ad ad

समाज


भित्रबाट चुकुल लगाएर होस्टेलको कोठामा एक्लै बसेकी थिइन् शालिन

बिहानै नुहाएपछि साथीहरूसँग ग्राउन्डमा खेलेकी थिइन्
भित्रबाट चुकुल लगाएर होस्टेलको कोठामा एक्लै बसेकी थिइन् शालिन

फाइल तस्बिर


नेपालखबर
फागुन २०, २०८० आइतबार १४:४३, काठमाडौँ

गत शनिबार बिहान १० बजे चितवनको रत्ननगर नगरपालिका–१५ स्थित एकता शिशु निकेतन स्कुलको होस्टलमा बस्दै आएकी १४ वर्षीया शालिन पोखरेलको पोस्टमार्टम रिपोर्ट आइतबार आएको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले दिएको उक्त रिपोर्टमा उनको बलात्कार नभएको पुष्टि गरेको छ। 

यससँगै पोस्टमार्ट रिपोर्ट शालिनको मृत्युको कारण ‘ह्याङ्गिङ’ भनेको छ। अर्थात् उनको मृत्यु झुन्डिएरै भएको निष्कर्ष पोस्टमार्टम रिपोर्टले दिएको छ।

प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार पोस्टमार्टम रिपोर्टअनुसार शालिनको मृत्युको कारण आत्महत्या नै रहेको टुंगो भएको छ।

एक प्रहरी अधिकारीका अनुसार बिदाको दिन भएकाले शनिबार बिहान शालिन र उनीसँगै कोठामा बस्ने अर्की साथीले नुहाउने र लुगा धुने काम गरेका थिए।

दुवैजनाले नुहाएर, लुगासमेत धोइसकेपछि होस्टेलको ग्राउन्डमा झरेर खेलेका पनि थिए। 

‘शालिनसहित उनको कोठामा बस्ने साथीसहित अरुले पनि शनिबार बिहानै नुहाईधुवाई गरेका थिए। लुगासमेत धोइसकेर उनीहरूले ग्राउन्डमा खेलेका पनि थिए’, ती प्रहरी अधिकारीले भने, ‘ग्राउन्डमा खेलिसकेपछि शालिन आफ्नो कोठामा छीरेकी थिइन् भने उनकी साथी तल ग्राउन्डमै थिइन्। बिहान १० बजे खाना खाने समय भएपछि शालिनको खोजी गरिएको थियो। ग्राउन्डमा नदेखेपछि खाना बनाउनेमध्ये एकजना उनलाई खोज्दै कोठामा पुगेका सीसीटीभी फुटेजमा देख्न सकिन्छ।’

खाना पकाउने ती व्यक्तिले भित्रबाट चुकुल लगाएको थाहा पाएपछि बाहिरबाट शालिनलाई खाना खानका लागि ढोकामा ढक्ढक्याएर बोलाएका ती प्रहरी अधिकारीले बताए। 

‘खाना खाने समय अरु साथीहरू सबै ग्राउन्डमा थिए। खाना बनाउनेमध्ये एउटा भाइ बोलाउन कोठामा गएका देखिन्छ। उनी बोलाउन गएको दृश्य सीसीटीभी फुटेज पनि छ। तर ढोका भित्रबाट लक थियो। उनले ढोकामा डङडङ हाने, बोलाएर उनी तल झरिसकेका थिए’, उनले भने, ‘तर शालिनले ढोका नखोलेपछि त्यतिकै तल झरेका उनले त्यसबारे जानकारी गराए। धेरै बेरसम्म शालिनको ढोका नखुलेपछि वार्डेनसहित ६ जना माथि गएको देखिन्छ। जहाँ उनीहरूले फेरि ढोका ढक्ढक्याउँदा पनि शालिनको कुनै जवाफ आएको थिएन।’ 

ती प्रहरी अधिकारीका अनुसार त्यसपछि उनीहरूले ढोकामा बाहिरबाट जोडले लात्ती हाने। ‘लात्तीले हानेर उनीहरूले ढोका फोडे। त्यसबेला वार्डेनसहित पाँच-सात जना सँगै छन्। लात्ती हानेपछि ढोका खुल्दा कोठाभित्र मान्छे झुन्डिरहेको अवस्थामा देखियो’, उनले भने, ‘त्यसपछि उनीहरूले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए। प्रहरी तत्कालै पुग्दा वार्डेन पनि त्यहीँ थिए।’

शालिनाका आमाबुवाले सम्बन्धबिच्छेद गरिसकेका थिए। सम्बन्धविच्छेद गरेका उनीहरूले अर्को बिहेसमेत गरिसकेका थिए। बुवा काठमाडौंमा बस्थे भने आमा वैदेशिक रोजगारीमा थिइन्। सम्बन्धविच्छेदपछि आफ्नो नयाँ बन्दोबस्त गरिसकेका उनीहरूले शालिनलाई भने होस्टेलमा राखिदिएका थिए। 

घटनालगत्तै प्रहरीले नै शालिनका काठमाडौंमा रहेका बुवालाई घटनाबारे जानकारी गराएर बोलाएको थियो।  

‘घटनाबारे तत्कालै उनका बुवालाई फोन गरेर खबर गरियो। त्यसभन्दा पहिले शालिनका काका आएर घटनास्थलमा थिए। बुवा आएपछि मात्रै पोस्टमार्टम गर्ने भनेपछि उनलाई काठमाडौंबाट पुलिसले नै टिकट काटेर ल्याएको हो’, ती प्रहरी अधिकारीले भने, ‘बुवा आइपुग्दा बेलुकाको ६ बज्यो। तर काकाले नमानेपछि उनलाई नियन्त्रणमा लिएर शव लानुपर्ने अवस्था आयो। सुरुमा चितवनमै पोस्टमार्ट गर्ने भनिएको थियो। तर अभिभावकको मागअनुसार शालिनको शव काठमाडौंमा पोस्टमार्टम गराइएको हो।’

प्रहरीले एकता शिशु निकेत स्कुल चितवनकै राम्रोमध्येमा पर्ने जनाएको छ। ‘एकता शिशु निकेतन स्कुल चितवनमै राम्रोमध्येमा पर्छ। टाँढीमा भए पनि यसमा १२ सयभन्दा बढी विद्यार्थी टाँडीमा छन्’, ती प्रहरी अधिकारीले भने, ‘यो घटनालाई लिएर स्कुलको प्रतिष्ठा ड्यामेज गर्ने गरी एउटा खेल्ने तत्वले काम गरेका देखियो। यही मौकामा स्कुलको बदनाम पनि गर्न खोजियो। खासगरी युट्बुयर र सामाजिक सञ्जाल प्रयोगकर्तालाई त्यसमा प्रयोग गरेको देखियो।’

प्रहरीले पोस्टमार्टम रिपोर्ट नआउँदै केही युट्बुयर र सामाजिक सञ्जालका प्रयोगकर्ताले शालिनको बलात्कार भएको भनेर प्रचार गरेकोमा आपत्ति प्रकट गरेको छ।

‘घटनाको गम्भीरता हामीले बुझेका छौँ। त्यही भएर यसको गम्भीर अनुसन्धानमा लागेका छौँ’, ती प्रहरी अधिकारीले भने, ‘त्यहीकारण पोस्टमार्ट रिपोर्ट नआए पनि वार्डेनसहितलाई हामीले हिरासतमा लिएका छौँ। तर युट्युबर र सामाजिक सञ्जालका प्रयोगकर्ताले यो केसलाई गिजोल्ने कोसिस गरे। युट्युबर र सोसल मिडियामा अनावश्यक हल्ला चलाउने काम भयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .