेटी धेरै द्विविधामा बाँचेका हुन्छन्। उनीहरूलाई अहिले जे भैरहेको छ, त्यही ठिक र ठूलो लाग्छ। किशोरावस्थामा साथीको महत्व धेरै हुन्छ। प्रेममा परेको छ भने आफ्नो प्रेमी अथवा प्रेमिकालाई असाध्यै नजिक र सबथोक ठानेका हुन्छन्। माथि भनिएको एउटा घटनामा प्रेम अस्वीकारपछि प्रेमिकाको हत्या गरी खाल्डोमा गाडेको देखिन्छ। 

किशोरावस्थाका केटाकेटी प्रेममा पर्छन्। उनीहरूको प्रेम सफल पनि हुन सक्छ, असफल पनि। प्रेम असफल भएपछि अथवा अस्वीकार भएपछि कसरी तनाव व्यवस्थापन गर्ने भन्ने विषयमा ठूलाहरूसँग कुरा गर्ने वातावरण भएको भए, उनीहरूको मानसिकता अध्ययन गर्न सकेको भए यति ठूलो अपराध नहुन सक्थ्यो। हत्यापछि आत्महत्या पनि तनाव व्यवस्थापन गर्न नसकेरै भएको हो। यो अवस्थाका युवायुवतीलाई गाइडेन्सको एकदमै ठूलो आवश्यकता हुन्छ। अभिभावकको मात्रै होइन, स्कुल अथवा कलेजको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ।

यस्ता घटना भैसकेपछि पनि किशोरावस्थाका युवायुवतीसँग खुलेर कुरा गर्नु पर्छ। यस्ता खालका घटनालाई पाठका रुपमा लिएर आफ्ना हरेक संवेगहरू सेयर गर्न आफ्ना केटाकेटीलाई सम्झाउनु पर्छ। यस्ता घटनाका बारेमा खुलेर कुरा गर्दा युवाहरू उस्तै कार्यमा प्रेरित हुन्छन् भन्ने अभिभावकको बुझाइ छ। तर, पाठका रुपमा लिन सकिन्छ। यस्ता घटनाका बारेमा आफ्ना छोराछोरीलाई राम्रोसँग जानकारी दिनुपर्छ। उनीहरूलाई तिमी पनि प्रेममा पर्न सक्छौ। तिम्रो प्रेम सफल पनि हुन्छ, असफल पनि हुन्छ। असफल भए तिमीलाई दुःख, रिस, क्रोध उत्पन्न हुन सक्छ।

तिमीमा नराम्रो भावना आउन सक्छ। त्यो क्षणिक आवेग हो। त्यसो भएको खण्डमा हामीलाई आएर भन्नू भनेर सिकाउनु पर्छ। किशोरावस्थाका आफ्ना छोराछोरीलाई हार्न पनि सिकाउनु पर्छ। हार्दैमा जिन्दगी सकिँदैन भन्ने बोध उनीहरूमा गराउन सक्यो भने पनि केही हदसम्म यस्ता खालका अपराध कम गर्न सकिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .