समाज


अध्यागमनका कर्मचारीलाई घुस बुझाउने होटल सञ्चालक फरार

अध्यागमनका कर्मचारीलाई घुस बुझाउने होटल सञ्चालक फरार

फाइल तस्बिर


नेपालखबर
माघ १५, २०८० सोमबार १२:४८, काठमाडौँ

भिजिट भिसामा सेटिङ मिलाए बापत विमानस्थल अध्यागमनका कर्मचारीलाई घुस बुझाउने होटलका सञ्चालक फरार भएका छन्।

काठमाडौंको सिनामंगलस्थित होटल बाल्टिक इनका सञ्चालक ४२ वर्षीय आशिष भन्ने केदारबहादुर खड्का फरार भएका हुन्। 

उनीविरुद्ध पनि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो। होटल सञ्चालक खड्काले भिजिट भिसामा विदेश जाने नेपालीसँग अध्यागमन सेटिङ बिलाएबापतको रकम बिचौलियासँग लिने र अध्यागमनका कर्मचारीलाई दिने गरेको प्रहरीको दाबी छ।

प्रहरीले बुझाएको प्रतिवेदन अनुसार सञ्चालक खड्काले यसरी लिएको रकम अध्यागमनका अधिकृत नरवीर खड्कालाई बुझाउने गरेका थिए। 

मोरङको पथरी शनिश्चरे नगरपालिका ७ घर भएका खड्का हाल लतिपुरको इमाडोलमा बस्दै आएका थिए।

बिचौलिया र अध्यागमनका कर्मचारीको जक्सन नै उक्त होटल भएको र धेरै पटक बिचौलियाले उनीमार्फत अध्यागमनका कर्मचारीलाई घुस दिएको बयान दिएका छन्। 

नक्कली कागाजात तयार गरेर अध्यागमनका कर्मचारीको मिलेमतोमा नेपालीलाई विदेश पठाउने गरेको खुलेको छ।

यो गिरोहमा अध्यागमनका ९ कर्मचारीसहित २२ जना रहेको प्रहरीको निस्कर्ष छ। प्रहरीले २२ जनाविरुद्ध सरकारी कागजात किर्ते र संगठित अपराधको कसुरमा मुद्दा चलाउन रायसहित आइतबार जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ। 

सरकारी वकिल कार्यालयले बुधबारसम्ममा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्ने तयारी गरेको छ।  

प्रहरीले पक्राउ परेका १० जना र फरार १२ जनालाई प्रतिवादी बनाउन राय दिएको छ। फरार रहनेमा ८ जना अध्यागमनकै अधिकृतहरू छन्। अरु चार जना फरार छन्। 

पक्राउ पर्नेमा नवलपारासीको कावासोती घर भई हाल चितवनको भरतपुर उपमहानगरपालिका ८ खैरहनी बस्ने ४४ वर्षीया गीता शाह, काठमाडौको तीनकुनेका ३७ वर्षीया अरुण दाहाल, सिरहाको मिर्चैयाका २७ वर्षीय सरोजकुमार यादव, पश्चिम रुकुमको सानोभेरी-१० घर भई हाल जाजरकोटको भेरी नगरपालिका बस्ने अध्यागमन अधिकृत ३७ वर्षीय नरवीर खड्का र रामेछापको दोरम्बा गाउँपालिका-७ का ३१ वर्षीय पदम लामा छन्। 

यस्तै काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका ४ बस्ने ३९ वर्षीय मनोज तामाङ, स्याङ्जाको चापाकोट नगरपालिका १ पैदीमगरेका ३९ वर्षीय रामप्रसाद भण्डारी, गुल्मीको सत्यवती गाउँपालिका ७ घर भई काठमाडौंको टोखा बस्ने स्काइ टुर्स एण्ड ट्राभल्सका संचालक दिनेश ज्ञवाली पनि पक्राउ परेका छन्।

उता स्याङ्जाको वालिङ नगरपालिकाका रविन अर्याल र मोरङको पथरी शनिश्चरे घर भई हाल ललितपुरको इमाडोल बस्ने ४५ वर्षीय विनोद कार्की पनि पक्राउ परेका छन्। उनीहरुमाथि अनुसन्धान सकेर प्रहरीले आइतबार सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ।

फरार १२ जनालाई पनि प्रतिवादी बनाउन प्रहरीले राय दिएको छ। 

फरार रहनेमा विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत अधिकृतहरु ताराबहादुर कुंवर, कुशल बराल, शैलेन्द्र ढकाल, बिमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल, सुजन फागो रहेका छन्। 

यस्तै सिनामंगलको होटल बाल्टिक इनका सञ्चालक ४२ वर्षीय आशिष भन्ने केदार बहादुर खड्का, बाराको सिमराकी २३ वर्षीया कौशिला मगर, सोलुखुम्बु घर भई मूलपानी बस्ने ४० वर्षीया लक्ष्मी राई र सिन्धुलीको कमलामाई नगरपालिकाकी ३४ वर्षीय रीता दमाईविरुद्ध पनि मुद्दा चलाउन प्रहरीको राय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .