ad ad

समाज


बिहीबार हिउँदयताकै ठूलो वर्षा

बिहीबार हिउँदयताकै ठूलो वर्षा

बिहीबार हिमपातपछि सेताम्मे भएको सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल आसपासको क्षेत्र। तस्बिर : सुवास दर्नाल/रासस


नेपालखबर
फागुन ११, २०८० शुक्रबार ८:१४, काठमाडौँ

बिहीबार भएको वर्षा हिउँदयताकै ठूलो वर्षा भएको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार हिउँद लागेयता यति ठूलो वर्षा भएको थिएन। 

‘बिहीबार भएको वर्षा हिउँदयताकै ठूलो वर्षा हो’, उनले भनिन्, ‘बिहीबार देशव्यापी रूपमा वर्षा भएको छ, यस्तो वर्षा यस हिउँदमा अहिलेसम्म भएको थिएन।’

उनका अनुसार बिहीबार पूर्व कोसीदेखि पश्चिम सुदूरपश्चिम प्रदेशसम्मै पानी परेको छ।  

‘प्रदेशका सबै ठाउँमा त पानी परेन, तर बिहीबार देशका धेरैजसो ठाउँमा वर्षा भएको छ’, मौसमविद् कँडेलले भनिन्। 

उनका अनुसार बिहीबार सबैभन्दा ठूलो हिउँदे वर्षा मकवानपुरमा भएको छ। ‘मकवानपुरको चिसापानीगढीमा बिहीबार सबैभन्दा ठूलो २८.२ मिलिमिटर वर्षा भएको छ’, उनले भनिन्।  

मौसमविद् कँडेलका अनुसार बिहीबार देशका धेरैजसो स्थानमा हल्का र थोरै स्थानमा मध्यम वर्षा भएको हो। 

बिहीबार तुलनात्क रूपमा तराईमा भन्दा पहाडमा बढी पानी परेको छ।

‘खासगरी बागमती प्रदेशको मध्य पहाडी भूभागमा बढी वर्षा भएको छ। यसैगरी काभ्रे, गोदावरी, सिन्धुलीलगायतका स्थानमा पनि पानी परेको छ’, उनले भनिन्, ‘तराईको हकमा मधेसमा हल्काफुल्का मात्र वर्षा भएको छ, बारामा छिटपुट, तराईमै पर्ने चितवनतिर भने तुलनात्मक रूपमा अलि बढी पानी परेको छ, लुम्बिनीको दाङलगायत स्थानमा पनि तुलनात्मक रूपमा राम्रै पानी परेको छ, तर कोसीको तराईमा कम पानी पर्‍यो, झापामा छिटपुट मात्र वर्षा भयो।’

बिहीबारको हिउँदे वर्षाको एकिन तथ्यांक भने संकलन भइरहेको मौसमविद् कँडेलले बताइन्।

वर्षाले फाइदा
मौसमविद् शान्ति कँडेलले चिसोले स्वास्थ्यमा हुने हानिबाहेक बिहीबारको वर्षाले सबैलाई लाभ पुर्‍याउने बताइन्।  

‘वर्षाले वायुमण्डलमा रहेको धुवाँ, धुलोलाई आफूसँगै तल झार्ने भएकाले केही दिनका लागि भए पनि वायु स्वच्छ बनाउँछ, यस्तै धेरै दिनदेखि जमिन सुक्खा भइरहेको थियो, बिहीबारको वर्षाले जमिन भिजाएको छ, जसले गर्दा बालीनाली, तरकारी खेतीलाई यसले फाइदा पुर्‍याउँछ।’

बिहीबार उच्च पहाडी तथा हिमाली क्षेत्रका धेरैजसो स्थानमा पर्याप्त हिमपात पनि भएको छ। 

‘उच्च पहाडी तथा हिमाली क्षेत्रका लागि हिउँ नै पानीको स्रोत हो’, त्यसैले त्यसले पनि त्यहाँका बालीनालीलाई फाइदै पुर्‍याएको हुनुपर्छ।’

‘बिहीबारको वर्षाको बेफाइदा भनेको जसले पानीमा भिज्नुपर्‍यो र चिसोले असर गर्ने बिरामीलाई भने स्वास्थ्यमा केही समस्या पार्न सक्छ, यसबाट बच्ने उपाय अपनाउनु पर्छ’, उनले थपिन्, त्यस्तै भित्र्याउने बेलका बालीनाली छ भने त्यसलाई पनि असर गर्‍यो।’  

अंग्रेजी महिनाहरू डिसेम्बर, जनवरी र फेब्रुअरीसम्मलाई विन्टर अर्थात् हिउँदयामको अवधि मानिन्छ। अब हिउँदयामको अवधि सकिने बेला भएको छ। यसपछि प्रिमनसुन सिजन सुरु हुने मौसमविद् बताउँछन्। 

हिउँदयामको अन्तिम समयतिर ठूलो हिउँदे वर्षा भएको हो। प्रिमनसुन लागेपछि गर्मी हुन थाल्छ भने यसलाई मेघगर्जन/चट्याङसहित वर्षा तथा हावाहुरीको मौसम मानिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .