ad ad

समाज


भारतमा नेपालीलाई अब सजिलै सिमकार्ड, मतदाता परिचयपत्र वा नागरिकता देखाए पुग्ने

अन्य देशबाट भारत जाने नेपालीले भने भिसासहितको राहदानी अनिवार्यरुपमा देखाउनुपर्नेछ
भारतमा नेपालीलाई अब सजिलै सिमकार्ड, मतदाता परिचयपत्र वा नागरिकता देखाए पुग्ने

फाइल तस्बिर


नेपालखबर
फागुन ८, २०८० मंगलबार १०:३, काठमाडौँ

भारतमा नेपालीले अब सहजै रुपमा मोबाइलको सिमकार्ड पाउने भएका छन्।

भारत सरकारले नेपाली र भुटानीलाई सहज रुपमा सिमकार्ड उपलब्ध गराउने व्यवस्था मिलाएको हो। अब नेपाली र भुटानीले मतदाता परिचयपत्र देखाएर पनि मोबाइलको सिमकार्ड पाउने मिलाइएको भारत सरकारले जनाएको छ।

भारत सरकारको सञ्चार मन्त्रालयअन्तर्गत दूरञ्चार विभागले सोमबार भारत भ्रमणमा जाने नेपाल र भुटानका नागरिकहरूलाई मोबाइल सिम प्राप्त गर्न सहज हुने गरी विद्यमान केवाईसी निर्देशिकामा संशोधन गरेको हो।

नेपाली र भुटानीलाई भारतमा प्रवेशाज्ञा लिनु नपर्ने भएकाले नागरिकता, मतदाता परिचय पत्र वा सम्बन्धित देशका स्थानीय नियोगले जारी गर्ने अस्थायी प्रमाणपत्रका आधारमा पनि सिमकार्ड प्राप्त गर्ने व्यवस्था भारतले गरेको छ। तर आफ्नो मूल देशबाट भारत जाँदा मात्र यो व्यवस्था लागू हुनेछ। 

अन्य देशबाट भारत जाने नेपाली र भुटानीले भने सिमकार्ड लिन भिसासहितको राहदानीको प्रतिलिपि अनिवार्यरुपमा देखाउनुपर्नेछ।

संशोधित निर्देशिकामा भिसासहितको राहदानीको प्रतिलिपिबाट सिमकार्ड लिने नेपाली र भुटानी नागरिकलाई त्यसरी जारी गरिएको सिमको वैधता उनीहरूलाई भारतमा रहन अनुमति दिइएको अधिकतम समयभन्दा बढी नहुने स्पष्ट पारिएको छ। 

त्यस्ता सिमकार्डको वैधता ३ महिनाभन्दा बढी नहुने सञ्चार विभागले जनाएको छ। त्यस्तै भारतमा रहन अनुमति दिइएको अधिकतम समय वा भिसाको वैधता ३ महिनाभन्दा बढी छ भने सिमकार्डको वैधता एकपटकमा ३ महिनाभन्दा बढी हुने छैन। 

त्यस्ता सिमकार्डमा कुनै पनि अन्तर्राष्ट्रिय रोमिङलाई अनुमति दिइने छैन।

यसअघि सन् २०१२ को निर्देशिकामा भारत भ्रमण गर्ने विदेशी पर्यटकले वैध भिसासहित राहदानीको प्रतिलिपि उपलब्ध गराउनुपर्ने व्यवस्था थियो। नेपाल र भुटानबाट भारत जान भिसा लिनु नपर्ने भएकाले यो व्यवस्था अन्तर्गत नेपाली र भुटानी नागरिकले सहजै सिमकार्ड लिन सकिरहेका थिएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .