ad ad

समाज


अबदेखि बौद्धमार्गीलाई सहभागी नगराई पात्रो बनाए आन्दोलन गर्ने चेतावनी

ताप्लेजुङ जिल्ला प्रशासनमार्फत गृह मन्त्रालयलाई पत्र
अबदेखि बौद्धमार्गीलाई सहभागी नगराई पात्रो बनाए आन्दोलन गर्ने चेतावनी

शेर्पा संघका तर्फबाट ताप्लेजुङकी प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेललाई आइतबार ज्ञापनपत्र बुझाइँदै।


नेपालखबर
फागुन २८, २०८० सोमबार १३:४३, काठमाडौँ

ताप्लेजुङस्थित शेर्पा समुदायका संघसंस्थाले अबदेखि नेपाल पञ्चांग निर्णायक समितिले बौद्धमार्गीलाई सहभागी नगराई पात्रो प्रकाशन गरे आन्दोलन गर्ने चेतावनी दिएका छन्। 

नेपाल पञ्चांग निर्णायक समितिको गल्तीले गर्दा एक महिनाअघि माघ २७ गते नै मनाइएको शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारको सार्वजनिक बिदा सरकारले फागुन २८ गते (आज) दिएको भन्दै शेर्पाहरूको छाता संगठन नेपाल शेर्पा संघको ताप्लेजुङ जिल्ला कार्यसमिति र यसका भ्रातृ संस्थासमेत चार संस्थाले संयुक्त रूपमा सरकारको ध्यानाकर्षण गराएका हुन्। 

त्यसो त ताप्लेजुङको शेर्पा जातीय चार संस्थाले अघिल्लो दिन (फागुन २७ गते) नै प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलमार्फत गृह मन्त्रालयलाई ध्यानाकर्षण पत्र पठाएका हुन्। तर स्थानीय प्रशासनदेखि गृह मन्त्रालयसम्मले उक्त आवाजको सुनुवाइ गरेको पाइएन। 

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा उनीहरूले बुझाएको ज्ञापनपत्रमा भनिएको छ,‘विगत धेरै वर्षदेखि नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले तयार गरी प्रकाशन गर्ने पात्रोमा बौद्ध मार्गीहरूको महत्त्वपूर्ण चाडपर्वहरूको तिथिहरूलाई नजरअन्दाज गर्दै आएको देखिन्छ। यस वर्ष शेर्पाहरूको महान् चाड २१५१औँ ग्याल्पो ल्होसार गत माघ २७ गतेका दिनमै परेको भए तापनि नेपाल पञ्चांग निर्णायक विकास समितिले तयार गरिएको पात्रोलाई आधार मानेर नेपाल सकारले फाल्गुण २८ गतेका दिनलाई ग्याल्पो ल्होसार भनेर सार्वजनिक बिदा उल्लेख गरी समग्र हिमाली बौद्ध मार्गीहरूको चाड पर्वको तिथि नै भ्रममा पारिएको छ। यस विषयमा गम्भीर आपत्ति जनाउँदै आगामी दिनहरूमा यस्तो गल्ती नगर्न जिल्ला प्रमुख आधिकारीमार्फत नेपाल सकारलाई ध्यानाकर्षण गराउँदछौँ।’

परिचयका क्रममा बुद्ध जन्मेको देश भनेर भन्ने गरिए पनि यहाँ बसोबास गर्ने बौद्ध मार्गीहरूको महत्त्वपूर्ण तिथि मिति, चाडपर्वलाई भने बेवास्ता गरी बौद्धमार्गी तथा सोजा सिधा शेर्पा समुदायविरुद्ध सरकारले विभेद गरिरहेको गुनासो उनीहरूले गरेका छन्। 

ज्ञापनपत्रमा अगाडि भनिएको छ, ‘महायानी बौद्धमार्गीहरूको सम्पूर्ण चाडपर्वहरू भोट चन्द्र पात्रो (दाथो) मा आधार गरी मान्ने, मनाउने भएकाले आगामी दिनमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले सोही पात्रोमा रहेको तिथि, मितिअनुसार सार्वजनिक बिदा दिने व्यवस्था गरियोस्। साथै नेपाल पञ्चांग निर्णायक विकास समितिले वार्षिक रूपमा पात्रो तयार गर्दा बौद्धमार्गीहरूको छाता संगठन नेपाल बौद्ध महासंघलाई प्रतिनिधिमूलक सहभागी गराई समन्वय गराउन अनुरोध गर्दछौँ। यदि आगामी दिनहरूमा नेपाल पञ्चांग निर्णायक विकास समितिमा बौद्धमार्गीहरूको सहभागिताबिना पात्रो तयार गरी प्रकाशन गरिएमा विभिन्न आन्दोलनको कार्यक्रम तय गरी अघि बढ्ने यसै ज्ञापनपत्र मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण गराउँदछौँ।’

हेर्नुहोस् ज्ञापनपत्र

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .