ad ad

समाज


टोकनाथको कहानीः नक्कली सुन देखाएर बैंकको ४ करोड ठगे, अमेरिका पठाइदिने भनी करोड असुले

टोकनाथको कहानीः नक्कली सुन देखाएर बैंकको ४ करोड ठगे, अमेरिका पठाइदिने भनी करोड असुले

नेपालखबर
फागुन २८, २०८० सोमबार १३:३५, काठमाडौँ

सप्तरीको कञ्चनपुर घर भएका टोकनाथ साह आफूलाई दीपक सोनी भनेर चिनाउँथे। गोजीमा दुई–तीनवटै मोबाइल बोकेर हिँड्थे। आफूलाई एकदमै व्यस्त भएको देखाउँथे। अमेरिका जान चाहने युवाको लाइन लाग्थ्यो।

यो २०७१–०७२ सालतिरको कुरा हो।

अमेरिका कसरी जाने, त्यहाँ कसरी काम गर्ने भनेर उनी फोटो देखाउँथे। कतिपय व्यक्तिसँग अमेरिकाबाटै कुरा गरेको भान पार्थे। बेरोजगार नेपाली युवालाई अमेरिका पठाइदिने सुनिश्चितता पाएपछि अरु के चाहियो र? घरखेत र गरगहना बेच्न तयार भइहाल्थे। 

सप्तरीदेखि सिन्धुपाल्चोकका गाउँबाट मान्छेलाई जालमा पार्ने उनको खुबी थियो। उनको यस्तै फन्दामा उनकै गाउँका अली थरका युवक परे। उनलाई अमेरिका पठाइदिने सपना देखाएर ३० लाख ५० हजार रुपैयाँ असुले।

अरुलाई ५० लाख लाग्ने भए पनि आफ्नै जिल्लाको मान्छे भएकाले साढे ३० लाखमा पठाइदिने वचन दिए। बरु अरु केटाहरू पनि भेला पार्न टोकनाथले अलीलाई भने।

अलीसँगै उनका अरू केही साथीहरू पनि भेला भएर टोकनाथलाई साढे ३० लाखका दरले नै रकम तिरे। तीन जनाबाट ९१ लख ५० हजार पारेपछि भने टोकनाथ सम्पर्कविहीन हुन थाले।

पीडित अली भन्छन्, ‘आजआज, भोलिभोलि भन्दै हामीलाई झुलाए। पछि त बेपत्ता नै भए। हामीलाई बर्बाद पारे।’

दिन बिते, महिना बिते, वर्ष बिते। तर, टोकनाथले उनीहरूलाई विदेश पठाएनन्। अमेरिका त पठाएनन्, रकम पनि फिर्ता गरेनन्। बरु मोबाइल नम्बर नै फेरेर सम्पर्कविहीन हुन थाले।

१५ वटा मोबाइल नम्बर
हैरान भएपछि ३ जना पीडितले वैदेशिक रोजगार विभागमा २०७३ असोज १७ गते नै उजुरी दर्ता गराए। विभागले दीपक सोनी भनिने तिनै टोकनाथ शाहलाई पक्राउ गरेर सहयोग गर्न नेपाल प्रहरीका काठमाडौँ र सप्तरीमा भएका विभिन्न एकाइलाई धेरैपटक पत्राचार गरिसकेको कागजातबाट देखिन्छ। 

पछिल्लोपल्ट २०८० कात्तिक १९ गते पनि विभागले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई यसैगरी पत्राचार गर्‍यो।

अपराध अनुसन्धान कार्यालयले यसपालि भने उनको सबै सूचना र विवरण संकलन गरी पक्राउ गरीछाड्ने योजना बनायो। उनी कहाँ बस्छन्, के खान्छन्, कोसँग हिँड्छन् र केकस्तो कारोबार छ भन्ने सबै विवरण संकलन गरेपछि प्रहरीले निगरानी गर्न सहज भयो।

बौद्ध क्षेत्रमा उनी लुकीछिपी बसेको पत्ता लागेपछि प्रहरीले त्यही क्षेत्रमा घेरा हाल्यो। आइतबार मध्यराति बौद्ध क्षेत्रबाटै उनी पक्राउ परेका छन्।

यसअघि पनि पीडितले नै संकलन गरेर टोकनाथले प्रयोग गर्ने गरेका १५ वटा मोबाइल नम्बर अनुसन्धान गर्ने निकायमा नटिपाएका होइनन्। टोकनाथको घरठेगाना समेत देखाएका थिए। तैपनि, उनलाई कानुनी कारबाहीको दायरामा ल्याउन राज्य संयन्त्र असफल हुँदा पीडित निराश थिए।

प्रहरीले पक्राउ गरेपछि भने ढिलै भए पनि न्याय पाइने आशा पीडितले व्यक्त गरेका छन्।

बैंकलाई नै ठगे जसले 
सप्तरी जिल्ला, तत्कालीन कन्चनपुर गाविस–७ का रामसुन्दर साह, उनका छोराहरू टोकनाथ साह र हरिनारायण शाहले पहिला सुन पसल सञ्चालन गर्थे।

सप्तरीको कञ्चनपुरमा रहेको कञ्चन ज्वेलर्स पनि ठगीको अखडा रहेको पाइएको छ। उनीहरूले त्यहाँ पनि नक्कली सुनको कारोबार गर्ने गरेको तथ्य पनि फेला परेको छ।

कतिसम्म भने बैंकलाई समेत नक्कली सुन देखाएर करोडौँ ठगेको पाइएको छ। नेपाल बैंक लिमिटेड कन्चनपुर, सप्तरीमा उनीहरूले नक्कली सुन धितो राखेर ४ करोड १४ लाख ८४ हजार रुपैयाँ ऋणका नाममा घोटाला गरेका थिए। त्यस मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरिसक्दा पनि उनी फरार थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .